ad ad

कारोबार


उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानबीच सहमति खोज्न गोल्छा सक्रिय

उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानबीच सहमति खोज्न गोल्छा सक्रिय

दीपक भट्ट
कात्तिक १९, २०७७ बुधबार ८:५८,

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिएसँगै उद्योगी व्यवसायीहरूबीच सहमतिको प्रयास अगाडि बढेको छ।

वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका चन्द्र ढकाल र किशोर प्रधानले छुट्टाछुट्टै प्यानल खडा गरेपछि फेरि सहमतिको प्रयास थालिएको हो।

अधिवेशनपछि अध्यक्षको सपथ लिने तयारीमा रहेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बुधबार बिहानै ट्विट गरेर सहमतिको संकेत गरेपछि महासंघमा आवद्ध उद्योगी व्यवसायी तरंगित भएका छन्।

‘प्रजातान्त्रिक अभ्यासमा चुनाव नै सर्वोत्तम तरिका हो तर अहिलेको विषम परिस्थितिमा उद्योग वाणिज्य महासंघमा कुनै सहमति भएमा यो सम्पूर्ण निजी क्षेत्रको लागि सुखद हुने थियो। यो प्रयास जारी राखौं’, ट्विटमा गोल्छाले भनेका छन्।

नेपाली उद्योगी तथा व्यवसायीहरूको ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आगामी मंसिर ११ र १२ गते हुँदै छ।

नयाँ नेतृत्वको निर्वाचनको लागि चन्द्र ढकाल र किशोर प्रधानले नेतृत्व गरेका दुई प्यानल चुनावी तयारीमा जुटेका छन्। प्यानलगत रुपमा नै उम्मेदवारी दर्ता भइसकेको भएपनि सहमतिको प्रयास भइरहेको हो।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा मंसिर १३ गतेबाट अध्यक्ष बन्दै छन्।

तर अहिले खास रस्साकस्सीचाहिँ वरिष्ठ उपाध्यक्षका लागि हुँदै छ। वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधान आमनेसामने हुनैलाग्दा गोल्छा र महासंघका केही पूर्व पूर्वअध्यक्षहरु सहमतिको प्रयासमा लागेका हुन्।

गोल्छाले दुवै पक्षसँग सहमतिको प्रयास भइरहेको बताए।

‘मैले दुवैतर्फ सहमतिको लागि कुरा गरिरहेको छु। यो सहमति गराउन पूर्वअध्यक्षहरुको पनि भूमिका रहनुपर्छ’, गोल्छाले नेपालखबरसँग भने, ‘त्यसकारण मैले पूर्वअध्यक्षज्यूहरुसँग पनि सहमति गराएर नेतृत्व छनोट गर्नुपर्छ भनेर छलफल गरिरहेको छु।’

अहिलेको परिस्थिति जटिल रहेकाले पनि सहमतिको प्रयास आवश्यक रहेको गोल्छाको ठहर छ।

वरिष्ठ उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु जो आए पनि अध्यक्षका हिसावले उनले मिलेर काम गर्नुपर्ने हुन्छ। त्यसकारण पनि उनी आफ्नो मध्यमार्गी भूमिकामा केन्द्रित हुन खोजेका हुन्।

त्यसो त पूर्वअध्यक्षहरु कुशकुमार जोशी, रविभक्त श्रेष्ठलगायतका पूर्वअध्यक्षहरु पनि सहमति गराउने प्रयास गरिरहेका छन्।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल पनि सहमति गराउन खोज्नु आफैँमा राम्रो कुरा भएको बताउँछन्। तर मतको आँकलनका आधारमा अहिले पछिल्लो समयमा आएर यस्तो प्रयास भइरहेको ढकालको बुझाइ छ।

‘महासंघमा हामी अहिले दुई प्यानलमा रहेका छौँ। शेखर गोल्छा अध्यक्ष बन्दै हुनुहुन्छ। उहाँको नेतृत्वमा रहने गरी मैले र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छौं’, ढकालले नेपालखबरसँग भने, ‘पछिल्लो समय मतको आँकलन गर्दा बढी मत मलाई आउने देखिएपछि सहमति गराउने प्रयास भएको हो कि।’

अध्यक्ष पक्का भएका गोल्छा अलि बढी प्रधान प्यानलमा लागेको ढकाल प्यानलको भनाइ छ। हुन पनि गोल्छा प्रधानको उम्मेदवारी दर्तादेखि अन्य चुनावी गतिविधिमा खुलेर देखिँदै आएका छन्।

अर्को प्यानलको नेतृत्व गरिरहेका किशोर प्रधान पनि सहमतिमा नयाँ नेतृत्व निर्माण हुनु राम्रो हुने बताउँछन्।

‘मैले पहिलेदेखि नै सहमतिको लागि प्रयास गरेकै हुँ। नमिलेपछि प्यानल निर्माण गर्नुपरेको हो। अहिले पनि सहमति गर्न सकिने अवस्था रहेछ भने त्यो त राम्रो कुरा नै हो। तर यो सहमति सानो प्रयासले भने हुँदैन’, उनले भने, ‘पूर्वअध्यक्षहरु भनेको हाम्रो अविभावकहरु नै हुन्। उनीहरुले भनेको कुरा मान्नुपर्छ। समग्र निजी क्षेत्र र महासंघ दुवैलाई सहमति गरेर राम्रो हुन्छ भने त्यसमा म सकारात्मक नै छु।’

पछिल्लो समय गोल्छाले पनि सहमतिको निकै पहल गरिरहेको भन्दै प्रधान त्यो आफैँमा सह्राहनीय भएको बताउँछन्। सहमति गराउनको लागि कुनै न कुनै व्यक्ति मध्यमार्गी हुनैपर्ने प्रधानको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .