ad ad

समाज


कोरोना संक्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

कोरोना संक्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ८:५०,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ।

कुश्मा नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो। कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ।

त्यसैगरी जलजला गाउँपालिकामा मंगलबार रातिदेखि लागू हुने गरी यह कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ। उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमण फैलन नदिन गाउँपालिका स्तरीय संकट व्यवस्थापन समितिको बैठक बसेर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए। उनका अनुसार, पछिल्लो समय समुदायस्तरमा दुई जनामा संक्रमण देखिएपछि थप जोखिम नफैलियोस् भनेर लकडाउन गरिएको हो।

यता जलजलाको मंगलबार सम्पन्न गाउँपालिका स्तरीय संकट व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका वडामा संक्रमण फैलन नदिनका लागि बुधबारदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ। पछिल्लो समय छिमेकी जिल्ला र स्थानीय तहमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप संक्रमण नफैलियोस् भनेर लकडाउन गर्ने निर्णय गरिएको जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।

गाउँपालिका स्तरीय संकट व्यवस्थापन समितिको मंगलबारको बैठकले आजदेखि यही कात्तिक २५ गतेसम्म गाउँपालिकाभरि लकडाउन गर्ने निर्णय गरेको अधिकृत शर्माले जानकारी दिए। बैठकले गाउँपालिकाभित्र सञ्चालित सबै वित्तीय संस्था, सहकारी संस्थाका कामकाज ठप्प पार्ने, मुख्य बजार क्षेत्र मिलनचोक, मोहनचोक, वारीवेनी, बगरफाँट, लस्तीलगायतका क्षेत्र बन्द गर्ने, निर्णय गरेको छ।

त्यसैगरी, गाउँपालिका र वडा कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए। त्यस्तै, अत्यावश्यक सामग्रीहरुका पसलहरु भने बिहान ७ः०० देखि १०ः०० बजे र साँझ ४ः०० देखि ६ः०० बजेसम्म सञ्चालन गर्न दिनेसमेत निर्णय गरिएको छ। जलजलामा हालसम्म संक्रमितको संख्या २७ पुगेको छ।

कुश्मा नगरपालिकाले सदरमुकाम कुश्माबजारभित्रका वडा नं ४, ५, ६ र ७ मा यही कात्तिक १५ गते रातिदेखि लकडाउन घोषणा गरेको छ। जसले गर्दा बजारका वित्तीय संस्था, बैंक, सहकारी, शैक्षिक संस्था र उद्योग व्यवसाय ठप्प बनेका छन्। सरकारी कार्यालय खुले पनि सेवाग्राहीको संख्या न्यून रहेको छ। सवारी साधन भने बन्द गरिएको छैन। एकै दिन समुदायका नौ जनामा संक्रमण देखिएपछि कुश्माबजार लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए।

यसैगरी, मोदी गाउँपालिकामा र मोदी गाउँपालिकाको कार्यालय तथा मोदी गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक संघसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवम् सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ बजेसम्म बन्द गरिएको हो। गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोटजस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तु बाहेकका पसल पनि बन्द हुने भएका छन् भने मोदी गाउँपालिकाका विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए। जिल्लाको फलेवास नगरपालिका, विहादी र पैँयु गाउँपालिकामा भने कुनै बन्द तथा सेवा अवरुद्ध गरिएको छैन। छिमेकी जिल्ला म्याग्दीको बेनी नगरपालिका र बागलुङ नगरपालिका पनि उच्च जोखिममा परेपछि एक साताका लागि लकडाउन गरिएको छ।

पर्वतमा हालसम्म संक्रमितको संख्या १९२ जना पुगेका छन् भने १५४ जना निको भइसकेका छन्। ३८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .