ad ad

कारोबार


विज्ञ अर्थमन्त्रीलाई सांसदको प्रश्नः तपाईंको ठाउँमा म भएको भए पनि के फरक पर्थ्यो?

विज्ञ अर्थमन्त्रीलाई सांसदको प्रश्नः तपाईंको ठाउँमा म भएको भए पनि के फरक पर्थ्यो?

नेपालखबर
साउन १, २०७७ बिहिबार १४:४९,

सांसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई ‘विज्ञ अर्थमन्त्री’ भएर देशले के पायो भनि प्रश्न गरेका छन्।

संसदको अर्थ समितिमा बिहीबार अर्थमन्त्री डा. खतिवडालाई बोलाएर राजश्व र खर्चको सम्बन्धमा गरेकाे छलफलका क्रममा सांसदहरुले गत आर्थिक वर्षको उपलब्धिबारे प्रश्न गरेका हुन्।

सांसद राम कुमारी झाक्रीले अर्थमन्त्रीले जनतालाई महसुस हुने गरी के काम गर्नु भयो भन्दै जनताले जवाफ खोजेको बताइन्।

उनले भनिन्, ‘विज्ञ मन्त्रीको रुपमा उहाँलाई खोजेर अर्थमन्त्रालयको जिम्मेवारी दिइएको हो। तर त्यसको प्रतिफल देखिन सकेको छैन। उहाँको स्थानमा अरु नै म जस्तै मान्छे भएको भए पनि केही फरक नहुने उहाँको कामले देखाएको छ।’

त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खर्च गर्ने सम्बन्धमा नियमित रुपमा समस्या भएको र यो अध्ययनको विषय भएको बताए। उनले जनशक्ति नभएर, सामर्थ्य वा स्रोत के नभएर खर्च हुन नसकेको हो भन्ने विषयमा स्वतन्त्र अध्ययन हुनुपर्ने बताए।

सरकारले खर्च गर्ने सामर्थ्य नै नराखेकोले देश बन्ने सम्भावना पनि नभएको उनको भनाई थियो।

उनले भने, ‘खर्च गर्ने सामर्थ्यको सन्दर्भमा पनि नियमित रुपमा समस्या छ। किन हाम्रो खर्च हुँदैन भन्ने कुराको एउटा नितान्त नयाँ हिसाबले मन्त्रालयले अध्ययन गर्नुपर्ने देख्छु। हाम्रो जनशक्ति नभएर हो या हाम्रो अन्य सामर्थ्य नभएर हो? या हाम्रो स्रोत नै नभएर हो या अर्थमन्त्रालयले पैसा समयमा नदिएर हो? यसका पछाडीका कारणहरु के छन्, यसको स्वतन्त्र अध्ययन हुनुपर्ने मैले देखिरहेको छु।’

उनले सरकारको खर्च हुन नसकेको विषयमा सधैँ चर्चा हुने गरेको तर कहिल्यै अध्ययन नभएको बताए।

‘कुरा गर्दा हामीले स्रोतको अभाव छैन भन्छौं तर पैसा खर्च हुँदैन। खर्च नहुने कारणहरुको बारेमा पनि खोजीनीति भएको छैन र त्यो अनगोइङ क्यारि (निरन्तर) भइराखेको छ। विगत देखि नै यो समस्या हामीले क्यारीअन गरिराखेका छौं। यसको समाधानका निम्ति पनि यथोचित प्रयास भएको छैन।’ उनले भने, ‘अरु देशहरुले काम गर्ने सामर्थ्य देखाएरै अघि बढिराखेका छन्। काम गर्ने सामर्थ्य नहुने हाे भने देश बन्दैन। हाम्रो अहिले हालत मैले त्यही देखिरहेको छु।’

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यस अघि दिएका निर्देशनहरु अर्थमन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले बजेट खर्चमा पनि सरकार गम्भीर नभएको आरोप लगाए।

उनले सबल समयमा सबल अर्थतन्त्रको जिम्मेवारी पाएका अर्थमन्त्रीको काम गर्ने प्रवृतिले अर्थतन्त्रमा चुनौति थपिएको बताए। भ्रटाचार बढ्दै गएको तर सरकार गम्भीर नभएको उनले आरोप लगाए।

उनले भने ‘एउटा सबल समयमा सबल अर्थतन्त्र उहाँको हातमा थियो। तर त्यसलाई उहाँले एउटा स्वेत पत्र जारी गर्नुभयो। स्वेतपत्र जारी गरिसकेपछि हामीलाई पनि लागेको थियो यो तीनवटा बजेट, अहिले कोभिडको म कुरा गर्दिन दुईवटा बजेट आउँदा मुलुकले फड्को नै मार्ला जस्तो लागेको थियो। म तथ्यांकतिर जान चाहन्न तर मुलुकले केही फड्को मार्न सकेको छैन।’

उनले पछिल्ला दिनमा अनियमितता र भ्रष्टाचार बढेको तथा सरकारको विश्वसनीयता गुम्दै गएको बताए।

उनले भने, ‘झन अनियमितता बढेर गएको छ। भ्रष्टाचार बढेको छ। हरेक चिजमा अहिले मान्छेहरु भ्रष्टाचार गरिरहेका छन्। भ्रष्टाचार नहुँदाखेरीपनि मान्छेहरुलाई के लागिराखेको छ भने अवश्य त्यहाँ भ्रष्टाचार छ भन्ने छ। त्यस किसिमको विश्वसनीयताको ह्रास दिन दिनै आएको छ। यो केवल अर्थमन्त्रालयको मात्रै होइ यो हाम्रो पद्धतिकै निमित्त धेरै गम्भीर कुरा हो। त्यस दिशामा सरकारले मुलुकलाई लगिराख्नु एउटा अनिष्टको संकेत हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .