ad ad

कारोबार


लकडाउनकै बीच खुल्नथाले बंगलादेशका गार्मेन्ट कारखाना

लकडाउनकै बीच खुल्नथाले बंगलादेशका गार्मेन्ट कारखाना

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ९:१,

कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदुर काममा फर्किएका छन्।

बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदुरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ ।

राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको हो ।

बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखानाहरु बन्द भएका थिए तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग सर्वत्र गरिएको थियो।

बंगलादेशमा कोरानाभाइरसको संक्रमण बढेसँगै आगामी मे महिनाको ५ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । सोमबारसम्ममा ढाका र अन्यत्रका कम्तीमा एक हजार कारखाना खोल्ने योजना थियो। साथै तटीय बन्दरगाह सहर चटगाउँका कारखाना पनि खोलिने छन् ।

बंगलादेशको कूल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोशाकले ओगटेको छ । तर कोरोनाभाइरसका कारण तयारी पोशाकको माग घटेको वा रद्द गरिएका कारण बंगलादेशले यस आर्थिक वर्ष करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ।

गार्मेन्ट कारखानाका मजदुर मोफज्जल होसेनले कारखानामा तत्काल फर्कन आफू बाध्य भएको बताए। उनी मासिक करिब ११५ अमेरिकी डलर कमाउँछन्।

सोमबारसम्ममा बंगलादेशमा ५ हजार ९०० जनामा कोरानाको संक्रमण देखिएको छ भने १५२ जनाको मृत्यु भइसकेको छ ।

श्रम अधिकारवादीहरुले मजदूरहरुका कारण कोविड–१९ को महामारी बंगलादेशमा अरु फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्ट जस्ता कम्पनीहरुका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोशाक निर्यात भएको थियो ।

बंगलादेश तयारी पोशाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोरोनाभाइरसलाई जीवनको एक हिस्साका रुपमा स्वीकार्नुको विकल्प छैन भन्दै कारखाना तत्काल नखोलिए बंगलादेशमा आर्थिक संकट आउने बताए।

गत महिना, सरकारले निर्यातमुखी क्षेत्रका मजदूरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको थियो, तर गार्मेन्ट उद्योगीहरुले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गरेका थिए ।

आइतबार, ढाकाका सडकमा लकडाउनकै बीच सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौं गार्मेन्ट मजदूरले प्रदर्शन गरेका थिए ।

उनीहरुले कामबाट बिमुख भएका दिनको समेत ज्याला पाउनु पर्ने माग राखेका थिए । उनीहरुले आफ्नो माग पूरा नगरिए लकडाउनको उल्लंघनलाई जारी राख्ने बताएका छन् ।

बंगलादेश सरकारले धार्मिक भेला र प्रदर्शनमा रोक लगाउन सेनालाई पनि सडकमा उतार्नु परेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .