बजारमा मास्क र पीपीईको अभावका बेला बढी मूल्य लिएर बेच्ने फार्मेसीहरु तीन लाख रुपैयाँसम्म जरिमाना तिराइएको छ।
शुक्रबार सरकारी टोलीले अनुगमनका बेला स्वास्थ्यकर्मीले समेत प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई बढी मूल्यमा बेचिरहेको पाइएपछि केही औषधि पसल कारबाहीमा परेका हुन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमका क्रममा काठमाडौं सुकेधारामा रहेको कालिका ट्रेडर्सले एन ९५ मास्कलाई तोकिएको मूल्यभन्दा धेरैमा बिक्री गरिहरको पाइएको थियो। अनुगमन टोलीले उक्त पसललाई उपभोक्ता संरक्षण ऐन अन्र्तगत तत्कालै ३ लाख रुपैयाँ जरिमाना गरेको जनाएको छ।
त्यस्तै, सोही दिन अनुगमन टोलीले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजले कोरोना संक्रमणका बिरामीको उपचार तथा स्वास्थ्य परीक्षणको बेला लगाउने पीपीई सेट बढी मूल्यमा बिक्री गरिरहेको पाइएको थियो। उक्त पसललाई पनि तत्कालै २ लाख रुपैयाँ जरिमाना गरिएको छ।
त्रिपुरेश्वरकै कान्तिपुर सर्जिकललाई पनि विभागको अनुगमन टोलीले २ लाख रुपैयाँ जरिमाना तिराएको छ । उसले बिल बिजक जारी नगरेको पाइएकाले काराबाही गरिएका विभागको भनाइ छ।
विभागको टोलीले बिहीबार इमाडोल र ज्ञानेश्वर क्षेत्रका फालफूल र मासु पसलमा अनुगमन गरेको थियो। उक्त अनुगमनका क्रममा ज्ञानेश्वरको राजेन्द्र मिट सपले मूल्य सूचि नराखेकाले ५० हजार रुपैयाँ जरिमाना तिराइएको छ।
त्यस्तै, इमाडोलका मुकेश जुस तथा फलफूल र कालिन्चाके खाद्य स्टोरले पनि मूल्य सूचि नराखेको पाइएकाले ५० हजारका दरले जरिमाना तिराइएको विभागको विवरणमा उल्लेख छ।
Shares
प्रतिक्रिया