ad ad

कारोबार


औषधि उत्पादनमा ठूलो फट्को, २५ अर्ब लगानीमा ४० उद्योग थपिँदै

औषधि उत्पादनमा ठूलो फट्को, २५ अर्ब लगानीमा ४० उद्योग थपिँदै

सन्तोष न्यौपाने
फागुन २६, २०७६ सोमबार ११:४८,

जब देशमा कुनै समस्या आउँछ, त्यसबेला औषधि अभाव हुने हल्ला चल्छ। भूकम्प र त्यसपछिको नाकाबन्दीमा त नेपालमा कतिपय औषधि अभाव नै भयो।

अहिले कोरोना भाइरस (कोभिड–१९) प्रकोप आइपर्ने त्राससँगै खाद्यान्न तथा औषधिको अभाव हुने हल्ला चल्न थालिसकेको छ। सिटामोल जस्तो सामान्य औषधि पनि अभाव हुन सक्ने भन्दै मौज्दात राख्नेहरु बढेका छन्।

तर, यही बेला नेपालको औषधि उद्योगले ठूलो फट्को मार्ने अवस्था देखिएको छ। ठूलो लगानीमा ४० भन्दा धेरै नयाँ उद्योग थपिन लागेको औषधि व्यवसायीहरुले बताएका छन्।

‘नेपालको औषधि उद्योगमा २५ अर्ब रुपैयाँ लगानी थपिँदैछ,’ नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘४३ वटा उद्योग पाइपलाइनमा छन्।’

उनका अनुसार ४० भन्दा धेरै उद्योगले विभिन्न किसिमका औषधि उत्पादन गर्ने अनुमतिपत्र लिएर धमाधम उद्योग तथा पूर्वाधार निर्माण गरिरहेका छन्।

अहिले मुलुकमा ६० वटा औषधि उद्योग सञ्चालनमा छन्। नयाँ उद्योग थपिँदा तिनको संख्या एक सय नाघ्नेछ।

झन्डै एक दर्जन नयाँ उद्योग वर्ष दिनभित्रै सञ्चालनमा आउने तयारीमा रहेको दाहालले बताए।

नयाँ आउन लागेका उद्योगहरुमा केही नयाँ व्यवसायी थपिदैछन् भने केही पुराना व्यवसायीले पनि उद्योग थप्दैछन्।

नयाँ उद्योगले हालसम्म नेपालमा उत्पादन नभएका केही औषधि समेत बनाउने छन्। बनेपामा स्थापना हुने टीजी फर्मास्युटिकल्सले क्यान्सरको औषधि उत्पादन गर्नेछ। व्यवसायी विजय शाक्यले भारतको हैदरावादस्थित एक कम्पनीसँग मिलेर उक्त उद्योग सञ्चालन गर्दैछन्।

त्यसबाहेक सलाइन उत्पादन गर्ने उद्योग पनि थपिन लागेको दाहालले बताए। ‘लार्ज भोलुम प्यारेन्टरल्स र एक्स्ट्रभोलुम प्यारेन्टरल्स दुवै खाले औषधि बनाउने उद्योग आउँदैछन्,’ दाहालले भने। यो उद्योग वीरगन्जमा स्थापना हुँदैछन्। यस्तै खालको औषधि लोमस प्यारेन्टरल्सले उत्पादन गरिरहेका छन्।

‘यी दुई कम्पनी भएपछि हामीलाई चाहिने रिंगरल्याक्टेड, डेक्स्ट्रोज, मेट्राजोलजस्ता औषधि स्वदेशमै उत्पादन हुनेछन्,’ उनले भने।

नेपालमा औषधि उत्पादनको अवस्था धेरै राम्रो भएको नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा देउराली फार्मास्युटिकल्सका सञ्चालक हरिभक्त शर्माले बताए।

‘सरकारले आयात नीतिलाई परिवर्तन गर्नुपर्छ,’ शर्माले भने, ‘निजी क्षेत्रबाट भएका उत्पादनमा भर पर्न सक्नुपर्छ।’

मिर्गौला, कलेजो, लगायतका रोगलाई चाहिने सबै औषधि मुलुकभित्रै उत्पादन भइरहेको एमडीएस फर्मास्युटिकल्सका सञ्चालक समेत रहेका दाहालले बताए।

दाहालका अनुसार स्वदेशी उद्योगले ३ सयभन्दा धेरै प्रकारका औषधि बनाउँछन्।

‘सबैखाले रोगका खाने झोल औषधि यहीँ बन्छन्। छालामा लगाउने ५२ वटा मलम सबै नेपालमै बन्छन्,’ उनले भने। सञ्चालनमा रहेका उद्योगमध्ये ५३ वटा ठूला हुन् भने अन्य मझौला।

सरकारले अत्यावशेष औषधि भनेर तोकेकामध्ये अधिकांश नेपालमै बन्छन्। नेपाल सरकारले ६९ प्रकारका औषधीलाई अत्यावश्यक घोषणा गरेको छ। जसमध्ये ६८ प्रकारका औषधि स्वदेशमै बन्ने दाहालको भनाइ छ।

सरकारले सहयोग गर्ने र भएका उद्योग क्षमताअनुसार चल्ने हो भने ७० प्रतिशत औषधि अहिले नै उत्पादन गर्ने दाबी दाहालको छ।

हाल सञ्चालनमा रहेका उद्योगहरुमा २५ अर्ब रुपैयाँ लगानी भइसकेको छ। नयाँ उद्योग थपिँदा औषधि उद्योगको लगानी झण्डै ५० अर्ब पुग्ने दाहालले बताए।

थोक मूल्यको आधारमा नेपालमा ४५ अर्ब रुपैयाँको औषधि रहेको दाहालको भनाइ छ।

‘वार्षिक २५ अर्ब जतिको औषधि बाहिरबाट आउँछ। त्यसमध्ये २२ अर्बको त भारतबाटै आउँछ,’ उनले भने, ‘२० अर्बको औषधि चाहिँ नेपालमै बन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .