ad ad

कारोबार


यस्तो छ, पुष्पलाल मध्यपहाडी राजमार्गको प्रगति

यस्तो छ, पुष्पलाल मध्यपहाडी राजमार्गको प्रगति

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ११:३८,

पुष्पलाल मध्यपहाडी रामजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ। यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समून्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताए। केसीले आयोजना निर्देशनालय अन्तर्गत ५ वटा आयोजना कार्यालयले काम गरिरहेको बताए।

पाँचथर आयोजना कार्यालयले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर गरेर ३८६ किलोमिटर, काभ्रे आयोजना कार्यालयले खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली रामेछाप, काभ्रे र सिन्धुपाल्चोक गरी ३३५ किलोमिटर र गोरखा आयोजना कार्यालयले नुवाकोट, धादिङ, गोरखा र लमजुङ गरी २६० किलोमिटर सडक निर्माणको काम गरिरहेको उनले बताए। त्यसैगरी पर्वत आयोजना कार्यालयले कास्की, पर्वत, बागलुङ गरी २४५ किलोमिटर र दैलेख आयोजना कार्यालयले रुकुम पूर्व, पश्चिम रुकुम, जाजरकोट, दैलेख र अछाम गरी ४१० किलोमिटर काम गरिरहेको निर्देशक केसीले बताए।

आर्थिक वर्ष २०७९÷०८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म ३७७ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको आयोजनाले जनाएको छ। ४६२ किलोमिटर अन्य आयोजनाहरुले नै पूर्ववत रुपमा कालोपत्रे गरिसकेका छन्। कुल ८३९ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेकोमा ६३७ किलोमिटर सडक कालोपत्रे गर्न यो आर्थिक वर्षमा ठेक्काहरु भइसकेको निर्देशक केसीले बताए। उनका अनुसार ९९ किलोमिटर ग्राभेल सडकको ठेक्का जारी रहेको छ भने ४०३ किलोमिटर सडकको ट्रयाक खुलेर स्तरोन्नतीको ठेक्का हुन बाँकी रहेको छ।

वि.स.२०५८ सालको राष्ट्रिय नीतिमा पूर्व-पश्चिम राजमार्गको विकल्पका रुपमा परिकल्पना गरिएपनि २०६४÷०६५ मा आयोजना कार्यान्वयन भएको थियो। कुल २६ जिल्लाका २१५ बस्ती र १ करोड मध्यपहाडी क्षेत्रका जनता लाभान्वित हुने अपेक्षा आयोजनाले गरेको छ। पाँचथरको चियो भञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर निर्माणका लागि यो आर्थिक वर्षमा १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .