अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी)का विकास ऋणसम्बन्धी उपाध्यक्ष जिम पोलनले यसै साता लक्ष्मी बैंकका साथै नेपालमा दिगो कृषि र खाद्य सुरक्षालाई टेवा पुर्याउने अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग भेट गरेका छन्।
उक्त भेटहरूमा पोलन र डीएफसीका अधिकारीहरूले नेपाल र यस क्षेत्रमा विकासको प्रवर्द्धन गरिरहेका निजी क्षेत्रका व्यवसायीहरूसँग कुराकानी गरेको अमेरिकी दूतावासले जनाएको छ।
हालसालै डीएफसीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु, साना तथा मझौला उद्यमहरूलाई कर्जा प्रदान गर्न पुँजी उपलब्ध गराउन लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलरको प्रत्यक्ष ऋण र २५ लाख डलरको ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उक्त ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउन डीएफसीले अमेरिकी सरकारको विकास नियोग यूएसएआईडी–नेपालसँग सहकार्य गरेको थियो।
आर्थिक वृद्धि र विकासको गति बढाउन डीएफसीले लक्ष्मी बैंकका अतिरिक्त नेपालका प्रमुख क्षेत्रहरूमा लघु, साना तथा मझौला व्यवसायलक्षित थप वित्तीय परियोजनाहरूमा सहयोग गर्दै छ।
यीमध्ये नेपाली प्रविधि, स्वास्थ्य सेवा र नवीकरणीय ऊर्जा कम्पनीहरूलाई अति आवश्यक वृद्धि पुँजी उपलब्ध गराउन डोल्मा इम्प्याक्ट फन्ड २ मा सेयर लगानी र कोभिड–१९ महामारीका कारण नेपालका लघु, साना र मझौला व्यवसायहरूमा सिर्जित ठूलो वित्तीय खाडललाई सम्बोधन गर्न एनएमबी बैंकलाई प्रदान गरिएको १० करोड अमेरिकी डलरको प्रत्यक्ष ऋण रहेका छन्।
हाल नेपालमा डीएफसीको १६ करोड अमेरिकी डलरभन्दा बढीको लगानी छ। साथै, डीएफसी नेपाल र यस क्षेत्रका नयाँ विकास परियोजनाहरूलाई सहयोग गर्दै आफ्नो लगानीको पोर्टफोलियो थप विस्तार गर्ने प्रयासमा छ।
के हो डीएफसी?
अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) निजी क्षेत्रसँग साझेदारी गरी आजको विकासोन्मुख विश्वले सामना गर्नुपरेका सर्वाधिक महत्त्वपूर्ण चुनौतीहरूका समाधानमा वित्तीय स्रोत उपलब्ध गराउँछ।
डीएफसीले ऊर्जा, स्वास्थ्य सेवा, महत्त्वपूर्ण पूर्वाधार र प्रविधिलगायतका विविध क्षेत्रमा लगानी गर्दछ । यसले उदीयमान बजारहरूमा रोजगारी सिर्जना गर्न साना व्यवसाय र महिला उद्यमीहरूलाई पनि वित्तीय स्रोत प्रदान गर्छ।
डीएफसीका लगानीहरू उच्च मापदण्डअनुरूप हुन्छन् र वातावरण, मानव अधिकार तथा श्रमिक अधिकारहरूको सम्मान गर्दछन्।
Shares
प्रतिक्रिया