विराटनगरमा एक युवककाे अपहरणपछि हत्या भएको छ। विराटनगर बसपार्क नजिक रहेको न्यू अप्सरा गेष्ट हाउसमा सिराह गोलबजारका १८ वर्षीय अंशु सदाको हत्या भएको हो।
सदालाई अपहरण गरेर साे गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरिएको प्रहरीले जनाएको छ।
अपहरणकारीले सदालाई असोज २३ गते अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए। १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए।
उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ। उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरि शवलाई बक्स पलङभित्र हालेर अपहरणकारी भाग्ने कोशिसमा थिए।
सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन्।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन्।
घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ।
Shares
प्रतिक्रिया