पर्साकी कान्तिदेवी बिनको हत्या जसले गरेको आरोप लागेको छ, प्रहरीले दाहसंस्कार गर्न उनैलाई शव जिम्मा लगाएको छ।
यही असोज १ गते राति जगरनाथपुर गाउँपालिका-५, मसिहानीकी ५६ वर्षीया कान्तिदेवी बिनको हत्या भयो। भोलिपल्ट दिउँसो ३ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरे।
त्यसपछि जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कोमल शाहको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरियो।
घटनास्थलमा स्थानीय र आफन्तको भीड लाग्यो। जुन भीडमा थिए- कान्तिदेवीका जेठाजु चन्द्रिका राउत बिन पनि।
तर कुकुरले पत्ता लगाउन सकेन। घटनास्थल तथा लासजाँच मुचुल्कालगायत प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा लगियो। चन्द्रिका पनि सँगै गए।
उनले नै घटनाको सत्यतथ्य पत्ता लगाउन भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए। पोस्टमार्टम सकेर असोज ३ गते प्रहरीले कान्तिदेवीको शव सदगतका लागि चन्द्रिकालाई जिम्मा लगायो।
कान्तिदेवीका श्रीमान् सनिक राउत बिन भने पहिल्यै बितिसकेका थिए। छोरा वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा थिए। असोज ३ गते जेठाजुले कान्तिदेवीको शव लगेर सदगद गरे।
त्यतिन्जेल पनि प्रहरीले घटनामा चन्द्रिकाको संलग्नताको भेउ पाउन सकेन। मलेसियाबाट फर्किएपछि कान्तिदेवीका छोरा अर्जुन मुखिया बिनले असोज ७ गते लालबाबु राउत बिनविरुद्ध किटानी जाहेरी दिए।
प्रहरीले त्यसै दिन लालबाबुलाई पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट हिरासतमा राख्न अनुमति लियो।
अनुसन्धानका क्रममा लालबाबुले आफूसहित मिलेर कान्तिदेवीको हत्या गरेको बयान दिए। घटनामा कान्तिदेवीका जेठाजुहरू चन्द्रिका राउत बिन र अमिरिका राउत बिन समेतको संलग्नता रहेको खुलाए।
त्यसपछि असोज १५ गते प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।
'सुरुङ बनाएर चोर्न पसे, चिनेपछि हत्या गरे'
कान्तिदेवीको एकतले फुसको घर छ। छोरा विदेशमा भएकाले उनको आर्थिक अवस्था भने सुधार हुँदै गएको थियो। छोरा अर्जुनले विदेशबाट पठाएको रकम उनले गाउँमा ब्याजमा लगाउँथिन्।
‘उनले रकम ब्याजमा दिएको र फिर्ता लिएको जेठाजुहरूलाई थाहा हुन्थ्यो। त्यही भएर उनीहरूले नै बुहारीको घरमा चोर्ने योजना बनाएको देखिन्छ’, पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमार थापाले भने।
घटनाका दिन उनीहरू सुरुङ बनाएर घरभित्र पसेका थिए। असोज १ गते राति साढे ११ बजेपछि तीनजना घरमा छिरेका थिए। सुरुमा उनीहरू चोर्नतिर लागे। त्यतिबेलासम्म कान्तिदेवीले थाहा पाइनन्। घरभित्र बाकसहरू खोतल्दै गरेको अवस्थामा कान्तिदेवी ब्युँझिएपछि उनीहरूले सुरुमा टाउकोमा रड र काठको फ्ल्याकले हाने। त्यसपछि उनी बेहोस भइन्।
पछि सिरानीले मुख थुनेर खुर्पीले घाँटी रेटी हत्या गरेको लालबाबु राउत बिनले बयानमा बताएका छन्।
चोरीको पोल खुल्ने डरले कान्तिदेवीको हत्या गरेको प्रहरीको अनुमान छ। लालबाबुले बयानमा भनेका छन्, 'चोर्न सुरुङ बनाएर घरभित्र प्रवेश गरेको थियौँ। तर कान्तिदेवीले चिनेपछि उनको हत्या गरेका हाैँ।’
उनीहरूको बोलीमा कति सत्यता छ भनेर पोलिग्राफ परीक्षणसमेत गराइएको छ।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-५, मसिहानी टोल बस्ने ३६ वर्षीय भुट्टा भन्ने लालबाबु राउत बिन, ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमिका भन्ने अमिरिका राउत बिन छन्।
चन्द्रिका र अमिरिका कान्तिदेवीका जेठाजु हुन्। उनीहरूविरुद्ध प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
Shares
प्रतिक्रिया