ad ad

ब्लग


कांग्रेसको मुद्दा हिन्दू धर्म हुनुपर्छ

कांग्रेसको मुद्दा हिन्दू धर्म हुनुपर्छ

सुरेश गिरी
असोज ९, २०७६ बिहिबार ७:५८,

सरकार लोकप्रिय छैन। भ्रस्टाचार, अनियमितता, ठूला प्रकरण प्रशस्त छन्। जनतामा निरासा बढेको छ। यस्तो बेलामा प्रमुख प्रतिपक्षी बलियो हुनु पर्ने हो। आफ्नो भास्य प्रखर रूपमा ल्याउनु पर्ने हो। नेपाली कांग्रेसले त्यसो गर्न सकिरहेको छैन। किन? ऊ आफ्नै समस्याभित्र जेलिँदै गएको छ। कुनै जमानामा तन्नेरी कांग्रेसमा जोश, जाँगर र उत्साह थियो। त्यो सेलाउँदै गएर अब चिसो भइसकेको अवस्था छ। न त कांग्रेसमा नयाँ पुस्ताको आकर्षण छ न युवा आकर्षित गराउन नै उसले आवश्यक ठानेको छ।

बल्ल-बल्ल जागरण अभियान सुरु गर्‍यो। त्यो पनि किन र के का लागि भनेर अहिलेसम्म प्रस्ट्याउन सकेको छैन। नेता यति अल्छी भएका छन् कि उनीहरू चाकडी र चम्चेकोभन्दा अरुका कुरा पत्याउनै चाहँदैनन्। औपचारिकता नबाँधी भन्नु पर्दा नेताहरू स्वतन्त्र चेत, अध्ययन र विचारवान कार्यकर्ता होइन ‘एस म्यान’को कुरामा विश्वास गर्छन्। ती विचारशून्य चाकडीबाजले उनीहरूलाई त्यो मात्र सुनाउँछन् जे उनीहरू सुन्न चाहन्छन्। अहिलेको कांग्रेसमा यो वास्तविकता हो।

लोकतान्त्रिक दलभित्र नेता-कार्यकर्ता सम्बन्ध दिवारबिहीन हुनुपर्ने हो। तल्लो तहका कार्यकर्ताले माथिल्लो तहका नेता भेट्न पाउनु ठूलो विषय हुनु नपर्ने हो। अहिलेको कांग्रेसमा यो समेत संयोग मात्र हुन थालेको छ। यसले संकेत गर्ने विषय निकै गम्भीर छ। कुनै पार्टीमा नेता र कार्यकर्ताबीच दूरी बढ्नु सामान्य कुरा हाेइन। यसले पार्टी संगठनलाई बलियो हैन कमजोर बनाउँदै लगेको छ। यसको एउटा प्रमुख कारण आफूले गरेका गल्तीको जवाफ कार्यकर्तालाई दिनु पर्ला कि भन्ने त्रास पनि हुनसक्छ।

सम्पूर्ण नेताहरु काठमाडौं केन्द्रित हुनु र जिल्लामा भएका नेता सदरमुकामलाई केन्द्र बनाएर बस्नु कांग्रेस भित्रका नेताको अर्को ठूलो रोग हो। गाउँका कार्यकर्ताहरुलाई न कुनै निर्देशन छ न कुनै काम र जिम्मेवारी दिइएको छ। यसले तल्लो तहका कार्यकर्तामा निरासा बढेको छ। पछिल्लो राजनीतिक परिदृश्यले देशभरि नै कम्युनिस्टहरूको बाहुल्यता बढाएको छ। उनीहरूले ठूला गल्ती गरे पनि गाउँका कांग्रेसले विरोध गर्न साहस जुटाउन गाह्रो छ। उनी कुनै निश्चित विषयमा पार्टीको धारणा, दृष्टिकोणमा बहस गर्न अग्रसर हुने अवस्था छैन। किनभने केन्द्रका नेताको भागबन्डा मिलेपछि चुप लाग्छन् भन्ने मानसिकता कार्यकर्तामा व्याप्त छ। यही कारण हो कांग्रेस कार्यकर्ता ठूला भ्रस्टाचार प्रकरणमा समेत मुख खोलिरहेका छैनन्। बोल्नै पर्ने बहसमा समेत उनीहरू सहभागी हुन डराइरहेका छन्। यो अवस्थामा कसरी संगठनमा नयाँ अनुहारहरू प्रवेश गर्लान्? कसरी पार्टी उर्जावान् भएर फर्किन सक्ला?

जबसम्म स्पष्ट एजेण्डासहित पार्टी नेताले कार्यकर्तालाई सम्बोधन गर्दैनन् त्यो बेलासम्म कार्यकर्ताले आफैँ जोखिम मोलेर कुनै कदम उठाउने छैनन्। दुई तिहाइको कम्युनिस्ट सरकारले गरेका राम्रा नराम्रा कामहरूको समीक्षा कांग्रेस नेतृत्वले नगर्ने अनि त्यही कुरा कार्यकर्ताले किन गर्छन्? स्पष्ट हो शीर्ष नेतृत्वको असफलताको परिणाम गाउँ गाउँमा कार्यकर्ता भोग्न अभिसप्त छन्। नेतृत्वत यो कुराप्रति बेखबर थियो भने त्यो सच्चिन सक्थ्यो। खतरा यो हो कि यी सबै कमजोरी हुँदाहुँदै नेतृत्व कानमा तेल हालेर बसेको छ।

अबको कांग्रेस कस्तो बनाउने ? कार्यकर्ता र आम सर्वसाधरण के चाहन्छन् भन्नेबारे नेतृत्वले जान्न चाहेकै छैन। आजको अवस्थामा एजेन्डाबिहीन कांग्रेसलाई एजेन्डासहितको कांग्रेस बनाउनु नै सबैभन्दा ठूलो चुनौती हो। कुनैबेला कतिपय एजेन्डा कांग्रेसले आफ्ना नहुँदा नहुँदै पनि माओवादी फकाउनको बोकेर हिँडेको थियो। कांग्रेसको आज यो हालत हुनुमा यो पनि अर्को कारण हो भन्न सकिन्छ।

कांग्रेसले समयअनुकल राजनीतिक एजेन्डा र तल्लो तहका जनता र कार्यकर्ताको स्पिरिड समात्न सकेको छैन। त्यही भएर पुरानै सात, सत्र, छत्तीस, छयालिस र बैसठ्ठी त्रिसठ्ठीको आन्दोलनको ब्याज खोजेर बसेको अवस्था छ। एक बेलाको नेपाली राजनीति ब्याजले पनि चल्थ्यो होला तर अब परिदृश्य परिवर्तन भएको छ। यो अवस्थामा नयाँ एजेन्डासहित आउने विषयमा कांग्रेसले टड्कारो रुपमा सोच्नै पर्छ। कांग्रेसको गतिबारे एउटा ठट्टै बनिसक्यो:  बागमतीमा धेरै पानी बगीसक्यो। देशमा धेरै आन्दोलन भए आन्दोलन सँगसँगै धेरै कुरा परिवर्तन भए। हिजोसम्म महिनौँ दिनमा चिठी पुग्ने ठाउँमा पलभरमै खबर पुग्न थालिसक्यो तर कांग्रेस यी कुरामा पनि अझै अनभिज्ञ छ। यसको अर्थ हो कांग्रेस समयअनुकूल हिँड्न सकिरहेको छैन। यसमा पुन:विचार गर्न जरूरी छ।

कांग्रेसको विद्यार्थी राजनीतिमा अहिले पनि चालीस काटेका विद्यार्थी नेताको हालिमुली छ। तिनीहरूले अहिलेको नयाँ पुस्तालाई कांग्रेसबारे बुझाउन सक्छन्। हो युवालाई ७, ४६ सालमा के भयो भन्ने कुराले ठूलो फरक पर्दैन। अब आउने दिन कस्ता हुन्छन् भन्ने कुरा उनीहरूको बढी चासाे छ। जुन स्वभाविकै हो।  यी विषयमा कहीँ कतै बहस भएको देखिदैन। उज्जवल भविष्यको खोजीमा रहेको पुस्तामा राजनीतिप्रति चासो थोरै देखिनु एउटा पक्ष हो। उनीहरूलाइ पार्टीले कसरी सम्बोधन गरिरहेको छ त्यो महत्वको कुरा हो। त्यसैले अबका दिनमा कांग्रेसका एजेन्डा के हुन् भन्ने विषयमा नेतृत्व प्रस्ट हुनुपर्छ।

बुढाबुढीलाई एउटा आश थियो कांग्रेसले कहिलै धर्म छाड्दैन भन्ने। नेताहरूले त्यो विश्वास पनि गुमाउँदै गएका छन्। एकाइसौं शताब्दीमा धर्मको राजनीति गर्नु हुँदैन भनिएला तर जनता के चाहन्छन् भन्ने कुराको पनि विचार गरेर एजेन्डा ल्याउनु राजनीतिक पार्टीको धर्म हो। यति सामान्य कुरा पनि कांग्रेसले बुझ्न सकेको छैन। जुन दिनसम्म नेतृत्व ‘एस म्यान’को चंगुलबाट बाहिर निस्कन सक्दैन त्यो बेलासम्म कांग्रेस ब्युँतिने छैन।

अन्तमा, अत्यन्तै कमजोर प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले छिटै आफ्नो महाधिवेशन गर्न गइरहेको छ। तथापि अहिलेसम्म महाधिवेशनमा जाने नेताले आफ्नो एजेन्डा प्रस्ट पार्न नसकेको अवस्था छ। देशमा हिन्दू राज्यको बहस राम्रैसँग चलेको छ तर कांग्रेस सुनेर पनि नसुनेजस्तो गरिरहेछ। अबको महाधिवशेनमा जसले हिन्दुराज्यको प्रस्ट एजेन्डा ल्याउँछ त्यसको जीत पक्का हुनेछ।

Twitter: @Rhishendra

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .