म सदस्यसचिव बन्नुअघि पनि बाहिर बसेर खेलकुदका गतिविधि नियाली रहेको थिए। बाहिरबाट हेरेको भन्दा भित्रको यथार्थ फरक रहेछ।
हामी(खेलकुद निकाय) मिडियामा चाहिनेभन्दा धेरैकुरा पस्किँदा रहेछौं। त्यो कुरा भित्र रहेनछ। सूक्ष्म रुपमा अनुसन्धान गर्ने तौरतरिका हुँदो रहेनछ। त्यही प्रश्न म अहिले राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा आएर उठाइरहेको छु।
पहिलो कुरो– १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी मैले योभन्दा धेरै अगाडि बढेको छ कि भन्ने अनुमान गरेको थिए। मैले सोचेभन्दा धेरै कम तयारी रहेछ। मिति डिसेम्बर १ देखि डिसेम्बर १०, २०१९ भनेर सबैलाई थाहा छ तर तयारी कहाँ पुग्यो भन्ने चाहिँ बिर्सिने हुँदो रहेछ।
दोस्रो कुरा– अझै पनि खेलकुदभित्र हाम्रो कर्मचारी संयन्त्रको निर्माण, विभागीय काम र व्यवस्थित कामको अभाव, स्वच्छता र पारदर्शिताको अभाव मैले देखेको छु।
अर्कोे पाटो भनेको हाम्रा केही कार्य छन्, जस्तो खेलकुद पूर्वाधारको निर्माण हो। खेलको आयोजना हो। खेलको प्रचारप्रसार हो। खेल क्षेत्रमा लागेको मान्छेको सम्मान हो। उहाँहरुको बृद्धिविकासको कुरो हो। खेललाई कसरी हरेक मानिसको जीवनसँग जोड्ने भन्ने कुराको योजनावद्ध काम गराइको अभाव रहेछ। मैले योजनावद्ध हिसाबले काम गराईको सुरुवात गरेको छु।
भौतिक पूर्वाधार
डिसेम्बर १ मै सागको सुरुवात हुन्छ। मेरो पदबहालीको समयमा मैले शाखा प्रमुखहरुसँग कुरा गर्दा उहाँहरुलाई साग हुन्छ भनेर विश्वास थिएन्। मसँगको छलफलपछि उहाँहरुले ‘हुन्छ कि क्या हो’ भन्नुभएकाे थियो। अहिले चाहिँ खेलकुदका कर्मचारीलाई साग हुन्छ कि हुन्न? भनेर सोध्यो भने ‘हुन्छ’ भन्ने जवाफ आउँछ।
खेलाडीहरुलाई पनि विश्वास थिएन्। अहिले एउटा खेल (क्रिकेट) बाहेक सबैको बन्द प्रशिक्षण सुरु भएको छ। उहाँहरुलाई आवश्यक पर्ने सम्पूर्ण काम दिइएको छ। मैले भनेको छु, उहाँहरुलाई आर्थिक या अरु कारणले बन्द प्रशिक्षण रोकिने छैन्।
सागका लागि सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधारको हो। भौतिक पूर्वाधारको मैले सबै ठाउँमा गएर निरीक्षण गरिसकेको छु। यसमा जम्मा दुईवटा चुनौती प्रमुख छन्। एउटा पोखराको रंगशाला र दशरथ रंगशालाको भीआईपी प्याराफिटलाई सम्पन्न गराउने चुनौती।
दशरथ रंगशालाको मैले एउटा एउटा चरणबाट काम सुरु गरिसकेको छु। भीआईपी प्याराफिट (त्रिपुरेश्वर तर्फ) को पिल्लरमा फलामको डन्डीलाई फिक्स गर्नुपर्नेछ। त्यो भारतबाट आउँछ। अर्को छानो हाल्नुपर्नेछ। त्यो चीनबाट आउँछ। यी सामग्रीहरु समयमा आउँछन् कि आउँदैनन् भनेर स्थलगत भ्रमणका लागि भारतको कानपुरमा उपाध्यक्ष (पीताम्बर तिम्सिना) जाँदैहुनुहुन्छ भने म चीनको फ्याक्ट्रीमै गएर समयमै सामग्री आउने वातावरण बनाउँदैछु।
मेरो चाहना भदौ १९ गतेका लागि तय भएको फिफा विश्वकप छनोट अन्तर्गतको कुवेतविरुद्धको होम खेल दशरथ रंगशालामै होस् भन्ने थियो। तर, त्यो पूरा नहुने भएको छ। हामीले चिनियाँ ठेकेदारहरुसँग उनीहरुले रंगशालामा गरिरहेको काम पूरा नभएसम्म त्यहाँभित्र पाइला टेक्ने छैनौं भनेर सम्झौता गरेका रहेछौं। उनीहरुको अक्टोबर १० सम्म सकाउने भएकाले कुवेतविरुद्धको होम खेल दशरथ रंगशालामा सम्भव नभएको हो।
अब पोखरा रंगशालाको कुरा। त्यहा महिला फुटबल हुने हो। सुरुमा अस्ट्रो टर्फ (कृत्रिम घाँस) राख्ने सहमति भएको थियो तर मैले हाम्रो लागि त्यो ठिक छैन् भन्दा सबैले नेचुरल मैदान नै हुनुपर्नेमा जोड दिए। त्यहाँ नेचुरल मैदान बन्ने कुरा पक्का हो। त्यसले पोखरा रंगशाला रोकिएको हैन्। ठेकेदार बनाएको नक्सालाई हामीले स्वीकार र परिवर्तन के गर्ने? भनेर हामीले तत्काल रिपोर्ट दिन्छौं। त्यसपछि बाँकी काम सुरु हुन्छ।
त्यो रंगशाला समयभित्र तयार हुन्छ। त्यहाँ मुख्य तीन काम हो। एउटा स्टेडियम वरिपरिको एरिना, दोस्रो ट्राक एण्ड फिल्ड र तेस्रो मैदान। स्टेडियम वरिपरिको पहिलेको एरिना छुट्टाछुटै थियो। तर, अहिले पूरै एरिना एउटै गर्ने भनेर पास पाएको छ। त्यसले समय बचाउँछ। हामीले यत्रो चाहिन्छ भनेर अर्डर गरेपछि उहाँहरुले आएर कसी दिनुहुन्छ। त्यसको निम्ति हामीले हाम्रो देशको र इनि्डयन कम्पनी र सप्लायर्ससँग नियमित छलफल गरेका छौं।
ट्रयाक एन्ड फल्डले पनि समय खादैँन। समय लाग्ने भनेको हामीले दुबो समयमा उमार्न सक्छौं कि सक्दैनौं भन्ने छ। अर्को कुरो, त्यहाँको रंगशालाको क्षमता १६ हजार ५ सय छ। मैले भोलिको पनि हेरौं भनेर २२ हजार क्षमतासम्म धान्ने फाउन्डेसन बनाउन लगाएको छु। यो रंगशाला कार्तिक १५ भित्र सम्पन्न हुने गरी मैले समय दिएको छु।
यदि त्यो रंगशाला तयार भएन भने हामीले बैकल्पिक मैदान पनि हेरिसकेका छौं। पोखरामा अथवा काठमाडौंमा त्यो हुनसक्छ। काठमाडौं र पोखरामा ३–३ वटा बैकल्पिक मैदान हेरेका छौं।
सातदोबाटोस्थित पूर्वाधारहरु निर्माण गरिरहेको चिनियाँ कम्पनीले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ। म आएपछि चिनियाँहरुसँग औपचारिक रुपमा ५ वटा बैठकहरु सम्पन्न भयो।
सम्झौतामा उहाँहरुले ह्यान्डओभर गरेरमात्रै हामी त्यहाँ छिर्ने भन्ने उल्लेख छ। तर, हामीले पछिल्लो छलफलमा बनेका संरचनालाई ह्यान्डओभर गरिदिन अनुरोध गरेका छौं। सातदोबाटो कम्प्लेक्स, रंगशालाको दोस्रो चरणमा हामीलाई ह्यान्डओभर गरिदिनुस् त्यसको जिम्मेवारी हामी लिन्छौं भनेका छौं। उहाँहरुको टेक्निकल कमिटी दुई हप्ताभित्र नेपाल आउने र त्यसले ‘ओके’ भनेपछि ह्यान्डओभर गर्न के गर्ने भन्ने प्रक्रियामा अघि बढ्ने छ।
राष्ट्रले झण्डा बोकेर आइसकेपछि, राष्ट्रले म गर्छु, म गर्नसक्छु भनेपछि तयारी गर्नुपर्छ। यदि तयारी गर्न नसक्ने हो भने झण्डा बोक्ने हिम्मत पनि गर्नुहुन्न। पूर्वाधारकै कारण खेल रोकिदैँन।
कार्यविधि, सार्वजनिक खरिद र बजेट?
कार्यविधि र सार्वजनिक खरिदका विषयमा म जानकार छु। खरिद प्रक्रियामा ३५ दिन टेन्डरको मिति राख्नुपर्ने प्रावधान छ। तर, कुनै कुरो तत्काल निर्णय गरे हुने व्यवस्था छ। खरिद प्रक्रियाको पनि सम्मान गर्दै, ऐनको पनि सम्मान गर्दै फास्ट ट्रयाकको पनि व्यवस्था गर्दै हामी कार्यविधि ल्याउँछौं।
बजेटका बारेमा मैले प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुदमन्त्री सबैलाई भेटेको छु। उहाँहरुले बजेटका कारण साग रोकिदैन् भन्नुभएको छ। उहाँहरुले विधिसम्मत, कानुनसम्मत रुपमा बजेट लिएर आउनुस् त्यसलाई नेपाल सरकारले यस आर्थिक वर्षमा दिन्छ भन्नुभएको छ।
हामीले बजेट नेपालसरकारसँग प्रस्तुत गरिसकेका छौं। तीन खालको बजेट छ, सञ्चालनको खर्च, भौतिक र हामीलाई आवश्यक पर्ने सामाग्रीहरुको बजेट छ।
बजेट घटबढ हुनसक्छ। हामीले खेलसामग्रीका निमित्त चीन सरकारलाई अनुरोध गरेका छौं। यदि उहाँहरुले निःशुल्क रुपमा प्रदान गर्नुभयो भने बजेट घट्नसक्छ। उहाँहरुले दिन नसक्ने या सशुल्क दिने हुनुभयो भने बजेटमा फेरबदल हुनसक्छ।
सभ्य, भव्य र नतिजामुखी साग?
ठूलो खेल महोत्सव आयोजना गर्नु भनेको अरुलाई आफ्नो संस्कृति, कला देखाउने र आफ्नो क्षेत्रलाई चिनाउँने अवसर पनि हो।
केहीकुरा मेरो परिधिभित्र छैनन्। बाटोघाटो बनाउने जिम्मा मैले लिन सक्दिनँ। मैले यो ठाउँमा यो खेलकुद हुँदैछ। त्यहाँको स्थिति यस्तो छ। यहाँहरुले त्यहाँको स्थितिलाई समयमै विचार गरेर त्यहाँको बाटोघाटोलाई हाम्रो राष्ट्रिय इज्जत, गौरवलाई ध्यानमा राखेर निर्माण गरिदिनुस् भनेर महानगरपालिका या सम्बन्धित निकायलाई भनिसकेको छु। त्यही भएर मैले स्पट भिजिट समेत गरेको हुँ।
मुलपानी जाने बाटो अहिले धान रोप्दा मंसिरमा फल्ने स्थिति छ। त्यहाँ पहुँच भएका दुईवटै बाटोको हालत खराब छ। जगडोलको साइक्लिङ एरिया राम्रो छ तर त्यहाँ पुग्ने बाटो हामीले निर्माण गर्नुपर्नेछ। बाटो भनेको एक महिनाभित्र बन्ने कुरो हो। सरकारले चाहेमा त्यो सम्भव हुन्छ। रंगशालाभित्रको भव्यताको पाटो मेरो हो। मेरो पाटोभित्रको मैले भव्य तयारी गर्छु।
आफ्नो देशमा आयोजना हुने प्रतियोगितामा बढीभन्दा बढी पदकको अपेक्षा राख्नु स्वभाविक हो। हामीले १९९९ को साग गेम आयोजना गर्दा ६ महिना बन्द प्रशिक्षण राखेका थियौं। तयारी एकवर्षको थियो। मसँग जम्मा चार महिना छ। म त्यसलाई बढाउँन सक्दिन्। धेरै मान्छेले जति लामो बन्द प्रशिक्षण राख्यो त्यति राम्रो नतिजा आउँछ भन्छन्। तर, म त्यसको पक्षमा छैन्। हाम्रो नेपालीको मानसिक अवस्था, घरायसी अवस्थाले गर्दा छोटो–मिठो र नतिजामुखी बन्द प्रशिक्षणले बढी नतिजा दिन्छ भन्ने पक्षमा म विश्वस्त छु।
नेपालको मार्सल आर्टसबाट सबैभन्दा बढी पदक आउने गरेको छ। मैले मार्सल आर्टसको सबै संघलाई तपाईहरु मिलेर आउँनुहुन्छ भने म चुनाव दिन्छु नत्र माघ यता चुनावको मिति दिन्न भनिसकेको छु। भावनात्मक रुपमा एकता बनाएर म अघि बढ्ने सोचमा छु। त्यसअनुसारको प्रशिक्षणको पनि व्यवस्था सुरु भएको छ। रिजल्ट आउँछ भन्नेकुरामा म ढुक्क छु।
(सिलवाल राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हुन्।)
Shares
प्रतिक्रिया