कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला बस्ती पसेको चितुवा नियन्त्रणमा लिने प्रयास विफल भएको छ।
शनिबार बिहान बस्तीमा देखा परेको चितुवा नजिकै झाडीमा लुकेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलका अनुसार, अँध्यारो भएकाले अहिले चितुवा खोजी कार्य रोकिएको छ।
उनका अनुसार चितुवालाई ट्रयापमा पार्न तीन खोरमा बाख्रा राखिएको छ। ‘दुई खोर आहार खान नमिल्ने छन्। एउटा खोर आहार गर्न मिल्ने छन्,’ उनले भने, ‘तीन वटै खोरमा बाख्रा राखिएको छ। चितुवा आहारका लागि पस्ने बित्तिकै खोर बन्द हुन्छ।’
भुजेला खोला र नजिकै रहेको माछा पोखरी बीचको झाडीमा चितुवा देखिएको छ।
खेतमा घाँस काटिरहेका स्थानीयले चितुवालाई सुतेको देखेका थिए। त्यसपछि चितुवा बस्ती नजिकै भुजेला खोला पारी झाडीतिर पसेको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई हात्ती परिचालन गरिएका छन्।
हात्तीसहित सुरक्षाकर्मीको टोलीले रातभर पहरा दिनेछन्। बस्तीमा चितुवा देखिएपछि भुजेलाका स्थानीय त्रसित छन्।
चितुवा देखिएको क्षेत्रको चारैतिरै लाइट बालेर उज्यालो बनाइएको छ।
‘खोरमा राति परे नपरेको बिहान हेर्छौ। नपरे डार्ट गर्ने कि कसरी नियन्त्रणमा लिने त्यो बारे सल्लाह गर्छौँ,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले भने।
स्थानीयलाई राति घर बाहिर ननिस्किन आग्रह गरिएको छ। दुई साताअघि मात्रै दोधारा चाँदनी नगरपालिका २ मा बाघले मान्छे मारेको थियो।
उक्त बाघ नियन्त्रणमा लिएर लिएर बर्दिया राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा राखिएको छ।
Shares
प्रतिक्रिया