ad ad

बागमती


पुरुषबाट महिला बन्न भूमिकाले गरेको त्यो संघर्ष

पुरुषबाट महिला बन्न भूमिकाले गरेको त्यो संघर्ष

भूमिका श्रेष्ठ


सुनिता विष्ट
भदौ २, २०८१ आइतबार ८:४३, हेटौँडा

उनलाई थाहा थिएन- आफू छोरा हो कि छोरी? शरीर त छोराकै लिएर जन्मिएका थिए। नाम पनि पुरुषवाची नै राखिएको थियो- कैलाश श्रेष्ठ।

तर उनलाई नङ पालिस लगाउन मन लाग्थ्यो। आमाले सजाएर राखेका लिपिस्टक र टीका चोर्दै लगाएर चिटिक्क बन्न मन लाग्थ्यो। गाउँभरिका केटी साथी बटुलेर भाँडाकुटी खेल्न रमाइलो लाग्थ्यो। बेहुला-बेहुली बनेर खेल्दा सधैँ बेहुली बन्न रुचाउथे।

उतिबेला साथीहरूले भनेको त्यो वाक्य अहिले पनि गुन्जिरहन्छ उनको कानमा- ‘कस्तो केटा मान्छे भएर पनि बेहुली बन्न मन लाग्या हो! तिमी त बेहुला बनन। हामी बेहुली बनौँला।’

त्यही वाक्यले आफू के हुँ, कस्तो मान्छे हुँ भन्ने सोच्न बाध्य बनाएको कैलाश श्रेष्ठ उर्फ भूमिका श्रेष्ठ बताउँछिन्।

बुवा कुमार श्रेष्ठ र रुकुमाया श्रेष्ठको सन्तानका रूपमा २०४४ सालमा काठमाडौँमा उनको जन्म भयो। जेठी दिदी र एकजना दाइपछि घरको कान्छो छोरा थिए- कैलाश। एउटा छोरीपछि दुई छोराको जन्मले उनका बुवा कुमार निकै खुसी भएका थिए।

छोराका लागि भनेर उनका बुवाले गाडी, बन्दुकजस्ता खेलौना किनेर ल्याइदिन्थे। तर उनको मन केटी साथीले खेलेको गुडियामा बस्थ्यो। उनीहरूले ल्याएका रंगीन बेलुन उडाउन मजा लाग्थ्यो। तर भन्न कहाँ सकिन्थ्यो र! मनभित्रै गुम्सिन्थे रहरहरू। तर पनि उनको भावना बुझ्ने कोसिसमा परिवार लागिरह्यो। 

जब उनको उमेर बढ्दै गयो तब असजिलो महसुस हुन थाल्यो। उमेर त्यस्तै ११/१२ वर्षको थियो।

‘स्कुल जाँदा टीका लगाएर, कपाल पालेर रिबन लगाएरै जान्थेँ। मेरो रहरमा मेरो परिवारले कहिल्यै कैँची लगाउनुभएन। जसले गर्दा मलाई मनपर्ने कपाल काट्नै परेन’, हाँस्दै उनले भनिन्।

‘यो कस्तो बन्छ त थाहा छैन। तर जे बन्छ, प्रख्यात् मान्छे बन्छ। बुवाले सधैं यस्तै भन्नुहुन्थ्यो’, बुवाको स्मरण गर्दै उनले थपिन्, ‘बुवा त म ८ वर्षको हुँदा नै बित्नुभयो। तर अहिलेको म मेरो बुवाले देख्न पाउनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला।’

लाजले छुटेको पढाइ
परिवारका सदस्यले त माया गर्छन्। पहिले नबुझे पनि बिस्तारै स्वीकार गर्दै जान्छन्। तर समाजलाई बुझाउन सकेनन् उनी र उनको परिवारले।

सानो कक्षामा पढ्दा त समस्या नै आएन। जब कक्षा ८ मा पुगेँ तब सुरु भयो साथी र शिक्षकहरूको खिसीटिउरी। 

ती दिन सम्झिँदै उनी सुनाउँछिन्, ‘विद्यालय जाँदा केटा जाने शौचालयमा जाने कि केटी जाने शौचालयमा जाने भन्नेमै अलमल्ल हुन्थेँ। कैलाश त केटीको ट्वाइलेटमा गयो सर भनेर साथीहरूले सरलाई कुरा लगाइदिन्थे। कैलाश हेरौँ त तँ केटा रैछस् कि केटी भन्दै कहिले त पाइन्ट तान्नसमेत आउँथे साथीहरू। यसलाई सहन नसकेर नै १३/१४ वर्षको उमेरबाटै पढाइ छुट्यो।’

सानो हुँदा कसैले पनि त्यति वास्ता गरेनन्। ठूलो हुँदै गएपछि सबैले याद गर्न थाले।

‘ल हेर त त्यो कुमारको छोरा त गाजल लगाएर पो स्कुल जान्छ। छोरी मान्छे जसरी लजाउँदै पो हिँड्छ त! यस्तै कुरा सुन्न नसकेर पढाइ नै छुटाएँ,’ उनले भनिन्।

‘कक्षामा सँगै पढ्ने साथीहरू केटा केटा जस्तै छन्, केटी केटी जस्तै छन्। तर मचाहिँ किन दुवैजस्तै भएको होला भन्ने सोच्दासोच्दै पढ्न मन नै लागेन। रुन मन लाग्थ्यो , हे भगवान्! किन यस्तो रूपमा जन्म दिनुभयो होला भन्दै धेरै रुन्थेँ,’ उनले भनिन्।

कक्षा १० मै पढाइ छाडेपछि जिन्दगीको पाइला पनि मोडिएको उनी बताउँछिन्। 

आफैँलाई चिन्न संस्थाको सहयोग
अरूभन्दा भिन्न भए पनि आफू के हुँ भन्नेमै अलमलिएका कैलाशले आफैँलाई चिन्न संस्थाको सहयोग लिन पर्‍यो। काठमाडौँको चन्द्रागिरि नगरपालिकामा जन्मिएका उनी एकदिन बसपार्कमा गाडी कुरेर बसिरहेका थिए।

यत्तिकैमा भेटिइन्- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अभियन्ता अर्थात् ब्लु डाइमन्ड सोसाइटी (नीलहीरा समाज) संस्थाकी अध्यक्ष पिंकी गुरुङ।

उनले कैलाशलाई आफू छेउमा बोलाइन्। परिचय मागिन्। कैलाशले आफ्नो नाम र घरको ठेगाना बताए। यसपछि पिंकीले कैलाशलाई आफूसँगै जान आग्रह गरिन्। तर कैलाशले सहजै त्यो अनुरोध स्वीकार गर्न सकेनन्। 

छोरी मान्छे हुँ भन्ने मानसिकता पालेका उनलाई बेचिदिन पो यस्तो भनेका हुन् कि भन्ने त्रास छायो।

‘उहाँले तिमी यस्तो यस्तो खालको मान्छे हौ भनेर सोध्नुभयो, तर मैले डरैडरमा होइन, म त छोरा मान्छे हुँ, आँखा दुखेर मात्र गाजल लगाएर आको भन्ने बहाना बनाएर त्यहाँबाट उम्किएँ,’ त्यतिबेलाका कैलाश अहिलेकी भूमिका सुनाउँछिन्। 

त्यसपछि गुरुङ आफ्नो पहिचानमा गाह्रो भइरहेको छ भने यहाँ आऊ है भनेर कैलाशको हातमा नीलहीरा समाजको कार्ड थमाएर हिँडिन्।

खोज्दै पुगे नीलहीरा
कैलाश त्यो रात राम्ररी निदाउन सकेनन्। त्यो दिदीको साथ लागेर जानुपर्ने रैछ भन्ने लागिरह्यो। हेर्दा केटी देखिएकी पिंकीको आवाजले कैलाशको मनमा थोरै खुसी थपिएको थियो। उनलाई ढुक्क भयो- म मात्रै यो संसारकै फरक मान्छे होइनरहेछु, मजस्ता अरू पनि रहेछन्।

यो घटनाले उनमा आत्मबल बढ्यो। 

भोलिपल्ट पिंकीले दिएको कार्डको लोकेसन हेर्दै कैलाश यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संस्था नीलहीरा समाजको कार्यालय पुगे। त्यहाँ पुगेको दिन उनको सास रोकिएजस्तै भयो। कोही कस्ता, कोही कस्ता, अनौठा, कसैका बोली धोत्रो, कोही ठूला केटा मान्छे तर बोली तीखो। यो देखेर कैलाशलाई त्यहाँबाट निस्केर कहिले घर जाऊँ जस्तो पो लाग्यो।

तर एक दिन, दुई दिन गर्दै जाँदा यही समुदायका मानिसमा मन रमाउन थाल्यो।

‘आफ्नो पहिचान थाहा पाएँ। न पुरुष न महिला म त तेस्रो लिंगी पो रहेछु भन्ने थाहा पाएपछि यहाँबाट जान मनै लागेन’, उनी सुनाउँछिन्।

त्यतिबेला उनी त्यस्तै १५ वर्ष जतिका मात्रै थिए। काम गर्दै जाँदा उनलाई नागरिकताको खाँचो पर्न थाल्यो। नागरिकता बनाउने क्रममा उनले निकै ठक्कर खानुपर्‍यो। 

नागरिकतामा झमेला 
बल्ल आफ्नो पहिचान थाहा पाएका कैलाशको जिन्दगीमा दोस्रो लडाइँ सुरु हुन्छ। उमेर त्यस्तै १७ वर्षको थियो।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुँ भनेर खुलेर महिलाको भेषमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका कैलाशको मनमा ठेस लाग्यो।

वडा कार्यालयबाट सिफारिस लिएर आमाको साथमा जिल्ला प्रशासन कार्यालय पुगेका कैलाशलाई नाम फेरेर भूमिका राख्न मन थियो। तर कानुनी अड्चनका कारण कैलाश श्रेष्ठकै नाममा नागरिकता बनाउनपर्ने भयो। 

अब समाजमा देखाउँदै हिँडेको आफ्नो पहिचान लुकाउनु पर्ने परिस्थिति सिर्जना भयो। 

अनि उनले नाकमा लगाएको फुली, कानको मुन्द्री, ओँठको लिपिस्टक सबै मेटाएर कपाल जुरो बाँधे। ढाका टोपी लगाएर कैलाश नै हो भन्ने प्रमाणित गर्ने फोटो खिचाए। नागरिकता त बन्यो। तर सोही नागरिकताले घरिघरि पीडा दियो। 

मान्छे महिला, नागरिकता पुरुषको! कसको नागरिकता किर्ते गरेर ल्याउनुभयो? तपाईंको भाइको होइन, तपाईंकै नागरिकता दिनू। नागरिकता त आफ्नै चाहिन्छ भन्ने थाहा छैन क्या हो?

नागरिकताका कारण कैलाशले यस्ता थुप्रै वचन सुन्नपर्‍यो। 

‘हुन त नभनुन् पनि किन? म महिलाकै भेषमा हिँड्ने मान्छे। नागरिकता टोपी लगाएको टक्क परेको पुरुषको थियो’, उनले मुसुस्क हाँस्दै भनिन्।

अनि बनिन् भूमिका 
कैलाश नामको नागरिकताले देशदेखि विदेशसम्मको यात्रामा अवरोध गर्न थालेपछि उनले आफ्नो नाम परिवर्तन गर्न निकै कष्ट गरिन्। पहिचानकै आधारमा नागरिकता बनाउन युद्ध नै लडिन् भन्दा हुन्छ। 

भूमिका श्रेष्ठ

केही वर्षपछि उनले आफूले खाजेजस्तै भूमिका श्रेष्ठकै नाममा नागरिकता पाइन्। उनको निवेदनअनुसार २३ चैत २०७७ को मन्त्रिपरिषद् बैठकले यसअघि कैलाश श्रेष्ठको नाममा अन्य लिंग कायम भएको उनको नागरिकताको विवरण संशोधन गरी भूमिका श्रेष्ठ र महिला लिंग कायम गरी नागरिकताको प्रतिलिपि दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई स्वीकृति दियो।

तेस्रो लिंगीले नाम परिवर्तन गरी नागरिकता पाउने व्यक्ति देशमा आफू नै पहिलो भएको भूमिकाको दाबी छ।

लिंग परिवर्तन  
भूमिकाले पुरुषबाट महिला बन्न १०/१२ लाख रुपैयाँ खर्चिन्। आजभन्दा १४/१५ वर्षअगाडि बैंकक गएर २ लाख रुपैयाँ खर्चिएर ब्रेस्ट इम्प्लान्ट गरिन्।

हेर्दा छोरी नै देखियोस् भन्नाका लागि ब्रेस्ट इम्प्लान्ट गराएकी भूमिकाले करिब ४ वर्षअघि लिंगसमेत परिवर्तन गराइन्।

विदेश गएर अपरेसन गराएर आएकी भूमिकाले अहिले महिलाको पहिचान बनाएकी छन्।

तर उनले ट्रान्सजेन्डरको परिचय भने लुकाएकी छैनन्। यस विषयमा खुलेरै बोल्छिन् उनी। 

असल गृहिणी 
धेरैलाई लाग्नसक्छ- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसले पनि विवाह गर्छन्? घरजम गरेर बस्छन्?

यस्तो लाग्नु स्वाभाविक नै हो। तर भूमिका भने एक असल गृहिणीसमेत हुन्। केही वर्षअघि उनले विवाह गरेकी हुन्। पुरुषसँग घरजम गरेकी उनको परिवारमा श्रीमान्‌सँगै सासू, नन्द र देवर पनि छन्।

जन्मघरबाट राम्रो माया र संस्कार पाएर आफ्नो छुट्टै परिचय बनाउन पाएकी भूमिकालाई अहिले श्रीमान्‌को घरका सबै सदस्यले उस्तै माया र साथ दिइरहेका छन्।

भन्छिन्, ‘म र मेरो श्रीमान् काठमाडौँमै बस्छौँ, बेलाबेला हामी घर जान्छौँ। सबैले माया गर्नुहुन्छ। मजस्तो अवस्थामा जन्मिए पनि भाग्यमानी छु भन्ने लाग्छ।’

अभियन्ता पनि 
भूमिका अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि एक अभियन्ता हुन्। देशभर छरिएका यस समुदायका मानिसका लागि उनी प्रेरणाको स्रोत बनेकी छन्।

उनले यस समुदायको कथा समेटिएको ‘भूमिका’ नामको किताब पनि लेखेकी छन्। उनी मोडल पनि हुन्। तर उनी आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अभियन्ता भन्न रुचाउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .