ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा शरीरमा सिस्नुपानी लगाएर नयाँ वर्ष मनाइँदै

सुदूरपश्चिममा शरीरमा सिस्नुपानी लगाएर नयाँ वर्ष मनाइँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८० शुक्रबार ८:२७, बैतडी

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदै छ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन छ। 

यसका साथै देवर भाउजू, नन्द भाउजू र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ। सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए। पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको छ। “पहिलाजस्तो रमाइलो गर्ने चलन हराइसकेको छ”, उनले भने। 

सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोेले लिपपोत गर्ने गरिन्छ। नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि  सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास छ। वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ। 

बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन्। सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन्। छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन्। 

साहित्यकार रमेश पन्त मीतबन्धु यसलाई विष फाल्ने पर्वका रूपमा लिने गरिएको बताउँछन्। आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ। आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ। 

आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्त्वका रूपमा लिने गरिन्छ। यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ। आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .