विश्वकप फुटबलमा समूह जी का क्यामरुन सर्वियाबिच खेल भइरहेको छ। पहिलो हाफको खेल सकिँदा सर्वियाले २–१ को अग्रता लिएको छ। सुरुमा पछि परेको सर्वियाले लगातार दुई गोल गर्दै अग्रता लिएको हो।
सर्वियाले दुवै गोल पहिलो हाफको इन्ज्युरी समयमा गरेको हो। अल जनौव स्टेडियममा खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा सगेज मिलिक्कोविक साविकले गोल गर्दै खेललाई २–१ को अग्रतामा ल्याएका हुन्। त्यसको दुई मिनेटअघि स्टाहिनजा पावलोभिकको गोलमा सर्वियाले क्यामरुनसँग बराबरी गरेको थियो।
त्यसअघि २८ औँ मिनेटमा क्यामरुनका जीन–चाल्र्स क्यास्टेलेटोले अग्रता बनाएका थिए। उनले निकोलस एन्कोलोउको पासमा बललाई जाली चुमाएका हुन्। खेलको १७ औँ मिनेटमा सर्वियाका मिट्रोभिचले १२ यार्ड नजिकबाट हानेको प्रहार पोष्टको नजिकबाट बाहिरिँदा अग्रता बनाउने सुन्दर मौका गुमायो।
खेलको १९ औँ मिनेटमा क्यामरुनका पियरे कुन्डेको प्रहार सर्वियाका गोलरक्षक भान्जा मिलिनकोभिचले पन्च गर्दै बचाए।
खेलको ४३ औँ मिनेटमा कुन्डेको प्रहार पनि गोलरक्षकले बिफल बनाइदिए। त्यसैको रिबाउण्डमा आएको बललाई कुन्डेले पुन प्रहार गरे पनि गोल हुन सकेन।
Shares
प्रतिक्रिया