किर्गिस्तानमा बिहीबार सम्पन्न नादेझ्दा कपमा उपविजेता बन्दै शुक्रबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सावित्राले सो कुरा बताएकी हुन्।
नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानीको बराबरी गरेकी सावित्राले भनिन्, ‘समर्थकहरुले मायाँ गरेरर महिला फुटबललाई यहाँसम्म ल्याइदिनुभएको छ। यहाँहरुको यत्तिकै सहयोग निरन्तरता चाहान्छौं। हामी अझै मेहनत गरेर सागमा स्वर्ण ल्याई समर्थकको मुहारमा खुशी दिलाउने प्रतिबद्धता जाहेर गर्न चाहान्छु।’
नादेझ्दा कपसहित नेपाली महिला टोलीले आठ चोटी फाइनल खेलेपनि हरेक पटक उपविजेतामै सीमित हुनुपरेको छ। चार राष्ट्र सहभागी नादेझ्दा कपको फाइनलमा नेपाल बलियो उज्बेकिस्तानसँग ३–२ ले पराजित भएको थियो।
यो पनि:सावित्राले गरिन् सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी
‘अलिकति समय भएको भए हामी जित्ने थियौं,’ ९० मिनेटमा दोस्रो गोल गरेकी सावित्राले भनिन्, ‘ पहिलो हाफमा हामी योजना अनुसार खेल्न सकेनौं तर दोस्रो हाफमा योजना अनुसार खेल्यौं। डिफेन्स र गोलकिपरको कम्बिनेसन अझै मिलेको छैन। स्कोरिङमा पनि सुधार्नुपर्ने देखिएको छ।’
नेपालले सागको तयारीका लागि यो प्रतियोगिता खेलेको हो। नेपालका दुवै गोल सावित्राले गरेकी थिइन्। उक्त दुई गोलसँगै सावित्राले नेपालका लागि सर्वाधिक गोल गरेकी अनु लामाको ३५ गोलको कीर्तिमान बराबरी गरेकी थिइन्।
कीर्तिमान बराबरी गरेका बारेमा उनले भनिन्, ‘प्रतियोगितामा खेल्न जानुअघिनै अनु लामाको रेकर्ड ब्रेक गर्छु भन्ने मनस्थिति थियो। त्यसबा लागि किर्गिस्तान, ताजकिस्तानसँग बढी भन्दा बढी गोल गर्छु भन्ने थियो। तर, उज्बेकिस्तान जस्तो बलियो टिमसँग गोल गर्दा गर्व लाग्यो। पहिलो गोल त मेरो अहिलेसम्मकै उत्कृष्ट थियो। त्यो अविस्मरणीय पनि छ। यसपटक अनु दिदीको कीर्तिमानी बराबरी गरेकोमा सन्तुष्ट छु।’
प्रतिक्रिया