भैरहवामा जारी १९ औं सस्करणको लिस्नु कप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबारको चौथो क्वाटरफाइनल खेलमा विजयी हुँदै फूलबारी गाइज, बुटवल सेमिफाइनल प्रवेश गरेको छ। उसले आयोजक लिस्नु युवा क्लब, कोटिहवालाई २–० गोलअन्तरले पारजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
जिल्लाको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपति उच्च माविको खेल मैदानमा भएको खेलमा खेल सुरु भएको ३ मिनेटमै लिस्नुका जीवन धामीले आत्मघाती गोल गर्दा फूलबारी १–० को स्थितिमा पुग्यो। त्यसको ठीक ५ मिनेटपछि ८औं मिनेटमा विदेशी खेलाडी कोनो बोरिसको पासमा फूलबारीका सबी गुरुङले गोल गरेपछि टीम २–० ले अघि रह्यो।
आयोजकका पक्षमा दर्शकदीर्घबाट खुबै हुटिङ भएको खेल प्रतिस्पर्धी भए पनि लिस्नुले गोल गर्न नसक्दा सेमिफाइनल पुग्ने उसको लक्ष्यमा धक्का लाग्यो। खेलको ५२औं मिनेटमा फूलबारीका सन्देश न्यौपाने र ६०औं मिनेटमा फूलबारीबाट खेलेका विदेशी खेलाडी बोरिसले निस्नुका खेलाडीलाई फल गरेपछि पहेँलो कार्ड पाए।
शुक्रबारको खेलमा फूलबारीका कमल थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए। उनले नगद २ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे। शनिबार क्वाटरफाइनलको अन्तिम खेल जु फुटबल क्लब भरतपुर, चितवन र वालिङ नगरपालिका, वालिङ, स्याङ्जाबीच हुने आयोजकले जनाएका छन्। प्रतियोगिता स्थानीय लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा संचालन भइरहेको छ।
प्रतिक्रिया