ad ad

खेल


फिफा विश्वकप छनोटः बलियो कुवेत, उत्साही नेपाल

फिफा विश्वकप छनोटः बलियो कुवेत, उत्साही नेपाल

यज्ञराज जोशी
भदौ १८, २०७६ बुधबार ४:५८,

खेलः नेपाल भर्सेस कुवेत
प्रतियोगिताः फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को छनोट
मितिः भदौ १९, २०७६, राति १०ः४५ बजे
स्थानः जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशाला, कुवेत सिटी

नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ अन्तर्गतको पहिलो छनोट खेल बिहीबार कुवेतविरुद्ध खेल्दैछ। उक्त खेलका लागि त्यहाँको वातावरणसँग घुलमिल हुन चार दिन अघि नै नेपाली राष्ट्रिय टोली त्यहाँ पुगिसकेको छ।

गल्फ मुलुक कुवेतमा दिउँसो अत्याधिक गर्मी हुने भएका कारण सोमबार र मंगलबार नेपालले राति अभ्यास गरेको थियो। बुधबार अन्तिम अभ्यासपछि नेपाल जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा कुवेतसँग खेल्दैछ।

kiran chamjong and teamकुवेतविरुद्ध कप्तानी गर्ने किरण(बायाँबाट तेस्रो)ले नेपालबाट ५९ खेल खेलेका छन्।नियमित कप्तान विराज महर्जन अनफिट देखिएपछि यसपाली चौथोपटक नेपाली टोलीको नेतृत्व गर्ने अवसर गोलरक्षक किरण  चेञ्जोङले पाएका छन्। किरण २००८ मेदेखि नेपाली टोलीमा रहेका पहिलो रोजाईको गोलकिपर रहँदै आएका छन्।  किरण नेतृत्वको  टोलीका लागि बलियो कुवेतविरुद्ध अग्निपरिक्षा हुनेछ।

बलियो कुवेत

कुवेती फुटबलले चाखेको सबैभन्दा ठूलो सफलताको स्वाद सन् १९८२ मा हो। त्यसबेला उसले विश्व फुटबलको सर्वोच्च प्रतियोगिता विश्वकप खेल्यो। स्पेनमा भएको विश्वकपको समूह चरणमा फ्रान्स र इंग्ल्याण्डसँग पराजित कुवेतले चेस्लोभाकियालाई भने १–१ को बराबरीमा रोक्दै १ अंक जोडेको थियो।

त्यसबाहेक १९७६ मा एसियन कपको फाइनलमा पुग्नु र १९८० मा उपाधि उचाल्नु गल्फ राष्ट्र कुवेतले फुटबल इतिहासमा हात पारेका ठूला सफलता हुन्।

kuwat football teamविश्वकप खेलिसकेको कुवेत एसियाली चाम्पियन समेत हो

दक्षिण एसियाली फुटबल च्याम्पियनसिपकै सेमिफाइनलभन्दा माथि उठ्न नसकेको नेपालका लागि अहिलेको अवस्थामा विश्वकप र एसियन कप दिवास्वप्न मात्रै हो। विश्वकपमा छनोटको दोस्रो चरण पुग्नु नै नेपालको ठूलो सफलता रहँदै आएको छ। २०१४ पछि यसपटक नेपाल वरियताका आधारमा सोझै विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो।

भुटानलाई सन् २००० मा २०–० गोलअन्तरले हराउँदै कुवेतले अन्तर्राष्ट्रिय फुटबलमा त्यसबेला सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको थियो। तर, अर्को वर्ष अष्ट्रेलियाले अमेरिकन सामोएलाई ३१–० ले हराउँदै त्यो कीर्तिमान भंग गर्यो।

सन् १९७० देखि २००० सम्म कुवेती फुटबलको स्वर्णकाल थियो। यही समय विश्वकप खेल्यो, एसियन कप जित्यो, एसियाली फुटबलको पावर हाउसको परिचय बनायो। तर, २००० को दशकको अन्त्यतिर भने चरम राजनैतिक हस्तक्षेपले कुवेती फुटबल थलियो। त्यसैकारण एक समय विश्व वरियताको २४औं स्थानमा रहेको टोली २०१७ को अन्त्यमा आइपुग्दा १८९ औं स्थानमा थियो।

Kuwait nepalकुवेतलाई नेपालले फुटबलमा कहिल्यै हराउन सकेको छैन्।

सरकारी हस्तक्षेपका कारण अन्तिम पटक २०१५ अक्टोबरमा कुवेतलाई तेस्रो पटक फिफाले प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धकै कारण कुनै फुटबल गतिविधि नभएपछि कुवेतको वरियता निकै घटेको हो। तर, नयाँ खेलकुद कानुन लागुभएसँगै २०१७ को डिसेम्बरमा प्रतिबन्ध फुकुवा भएको कुवेत त्यसपछि भने निरन्तर उकालो लागिरहेको छ।

छोटो समयमा उल्लेखनिय वरियता सुधार गर्दै कुवेत हाल १५६औं स्थानमा छ। जुन नेपाल भन्दा १० स्थानमाथि हो। कुवेतले क्रोएसियाली प्रशिक्षक रोमियो जोजाकलाई विश्वकप र एसिया छनोटको जिम्मेवारीसहित टोली सुम्पिएको छ। जोजाक तिनै प्रशिक्षक हुन्, जसले अघिल्लो वर्ष भएको रसिया विश्वकपका गोल्डन बल विजेता(प्रतियोगिताको सर्वोत्कृष्ट) लुका मोड्रिचलाई समेत प्रशिक्षण गराएका थिए।

यो पनि:  विश्वकप छनोटबारे नेपाली स्टार रोहित चन्द के भन्छन्?

कुवेतले विश्वकप छनोटको स्वरुप अघिल्लो महिनामात्रै ९ राष्ट्र सहभागी पश्चिम एसियाली फुटबल फेडेरेसनको आयोजनामा हुने वाफ च्याम्पियनसिप खेल्यो। जसमा बहराइनसँग पराजित भएपनि जोर्डनलाई १–१ को बराबरीमा रोक्यो भने साउदी अरेबियालाई भने २–१ ले पराजित गर्यो।

कुवेतको तयारी त्यतिमै सीमित थिएन। त्यसअघि उसले युरोपमा समेत प्रशिक्षक गर्यो। जहाँ उसले इङ्लिस प्रिमियर लिग टोली एस्टन भिल्लासँग खेल्यो। अधिकांश दोस्रो रोजाईका खेलाडी रहेका एस्टन भिल्लालाई उसले पराजित गरेको थियो। यस्तै इंग्ल्यान्डमा नै उसले पाँचौं डिभिजनको क्लब मेडेनहेड युनाइटेडविरुद्ध खेल्दै नेपालविरुद्ध आफूलाई सशक्त रुपमा उभ्याउँदैछ।

उत्साही नेपाल

football teamm1नेपाली टिम गत आइतबार नै कुवेत पुगिसकेको छ।नेपाल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा झण्डै ३ महिनाको प्रशिक्षण तथा एउटा अनौपचारिक खेल खेल्दै कुवेतसँग भिड्न प्रस्थान गरेको हो।

कुवेतविरुद्धको खेल्नु ठिक ९ दिनअघि नेपालले अन्तिम तयारी स्वरुप मलेसियन सुपर लिग च्याम्पियन क्लब जाहोर दारुल तामिज एफसीसँग अनौपचारिक एक खेल खेलेको थियो। त्यसमा नेपाल १–० ले पराजित भयो।

गत माघ(२०७५)मा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि स्वीडिस प्रशिक्षक योहान कालिनको परिक्षा कुवेतविरुद्धको खेलबाट नै सुरु हुँदैछ। उनी प्रशिक्षक भइसकेपछि गत मार्चमा नेपालले कुवेतविरुद्ध दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको र दोस्रो खेलमा १–० ले पराजित भएपनि कडा टक्कर दिएकाले नेपाल उत्साही बनेको हो।

नेपाली तयारी जे जस्तो भएपनि खेलाडीहरुको इफोर्टबाट भने प्रशिक्षक कालिन सन्तुष्ट छन्। उनी भन्छन्, ‘हामीसँग जे उपलब्ध थियो त्यसको बढीभन्दा बढी उपयोग गरेका छौं। काठमाडौंमा कृत्रिम मैदानमा अभ्यास गरेर नेचुरल मैदानमा खेल्न जानु चुनौतीपूर्ण हो तर खेलाडीको इफोर्टबाट म निकै सन्तुष्ट छु। उनीहरु निकै कडा मेहनती छन्।’

dasrath rangals१aaaनेपालले दशरथ रंगशालामा फुटबल खेल्न नपाएको ४ वर्ष भयो। यसै हप्ता रंगशालाको घाँस काट्ने काम शुरु भएको छ।

नेपालबाट सबैभन्दा बढी क्याप जितेका तथा नियमित कप्तान विराज महर्जनलाई कालिनले यसपटक कुवेतविरुद्धको खेलमा राखेनन। उनको स्थानमा गोलरक्षक किरण चेञ्जोङले नेपाली टोली सम्हाल्दैछन्। राष्ट्रिय टोलीबाट ५९ क्याप जितेका किरण अहिलेको टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्।

किरणसँगै अर्का सबैभन्दा अनुभवी खेलाडी तथा मिडफिल्डर रोहित चन्द(५८ क्याप) मलेसियन क्लब दारुलसँगको खेलमा उपलब्ध थिएनन्। रोहित इन्डोनेसियन लिगमा ब्यस्त थिए भने किरण जापानमा ट्रायल दिन गएका थिए।

उनीहरुको आगमनले टोलीको प्रदर्शन अझै राम्रो हुनेमा प्रशिक्षक कालिन आशावादी छन्। भन्छन्, ‘यो हामीसँग उपलब्ध उत्कृष्ट टिम हो। अवश्यपनि रोहित र किरणको आगमनले टोलीको प्रदर्शन अझै माथि उठ्नेछ।’

team2नेपालले गत भदौ ९ गते मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा १-० ले पराजित रह्यो।

कुवेतविरुद्ध गत मार्चमा दुई मैत्रीपूर्ण खेल खेल्दा सबैभन्दा व्यस्त कोही थिए भने ती थिए, गोलरक्षक किरण चेञ्जोङ नै। छिनछिनमै हुने कुवेती खेलाडीको प्रहारले उनलाई खेलभरि केही समय पनि आरामको मौका दिएन।

कुवेत कति बलियो रहेछ, किरणले त्यसबेला राम्रै बुझ्ने मौका पाए। विपक्षीबारे उनी भन्छन्, ‘त्यसबेला हामीले बराबरीमा रोकेपनि त्यसबेला र अहिलेको कुवेतमा फरक छ। उनीहरुले युरोप लगायतका ठाउँमा निकै राम्रो तयारी गरेका छन्। बलियो टिमसँग खेल्न हाम्रा लागि चुनौतीपूर्ण हो। तर जुनसुकै टोलीलाई चुनौती दिन पनि हामी तयार छौं।’

हेड टू हेड
नेपालले कुवेतलाई सिनियर लेभलमा कहिलै हराउन सकेको छैन्। नेपाल र कुवेत अहिलेसम्म ६ पटक आमने सामने हुँदा ५ पटक कुवेतले जितेको छ भने १ खेल बराबरीमा सकिएको छ।

१९८२ को एसियन गेम्समा नेपाल र कुवेत पहिलोपटक भिडेका थिए। नयाँ दिल्लीमा भएको उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो। त्यसबेला वाइबी घलेले नेपालका तर्फबाट गरेको उक्त गोल नै कुवेती पोस्टमा नेपालले गर्न सकेको एकमात्रै गोल हो। त्यसबाहेक ६ खेलमा नेपालले २२ गोल खाएको छ।

69778290 1787367384743490 3342060777690365952 nकुवेतविरुद्ध नेपालले १ गोल गरेको छ भने २२ गोल ब्यहोरेको छ।

कुवेतसँग नेपालक १९९४ मा भएको एसियन गेम्समा सबैभन्दा ठूलो ८–० को हार ब्यहोरेको थियो। गत मार्चमा मैत्रीपूर्ण खेलमा गोलरहित बराबीमा रोक्नु नै उसविरुद्ध नेपालको सबैभन्दा ठूलो सफलता हो।

पछिल्ला ५ महिनामा कुवेतले ५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा उसले २ मा जित, २ मा बराबरी र एकमा हारको नतिजा ब्यहोरेको छ।

नेपाली खेलाडी ले भने पछिल्लो पछिल्लो एकवर्षमा मात्रै ५ खेल खेल्न पाएका छन्। ती ५ वटै खेलमा नेपालले जित हात पार्न सकेको छैन्। तीन खेल हारेको नेपालले दुई खेल बराबरी गरेको छ।

कुवेतविरुद्धको एक खेलमा हार र एक खेलमा बराबरी, मलेसियासँग २–० को हार, चाइनिज ताइपेलाई १–१ को बराबरी तथा गत भदौ ९ गते मलेसियन क्लब दारुलसँग १–० ले पराजित हुनु नेपाली पछिल्ला ५ खेलका नतिजा हुन्।

कसरी पुगिन्छ विश्वकप?

आगामी विश्वकप २०२२ मा एसियाली राष्ट्र कतारमा हुने यसअघि नै टुंग्गो लागिसकेको छ। सोही विश्वकपका लागि अहिले छनोट प्रतियोगिता भइरहेका छन्। 

नेपालले बिहीबार देखि सोही विश्वकप अन्तर्गतको एसिया छनोटका दोस्रो चरणका खेलहरु खेल्न लागेको हो। जसअन्तर्गत पहिलो खेल नेपालले बिहीबार कुवेतसँग खेल्दैछ। चार महिनाअघि एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले पहिलो चरण नखेली दोस्रो चरणमा प्रवेश पाएको हो।

दोस्रो चरणमा एसियाका ४० राष्ट्रले सहभागिता जनाउँदैछन्। उनीहरुलाई विभिन्न ८ समूहमा बाडिएको छ। नेपाल समूह बीमा छ। नेपाली समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे छन्। सबै राष्ट्रले होम र अवेका आधारमा एकअर्कासँग खेलेपछि समूहको शीर्षमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। साथै सबै समूहका खेल सकिएपछि उत्कृष्ट ४ समूह उपविजेता टोलीलाई पनि तेस्रो चरणमा प्रवेश दिइन्छ।

तेस्रो चरणमा दोस्रो चरणबाट आएका १२ टोलीलाई दुई समूहमा बाँडिनेछ। एउटा समूहमा हुने ६ टिमले पुन: होम एण्ड अवेका आधारमा खेल्नेछन्। दुवै समूहका शीर्ष २ टोली विश्वकपमा छानिनेछन्। यस्तै तेस्रो हुने २ टोलीले चौथो चरणको छनोट खेल्नेछन्।

चौथो चरणमा तेस्रो चरणबाट आएका २ टोलीहरुले होम एण्ड अवेका आधारमा २ लेग(होममा २, अवेमा २)को खेल खेल्नेछन्। त्यसको विजेता टोली इन्टर कन्फिडेरेशन प्लेअफ खेल्नेछ। जहाँ एएफसी, कोन्काकेफ, कोनमेबोल र ओएफसीबाट आएका चार टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ।

उनीहरुले पनि होम एण्ड अबेका आधारमा २ लेगको खेल खेल्नेछन्। अन्तिममा शीर्ष २ स्थानमा रहने टोली विश्वकपमा छानिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .