ad ad

खेल


जोर्डनविरुद्धको खेलमा नेपालका तीन खेलाडी परिवर्तन

जोर्डनविरुद्धको खेलमा नेपालका तीन खेलाडी परिवर्तन

नेपालखबर
जेठ २४, २०७८ सोमबार १४:५७,

फिफा विश्वकप तथा एशिया कपको दोस्रो चरण अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाली टोलीमा ३ खेलाडी परिवर्तन भएका छन्।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे हुने खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ खेलाडी परिवर्तन गरेका हुन्।

प्रशिक्षक अलमुताइरीले चाइनिज ताइपेइविरुद्धका खेलमा मैदान उतारेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठलाई बेन्चमा राखेका छन्। जोर्डनविरुद्धको खेलमा अभिषेक रिजाल, दिनेश राजवंशी र विकास खवास पहिलो रोजाइम मैदान उत्रँदैछन्।

मुख्य प्रशिक्षकले जोर्डनविरुद्धको खेलमा रक्षात्मक रणनीतिमा टोली उतारेका छन्। नेपाली टोलीमा कप्तान तथा गोलरक्षक किरण चेम्जोङ नै छन्। डिफेन्समा अनन्त तामाङ र रोहित चन्द, विंगब्याकमा विकास खवास र दिनेश राजवंशी तथा मिडफिल्डमा सुमन अर्याल छन्। यस्तै पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्दा नेपाली टोलीको आक्रमणमा सुमन लामा, अभिषेक रिजाल र अन्जन विष्ट छन्।

छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो।

समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ भने दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। जित विहीन चाइनिज ताइपेइ अंक विहीन छ। छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा सक्नेछ।

हेड टु हेड
नेपाल र जोर्डनबीच अहिलेसम्म ३ पटक भेट भएको छ। अहिलेसम्मको तिनै भेटमा नेपालले जोर्डनलाई हराउन सकेको छैन। यी दुई टोलीको पहिलो भेट विश्वकप छनोट कै दौरान सन् २०११ मा भएको थियो।

२३ जुलाई २०११ मा भएको विश्वकप छनोटको खेलमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो। २८ जुलाईमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। काठमाडौंको दशरथ रथंशालामा भएको सो खेलमा नेपालका लागि फरवर्ड भरत खवासले गोल गरेका थिए। जोर्डनलाई बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

यस्तै सन् २०१९ को १५ अक्टोबरमा नेपाल र जोर्डनको तेस्रो भेट भएको थियो। फिफा विश्वकप छनोट अन्तर्गत कै पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .