कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकिय साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्ससामु २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले टि-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा कुनैपनि टोलीलाई दिएको यो सर्वाधिक विशाल लक्ष्य हो।
नेपालले यसअघि घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा २ सय ३६ रनको लक्ष्य दिएको थियो।
पहिलो पटक घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको उपाधि घरमै राख्ने लक्ष्यमा नेपाली टोली रहेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको योगफल तयार पारेको हो।
तेस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले ७६ रनको साझेदारी गरेका थिए। ५३ बलको सामना गरेका कुशल भुर्तेलले ८ चौका र ३ छक्का मद्धतमा ७७ रनको महत्वपुर्ण योगदान दिएका थिए।
उनी नेपालबाट एकै सिरजमा सर्वाधिक धेरै रन बनाउने पहिलो खेलाडी समेत बनेका छन्। कुशलले सिरिजमा चौथो अर्धशतक हान्दै किर्तिमान कायम गरेका हुन्। यसअघिको खेलमा उनले लगातार अर्धशतक पुरा गरेका थिए। मलेसियासँगको चौथो खेलमा भने कुशल १६ बलमै पवेलियन फर्केका थिए।
चौथो विकेटका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरि र कुशल मल्लले ७५ रनको साझेदारी गरे।
कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्कामा ५० रनमा नटआउट रहे। उपकप्तान दिपेन्द्र सिंह ऐरि ४८ रनमा अविजित रहे। १८ बलको सामना गरेका दिपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे। १९ बलको सामना गरेका कप्तान मल्लले ३३ रनको योगदान दिए। १९ बलको सामना गरेका उनले ३ चौका र २ छक्का हाने। उनी नवौ ओभरको तेस्रो बलमा क्याच आउट हुन पुगे।
त्यसअघि अर्को ओपनर आसिफ शेखले १६ रन जोडे। भुर्तेल र शेखले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे। ८ बलमा १ चौका र २ छक्का हानेका उनी दोस्रो ओभरको दोस्रो बलमा क्याच आउट भए।
नेदरल्याण्ड्सका फिलिप बोसिभेनले २ तथा सबस्टीयन ब्राटले भने एक विकेट लिए।
कुशल मल्लको अर्धशतक
अलराउण्डर कुशल मल्लले पनि काठमाडौमा जारी त्रिकोणात्मक सिरिजमा अर्धशतक पुरा गरेका छन्। मल्लले २४ बलमा २ चौका र ५ छक्का मद्धतमा अधशतक पुरा गरेका हुन्।
उनले १९ ओभरको पहलिो बलमा अर्धशतक पुरा गरेका हुन्। कुशलले आफ्नो करियरको पहिलो अर्धशतक हानेका हुन्।
यो सँगै उनी नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडीको तेस्रो स्थानमा रहे।
यसअघि नेपालबाट कप्तान ज्ञानेन्द्र मल्लले मलेसियाविरुद्धको खेलमा २० बलमा अर्धशतक पुरा गरेका थिए।
प्रतिक्रिया