चितवन प्रहरीले वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिगका खेलमा इन्टरनेटबाटै सट्टेबाजी गरिरहेका चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार नवलपरासी गैँडाकोटका २८ वर्षीय सविन कंडेल, सोही स्थानका राजेश सिग्देल, चितवन भरतपुर महानगर ७ का २२ वर्षीय रिनाज आचार्य र सोही स्थानका २८ वर्षीय सन्जिल लामिछाने पक्राउ परेका हुन्।
उनीहरुले सीपीएलमा बाजी राख्न नेपालमै बसेर इन्टरनेट ब्राउजर ‘डायमन्ड एक्सचेन्ज डटकम’लगायतका यूआरएल प्रयोग गरी विभिन्न ब्रोकरमार्फत आआफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गरी सट्टेबाजी गर्ने गरेका थिए। त्यसमा हारजित हुने गरी अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले यही भदौ २० र २१ गते चितवनबाट उनीहरुलाई पक्राउ गरेको जिप्रका चितवनले जनाएको छ।
उनीहरुको साथबाट १ लाख ७२ हजार ५ सय रुपैयाँ, सट्टेबाजीमा संलग्न मोबाइलहरुसमेत बरामद भएको छ। उनीहरुलाई चितवन जिल्ला अदालत पेस गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया