बेलायतको सुटिङ खेलको राष्ट्रिय टोलीमा भूतपूर्व ब्रिटिस गोरखा सैनिक विनोद बुढाथोकी पनि परेका छन्।
बेलायतको सरकारी सुटिङ संस्था ब्रिटिस सुटिङले मंगलबार सार्वजनिक गरेको ४२ सदस्यीय टोलीमा बुढाथोकीको नाम पनि समावेश पाइएको हो।
बेलायतको राष्ट्रिय टोलीमा पर्न सफल भएकामा खुसी व्यक्त गर्दै बुढाथोकीले नेपालखबरसँग भने, ‘बेलायतको राष्ट्रिय टिममा पर्नु शौभाग्यको कुरा हो। मैले अझ धेरै मिहिनेत गर्नुछ।’
राष्ट्रिय टिममा समावेश भए पनि उनले अर्को वर्ष टोकियोमा हुने ओलम्पिक र पाराओलम्पिकलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेबारे अझै टुंगो लागिसकेको छैन।
तर उनले आफ्नो खेलमा सुधार ल्याउन सके भने सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा बेलायतको प्रतिनिधित्व गर्न पाउने छन्।
ओलम्पिकका लागि अत्यन्तै कडा प्रतिस्पर्धा हुने बताउँदै बुढाथोकीले भने, ‘मलाई प्रशिक्षकले अर्को ओलम्पिकका लागि भन्नुभएको छ तर अहिले मैले राम्रो गर्न सकें भने सन् २०२१ को ओलम्पिकका लागि छानिन पनि सक्छु।’
पुर्ख्याैली घर गुल्मीको भार्सेमा रहेका बुढाथोकीले सन् २०१० मा बेलायती सेनाका तर्फबाट अफगानिस्तानमा खटिँदा दुर्भाग्यवश विस्फोटक पदार्थमा टेकिँदा दुवै खुट्टा गुमाएका थिए। तर पनि उनले कहिल्यै हिम्मत हारेनन्।
उपचारपछि बिस्तारै उनले हातले चलाउने साइक्लिङलगायत विभिन्न खेल खेल्न सुरु गरे। तर उनले सुटिङ खेलप्रतिको आफ्नो चाहनालाई कहिल्यै मर्न दिएनन्। सुटिङप्रतिको अद्भूत मोहले गर्दा मिहिनेत गर्दै गए। अन्ततः उनी खेलमा निकै सुधार ल्याउन सफल भए।
यसैबीच सन् २०१६ को रियो ओलम्पिकमा उनलाई भविष्यको बेलायतको खेलाडीका रूपमा लगियो। सो समय उनले विभिन्न अन्तर्राष्ट्रिय खेलाडीको खेललाई नजिकबाट नियालेर हेर्ने मौका पाए। र, आफ्नो खेलमा पनि सुधार ल्याई अन्ततः बेलायतको राष्ट्रिय टोलीमा पर्न सफल भए।
उनले जीवनको विषम परिस्थितिमा पनि हार खाएनन्, युद्धमा दुवै खुट्टा गुमाउँदाको पीडामा पनि आफ्नो मनलाई दह्रो बनाएर निरन्तर कडा मिहिनेत गर्दै अगाडि बढे।
उनी भन्छन्, ‘मिहिनेतले नै सफलताको शिखरमा उक्लिन सकिन्छ। म अहिले कोरोनाका कारण घरमै बसेर दैनिक २ घण्टा तालिम गर्ने गर्छु।’
प्रतिक्रिया