‘घरमा हुँदा जीवन कठिन थियो। बाआमा दुवै हुनुहुन्न। दाईको कमाईमा ५ जना पालिनुपर्ने अवस्था थियो। अभावमा हुर्केको हुँ। यहाँ आएपछि मेरो जीवनले नै अर्कै मोड लियो। फुटबलको नियमित प्रशिक्षण लिइरहेको छु र सँगसँगै १२ कक्षामा अध्ययन पनि गरिरहेको छु।’
पोखराको सहारा क्लबले सञ्चालन गरेको एकेडेमीमा रहेका सुर्खेत वीरेन्द्रनगरका कमल सोमई मगरले आफ्नो विगत र वर्तमान सुनाए।
उनी एक उदाहारण मात्रै हुन्। पोखराको दोब्बिलामा रहेको सहारा एकेडेमीमा २४ जना आश्रित छन्। सबैका आ–आफ्नै कथा छन्।
एकेडेमीमा रहेकाको सबै जिम्मेवारी क्लबले लिएको छ। उनीहरुको खाना, आवास, अध्ययन, प्रशिक्षणलगायत सबै क्लबले नै गर्छ। एकेडेमीमा अहिले रहेका बालक तथा किशोरमध्ये तेस्रो ब्याचका हुन्। त्यहाँ आबद्ध हुनेहरु फरकफरक पृष्ठभूमीका छन्।
एकेडेमी सञ्चालनका लागि फुटबल प्रतियोगिताको आयोजना एउटा माध्यम हो। अनाथलाई आश्रय दिनु क्लबको मुख्य लक्ष्य हो। आमा र बाबुमध्ये एक नहुनेले मात्र सहारामा आश्रय पाउने गर्छन्।
सम्बन्धित स्थानीय निकायको सिफारिसपछि मात्र कुनै बालकले त्यहाँ प्रवेश पाउँछन्। त्यहाँ पुगेपछि सबैजनालाई क्लबका आफ्नै बालक सरह व्यवहार गरिन्छ।
२ दाजु र २ दिदीका कान्छा भाई कमलले आफ्नो जीवनमा यति ठूलो परिवर्तन होला भन्ने सोचेका पनि थिएनन्। पोखरामै रहेका आफन्तले सहाराको बारेमा जानकारी दिएपछि आफ्ना दाजुले आफुलाई त्यहाँ लगेको कमल स्मरण गर्छन्।
७ वर्षअघि सहाराको आश्रय लिएका १७–वर्षे कमल १२ कक्षामा अध्ययनरत् छन्। सहारामा आएपछि आफुले कहिल्यै अभाव महसुस गर्नुनपरेको सुनाए।
क्लबले प्रत्येक वर्ष आयोजना गर्ने आहारारा गोल्डकपमा यसपटक उनले सहाराबाट डेब्यू गरेका थिए। उनीसहित ६ खेलाडीले एकैपटक सो क्लबबाट पहिलो खेल (डेब्यू) खेलेका हुन्।
सुर्खेतमा हुँदाको उनको पृष्ठभूमि पनि फुटबलसँगै जोडिएको छ।
‘साथीहरुसँग पैसा उठाएर बारीमा फुटबल खेल्थ्यौं, खेल्ने क्रममा कैयौंपटक लडेको, पछारिएको, र बिभिन्नखाले घट्नाको अहिले पनि सम्झना आउँछ,’ उनले भने।
पोखरा रगंशालामा सहाराका लागि खेल्दा उनलाई सपना जस्तो अनुभव भयो।
‘सहाराले मलाई यहाँ राखेर देखेको सपना पुरा गर्ने क्रममा छु। यो सुरुवात हो। धेरै गर्न बाँकी छ,’ उनले अहिले फुटबलबाहेक केहि नसोचेको बताए। फुटबलमा राम्रो गर्न नसकेको खण्डमा मात्र अरु सोच्ने उनले बताए। ‘फुटबलमा राम्रो गर्न सकिन भने लोकसेवा लड्छु,’ उनले संभावित विकल्प सुनाए।
कमललाई लिभरपुलका स्टार मोहम्मद सलाह र बार्सिलोनाका पूर्वस्टार आन्द्रे इनियस्टा मनपर्ने खेलाडी हुन्।
नेपाली खेलाडीमा रोहित चन्द उनका रोल मोडल हुन्। झन्डै दशकदेखि विदेशी लिगमा खेलिरहेका रोहित पनि सुर्खेत कै हुन्। राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित एन्फा एकेडेमीका उत्पादन हुन्।
‘आफ्नै ठाउँको दाइ हो। उहाँको खेल मनपर्छ। उहाँमा खेलप्रति दृढता छ, उहाँजस्तै बन्न धेरै मेहनत गरिरहेको छु,’ उनले सुनाए।
कमलले सहारामा सहारा नपाएको भए आफ्नो जीवन कठिन अवस्थामा हुने उनी अनुमान गर्छन्। ‘सहारामा नआएको भए सायद अहिले श्रमिक हुन्थेँ होला। त्यस्तै केही काम गरिहेको हुन्थेँ होला,’ उनी अनुमान गर्छन्।
सहाराका कारण आफ्नो जीवन र सपना दुवै बदलिएको ठान्छन् कमल। एकेडेमीले आपूmलाई फुटबलको सीप दिएको र आफूले त्यसको सक्दो सदुपयोग गर्ने उनको प्रतिज्ञा छ।
‘यहिँ बसेर अध्ययन पनि गरिरहेको छु। खेलाडीकै क्लबका लागि केहि गर्ने चाहना छ। यदि सकिन भने सरकारी सेवामा गएर पनि क्लबलाई सहयोग त गर्छु नै,’ उनले आफ्नो प्रतिबद्धता व्यक्त गरे।
कमलसँगै आहारारा गोल्डकप खेलेका चितवन कुरिनटारका प्रमिश गुरुङ १५ वर्षका भए। उनी ११ कक्षामा अध्ययन गरिरहेका छन्। घरमा हुँदा पनि फुटबल खेल्थे तर एकेडेमीमा आएपछी नियमित खेल्न थाले।
‘यहाँ आएर धेरै सिकें,’ प्रमिशले भने, ‘फुटबल मेरो लागि प्यासन (लगाव) हो। घरमा भएको भए पनि फुटबल खेल्थेँ होला तर यहाँ हुँदा जस्तो अवसर पाउन कठिन थियो।’
भविष्यमा सेनामा जाने लक्ष्य राखेका प्रमिशले राष्ट्रिय टोलीबाट खेल्न प्रयास गर्ने बताए। सहाराबाट आहारारा खेल्दा निकै खुसी लागेको उनले बताए।
४ वर्षदेखि एकेडेमीमा बस्दै आएका १६ वर्षे शीशिर क्षत्री पर्वत कार्कीनेटाका हुन्। एकेडेमी पुगेपछि मात्र फुटबल खेल्न थालेका उनले आफूमा आत्मविश्वास बढेको अनुभूति सुनाए।
‘सहाराबाट डेब्यू गर्न पाएँ। राष्ट्रिय टोलीका दाईहरुसँग खेल्न सुरुमा डर लागेको थियो, तर मैदानभित्र त्यस्तो महशुस गरिन,’ उनले बताए।
युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका प्रशंसक शीशिरलाई नेपालका सुनिल बल र निति थापा मनपर्ने खेलाडी हुन्। घरमा हुँदा लाहुरे बन्ने सपना देखेपनि अब भने लक्ष्य बदलिएको सुनाउँदै उनले भने राष्ट्रिय टोलीबाट खेल्ने सपना रहेको बताए।
कास्कीको निर्मलपोखरीका १६ वर्षे अभिषेक रानामगर सहाराकै उत्पादन हुन्। सहाराको जर्सी लगाउँदा गौरव अनुभूती भएको सुनाउँदै उनले भने, ‘पहिले भलिबल खेल्थेँ। यहाँ आएपछि फुटबल खेल्न थालेँ। ब्राजिलका स्टार खेलाडी नेयमार र नेपालका नवयुग श्रेष्ठजस्तो बन्न चाहन्छु। अहिले फुटबलबाहेक केहि सोचेको छैन,’ अभिषेक भन्छन्।
६ वर्षदेखि एकेडेमीमा रहेका ताप्लेजुङका अनिष लिम्बु १० कक्षामा अध्ययरत छन्। कास्की लिगको अनुभव बटुले पनि आहारारा गोल्डकप जस्तो ठूलो प्रतियोगिता पहिलो पटक खेलेका थिए।
‘राष्ट्रिय खेलाडीहरुसँग खेल्ने मौका पाएँ। सुरुमा खेल्दा त केही लागेन तर खेलेर मैदानबाहिर आएपछि धेरैले प्रशंसा गरेको सुन्दा गर्व लाग्यो। क्लबप्रति कृतज्ञ छु। घरमा लाइभ हेर्नुभएको रहेछ, सबैले राम्रो भन्नुभयो,’ उनले सुनाए।
सहारा एकेडेमी
सहारा क्लबले २०५८ सालबाट आफ्नै एकेडेमी स्थापना गर्यो। सुरुको दुई वर्ष प्रशिक्षणको व्यवस्थापन मात्र गरेको क्लबले २०६० बाट आवासीय रुपमा सानै उमेरका बालकहरुलाई राख्न थालेको हो।
२०६१ सालबाट भने यसले कठिन परिस्थितीका २० जना बालकहरु राख्नथाल्यो। राष्ट्रिय टोलीका पुर्वकप्तान अनिल गुरुङ, अहिले एकेडेमीकै प्रशिक्षक विष्णु गुरुङ सहाराको पहिलो ब्याचका खेलाडी हुन्। अजित भण्डारी, सुशिल लामा, लक्ष्मण जि.सी, नविन श्रेष्ठलगायत सहाराले पछि उत्पादन गरेका खेलाडी हुन्।
सहाराले २०६२ सालमा पोखराको दोविल्लामा एकेडेमीसहित फुटबल मैदानका लागि जग्गा खरिद गरी भवन निर्माण गर्नुका साथै मैदान तयार पार्यो। अहिले तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन्।
विगत २०७० सालदेखि दोविल्लामा सञ्चालित एकेडेमीले आवासीय रुपमा निःशुल्क शिक्षा, स्वास्थ्य लगायत फुटबल प्रशिक्षण समेत दिदै आएको छ।
Shares
प्रतिक्रिया