ad ad

खेल


खेलकुद परिषदको सदस्य–सचिवका लागि नेकपामा तीन जनाको प्रतिस्पर्धा

खेलकुद परिषदको सदस्य–सचिवका लागि नेकपामा तीन जनाको प्रतिस्पर्धा

मणि दाहाल
असार १४, २०७६ शनिबार ७:४८,

राष्ट्रिय खेलकुद परिषदको सदस्य–सचिवका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र दौड शुरु भएको छ। दौडमा निवर्तमान सदस्य सचिव केशवबहादुर विष्ट लगायत अन्य नेताहरु सामेल भएका छन्।

नेकपाका भ्रातृ संगठन अखिल नेपाल खेलकुद महासंघका सह संयोजक शिव कोइराला (ज्वाला), दानबहादुर तामाङ, रमेश सिलवाल, पिताम्बर तिमिल्सिना, विनोद ढकाल लगायतका नेताहरु पनि यो पदका आकांक्षी हुन्।

कोइराला नेपाल तेक्वान्दो संघका अध्यक्ष भने तामाङ भलिबल संघका पूर्व अध्यक्ष हुन्। तिमिल्सिना परिषदका निवर्तमान उपाध्यक्ष हुन् भने गोल्डेनगेट कलेजका सञ्चालक रहेका सिलवाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष हुन्। ढकाल भने नेकपाका मोरङ जिल्ला अध्यक्ष छन्।

स्रोतका अनुसार, निवर्तमान उपाध्यक्ष तिमिल्सिनाले विहीबार (१२ असार) खेलसँग सम्बद्ध नेताहरुलाई भेटेर सदस्य सचिवका लागि आफू प्रतिस्पर्धाबाट पछि हटेको जानकारी गराएका छन्। त्यसयता सो जिम्मेवारीका लागि विष्ट, कोइराला र तामाङमात्र प्रतिस्पर्धामा रहेको मानिएको छ।

सिलवाल नेपाल क्रिकेट संघभित्र रहेको विवादका एउटा मुख्यपात्र भएकाले उनलाई नेकपाको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघका नेताहरुले रुचाएका छैनन्। २०४७ सालमा तत्कालिन नेकपा (माले) ले केपी शर्मा ओलीको संयोजकत्वमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ स्थापना गर्दा सिलवाल केन्द्रीय सदस्य थिए।

विष्टको असार ९ मा पाँच वर्षे कार्यकाल समाप्त भएपछि सदस्य सचिवका पद रिक्त रहेको छ। सुशील कोइरालाको नेतृत्वका सरकारका पालामा विष्ट परिषदको सदस्य सचिव बनेका थिए।

एमालेको तर्फबाट युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई वेवास्ता गर्दै विष्टलाई सदस्य सचिव बनाएका थिए। यो विषयले तत्कालीन एमालेभित्र विवादको रुप लिएको थियो। पौडेल हाल नेकपाका भ्रातृ संगठन अखिल नेपाल खेलकुद महासंघका संयोजक छन्।

नयाँ नियुक्त गरिने सदस्य सचिवको मापदण्डका बारेमा पार्टी र सरकारलाई महासंघको तर्फबाट तीन सुझाव दिइएको पौडेलले बताए।

‘खेलकुद क्षेत्रलाई राम्रोसँग बुझेको, खेलाडी चिनेको र संगठनसँग समन्वय गर्न सक्ने व्यक्तिलाई सदस्य सचिव बनाउँदा उपयुक्त हुनेसुझाव दिएका छौँ’ पौडेलले भने, ‘परिषदले सदस्य सचिव चाँडै पाउनु पर्छ। दक्षिण एशियाली खेलकुद (साग) को तयारी तीव्र रुपमा अघि बढाउनु पर्ने भएकाले सदस्य सचिवको जिम्मेवारी खाली राख्नु हुँदैन।’

दक्षिण एसियाली खेलकुद प्रतियोगिता १५–२४ मंसिरमा काठमाडौँमा हुने कार्यक्रम छ।

मन्त्रिस्तरीय निर्णयबाट सदस्य सचिवका नियुक्ति विषयमा हुने भएपनि खेलकुदमा धेरै अधिकार रहेको सदस्य सचिव नियुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  दुवैको चासो रहेको महासंघका नेताहरु बताउँछन्।

‘दुबै नेताहरुमा खेलकुदमा नेतृत्वको बारेमा चासो रहेको छ। त्यसैले मन्त्रीले मात्रै चाहँदैमा सदस्य सचिवको नियुक्ति हुनसक्ने सम्भावना छैन’ स्रोतले भन्यो, ‘शीर्ष नेतृत्व तहबाट यसका टुङ्गो लाग्ने स्थिति छ।’

‘मनी’ र ‘मसल’ दुबै हुने भएकाले परिषदको कार्यकारी अधिकार रहने भएकाले परिषदको सदस्य सचिवमा आफू अनुकूलको व्यक्ति पठाउन नेताहरुको विशेष चासो हुने गरेको छ।

केही दिनअघि आयोजना गरिएको एक कार्यक्रममा विष्टले आफूले उत्कृष्ट काम गरेको दावी गर्दैसदस्य सचिवका जिम्मेवारीमा दोहोरिन चाहेको बताएका थिए।

‘राजनीतिक आधारमा सदस्य सचिवको नियुक्ति हुने हो, पार्टीले जिम्मेवारी दियो भने मैले त्यसलाई ग्रहण गर्नुपर्छ, दिएन भने म अन्य भूमिकामा हुन सक्छु’ विष्टले भने, ‘मैले आजसम्म लिएका जिम्मेवारीमा उत्कृष्ट भएको छु। पुनः सदस्य सचिवको जिम्मेवारी पाएँ भने ‘साग’ को आगामी प्रतियोगिता अझै उत्कृष्ट र भव्य बनाउँछु।’

सदस्य सचिवका दौडमा रहेका अर्को नेता कोइरालाले संगठनभित्रका सिनियर व्यक्ति भएकाले दावी रहेको बताए।

‘खेलकुद क्षेत्रमा सक्रिय भएर लागेको धेरै नेताहरु योग्य हुनुहुन्छ, उहाँहरुमध्ये जो सदस्य सचिव बनेपनि संगठनभित्रैबाट बन्नु पर्छ, नेकपाभित्रैकै हुनुपर्छ, बाहिरका व्यक्ति भए महासंघलाई स्वीकार्य हुँदैन’ कोइरालाले भने, ‘संगठनका संयोजक मन्त्री भैसक्नु भएकाले सदस्य सचिवमा उहाँको दावी छैन, म संगठनको सह संयोजक हुँ, पार्टीले जिम्मेवारी दिएकाले खेलकुदमा काम गरेको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .