ad ad

खेल


आईसीसी विश्वकप छनोट खेल्ने टोलीबाट बाहिरिए सोमपाल

आईसीसी विश्वकप छनोट खेल्ने टोलीबाट बाहिरिए सोमपाल

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार ७:३६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी आईसीसी विश्वकप छनोट खेल्ने टोलीबाट बाहिरिएका छन्। 

गत आइतबार जिम्बावेसँग प्रतिस्पर्धाका क्रममा चोट लागेपछि सोमपाल टोलीबाट बाहिरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ। 

सोमपालको स्थान अर्का तीव्र गतिका बलर किशोर महतोले लिनेछन्। किशोर टोलीसँगै जिम्बावेमा रहे पनि अन्तिम १५ मा अटाएका थिएनन्।

जिम्बावेविरुद्ध ३४औं ओभरको तेस्रो बलमा सोमपालको दायाँ हातको बुढी औंलामा चोट लागेको हो। उनको हातमा टाँका लगाइएको छ। 

हाल जिम्बावेमा रहेको नेपाली टोली विश्वकप छनोट प्रतिस्पर्धाबाट बाहिरिसकेको छ। नेपालले अब समूह चरणबाट बाहिरिएका चार टोलीसँग ७ देखि १०औं स्थानका लागि प्लेअफ खेल्ने भएको हो।

प्ले अफ  ३० जुनदेखि ६ जुलाईसम्म हुनेछ। प्लेअफमा नेपालले आयरल्यान्ड र यूएईमध्ये एक टोलीसँग २ जुलाईमा खेल्नेछ। सो खेलमा नेपाल विजयी भए सातौं स्थानका लागि खेल्नेछ। हारेको अवस्थामा भने नवौं स्थानका लागि खेल्नुपर्नेछ। 

छनोटको पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित नेपाली टोलीले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।

तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित टोली समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले हारेपछि समूह एबाट बाहिरिएको हो। 

अमेरिकाले ३० जुनमा समूह बीको चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ। विजेता टोलीले सातौं र पराजित टोलीले नवौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .