ad ad

समाज


देशभर वर्षासँगै तराईमा हावाहुरीको पनि सम्भावना, होसियारी आवश्यक

देशभर वर्षासँगै तराईमा हावाहुरीको पनि सम्भावना, होसियारी आवश्यक

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार १२, २०८० मंगलबार ८:१५, काठमाडौँ

आज (मंगलबार) पनि देशभर वर्षा हुने तथा तराईमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले (बिहान) पनि देशभर मौसम बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

काठमाडौं उपत्यकामा पनि बिहानै वर्षा भएको तर अहिले रोकिएको उनले बताए। ‘दिउँसो अपराह्नतिर फेरि हल्का वर्षाको सम्भावना छ’, उनले भने। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  कोशी,  बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी र बागमती  प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ। 

‘तराईमा आज हिजोअस्तिको भन्दा वेगको हावाहुरी आउने सम्भावना देखिएको छ’, मौसमविद् झाले नेपालखबरसँग भने, ‘तराईमा वर्षाको पनि सम्भावना छ, त्यसैले होसियारी आवश्यक छ।’

महाशाखाको बुलेटिनअनुसार आज राति पनि देशका विभिन्न स्थानमा वर्षा तथा तराईमा हावाहुरी आउने सम्भावना छ। 

राति कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ। यस क्रममा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै मधेश प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी,  बागमती, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै यिनै प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  र मधेश प्रदेशमा र कोशी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। भारी वर्षा, मेघगर्जन÷चट्याङ र हावाहुरीका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।  

हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको बुलेटिन– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .