साविक विजेता मछिन्द्र फुटबल क्लब शहिद स्मारक ए डिभिजन लिगको उपविजेतामा सिमित भएको छ।
बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै मछिन्द्र एक खेल अगावै उपविजेता बनेको हो। त्रिपुरेश्रस्थित दशरथ रंगशालामा मछिन्द्रले शेर्पालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको २६ औं मिनेटमा विमल घर्तिमगरको उत्कृष्ट हेडर गोलमा मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो। खेलको ७० औं मिनेटमा अफिज ओलावालेको गोलमा मछिन्द्रले अग्रता दोब्बर पार्यो।
खेलको ७५ औं मिनेटमा अफिज ओलावालेको पेनाल्टीमा मछिन्द्रले अग्रता फराकिलो पार्यो। पेनाल्टी एरियामा शेर्पाका खेलाडीले अनावश्यक फउल गरेपछि रेफ्रिले मछिन्द्रलाई पेनाल्टी अवसर दिएका थिए।
खेतलको ८३ औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रातो कार्ड खाँदै मैदान छाडे। गोलरक्षक विशालले फाकुनलाई फउल गरेपछि रेफ्रिले पहिले पँहेलो कार्ड र दोस्रो पटक रातो कार्ड देखाए।
रेफ्रिले विशाललाई रातो कार्ड नदिएको भन्दै दुई टोलीका खेलाडीहरुले हात हालाहाल गरेका थिए। केहीबेर तनाव भएको खेलमा शेर्पाका निशाल लिम्बुले सिधै रातो कार्ड पाए।
खेलको ९० औं मिनेटमा शेर्पाका पिष्टोन भुन्योलीले फ्रिकीकमा सिधै गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।
मछिन्द्रले २५ खेलमा ११ मा जित, ९ मा बराबरी र ५ खेलमा हार भोग्दै ४२ अंक बनाएको छ। समान खखेलबाट नेपाल पुलिस क्लबले ३८ बनाएको छ। लिगको अन्तिम खेलमा मछिन्द्रले हार भोगेको र पुलिस क्लबले जित निकालेको अवस्थामा पनि अंक तालिकामा पुलिस १ अंकले पछि पर्नेछ।
यसअघि लगातार दुइ पटक लिग च्याम्पियन बनेको मछिन्द्र यो सिजन उपाधि ह्याट्रिक गर्नबाट चुकेको छ।
उपविजेता बनेको मछिन्द्रले आगामी सिजनको एएफसी क्लब च्याम्पियनसिप भने खेल्नेछ। मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज युनाइटेड क्लब एक खेल अगावै आफ्नो पहिलो सिजनमा नै च्याम्पियन बनेको थियो।
लिग विजेता चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएका कारण उसको स्थानमा मछिन्द्रले खेल्न लागेको हो। अंक तालिकामा एएफसी क्लब लाइसेन्स भएका अन्य क्लबभन्दा शीर्ष स्थानमा रहेको कारण मछिन्द्रले च्याम्पियनसिप खेल्न लागेको हो। ए डिभिजनका १४ मध्य ३ क्लबसँग मात्र एएफसी क्लब लाइसेन्स छ।
Shares
प्रतिक्रिया