ad ad

खेल


क्रिजमा जम्दै ज्ञानेन्द्र

क्रिजमा जम्दै ज्ञानेन्द्र

यज्ञराज जोशी
पुस ५, २०७६ शनिबार १७:२५,

गत कार्तिकमा राष्ट्रिय क्रिकेट टोलीको कप्तानी ज्ञानेन्द्र मल्ललाई दिने नेपाल क्रिकेट संघको निर्णयको स्वागत र आलोचना दुबै भयो।

एकातर्फ एकदशक राष्ट्रिय टोलीको उपकप्तान रहिसके पछि ज्ञानेन्द्रले कप्तानी पाउनु स्वभाविक ठानेँ। अर्कातर्फ लगातार खराब लयबाट गुज्रिरहेका ज्ञानेन्द्रलाई कप्तानी दिन नहुने मत पनि उत्तिकै थियो।

ज्ञानेन्द्र कप्तान हुनुअघि २०१८ जनवरी यता नेपाली टिमबाट खेलेका ९ प्रतियोगितामा उनको ब्याटिङ औषत हेर्ने हो भने टिठलाग्दो छ। त्यति दयनीय लयलाई टेक्दै आधुनिक नेपाली क्रिकेटका कलात्मक यी ब्याट्सम्यानको बेला बेला आलोचना हुने गर्छ।

ती ९ मध्ये २०१८ अक्टोबरमा भएको आइसीसी विश्व टि–२० छनौट, एसिया क्षेत्र बी मात्रै त्यस्तो एक प्रतियोगिता हो, जसमा ज्ञानेन्द्रको औषतले ३४ छोएको छ। उक्त प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर देशहरु(मलेसिया, थाइल्याण्ड, भुटान, चीन, सिंगापुर)सँग खेल्दा ज्ञानेन्द्रको ब्याट चलेको भन्दै आलोचना गर्नेको पनि कमी छैन। नत्र त्यसबाहेकका अरु सबै प्रतियोगितामा ज्ञानेन्द्रको ब्याटिङ औषत ३४ भन्दा कम छ।

gyanendra mallaकप्तान हुनुअघि २०१८ जनवरी यता नेपाली टिमबाट खेलेका ९ प्रतियोगितामा ज्ञानेन्द्रको औषत न्यून छ

ज्ञानेन्द्र आफ्नो लयलाई लिएर आउने आलोचनालाई लिएर स्वयम जानकार छन। भन्छन्, ‘टिमको सिनियर खेलाडीका नाताले रन बनाउन नसक्दा आलोचना हुनु स्वभाविक हो। म आफूले सक्दो प्रयास गरिरहेको हुन्छु। सुरुवात गरेपनि तर, मेरो ब्याडलक भन्नुपर्छ त्यसलाई लामो इनिङ्समा कन्भर्ट गर्न सकिरहेको हुन्न।’

२०१८ को प्रारम्भ नेपालले फ्रेब्रुअरीमा डिभिजन दुई खेलेर गरेको थियो। सोही प्रतियोगिताबाट नेपाल अर्को महिना भएको विश्वकप छनोटमा पुग्यो। त्यही विश्वकप छनोटको शीर्ष आठमा रहेपछि नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पायो।

यी दुबै प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शनले नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको थियो। तर, दुवै प्रतियोगितामा ज्ञानेन्द्रको प्रदर्शन भने सम्झन लायक रहेन। डिभिजन दुईको ६ खेलमा ६ इनिङ्स खेल्दा ज्ञानेन्द्रले ६९ रनमात्रै जोड्न सकेँ। उनको औषत ११.५० को मात्रै थियो।

यस्तै विश्वकप छनोटमा पनि उनको कथा उस्तै रह्यो। उनले ६ खेलको त्यत्तिकै इनिङ्समा १२.१६को औषतले ७३ रनमात्रै जोड्न सके।

पारस खड्काले राष्ट्रिय टोलीबाट कप्तानी छाडेपछि आफूले पाउनुअघि उनले उपकप्तानका रुपमा खेलेको अन्तिम प्रतियोगिता २०१९ जुलाईमा भएको आइसीसी विश्व टि–२० एसिया छनोट थियो। जसमा अनपेक्षित रुपमा सिंगापुरसँग स्तब्ध बनेपछि नेपाल टि–२० विश्वकपको विश्व छनोटमा पुग्न असफल भएको थियो। उक्त प्रतियोगितामा पनि ज्ञानेन्द्रको औषत जम्मा ३३ थियो। उनले ४ खेलको ४ इनिङ्समै ब्याटिङ गरेर १३२ रनमात्रै जोडेका थिए।

२०१८ जनवरीदेखि ज्ञानेन्द्र कप्तानमा नियुक्त(२०१९ अक्टोबर) हुनुअघि उनको प्रदर्शन

१) २०१८ फ्रेब्रुअरीः आइसीसी विश्व क्रिकेट डिभिजन दुई (५० ओभर)
६ खेल, ६ इनिङ्स, ६९ रन – औषतः ११.५०

२) २०१८ मार्चः आइसीसी विश्वकप क्वालिफायर (५० ओभर)
६ खेल, ६ इनिङ्स, ७३ रन – औषतः १२.१६

३) २०१८ अगष्टः नेपाल भर्सेस नेदरल्याण्ड्स सिरिज (५० ओभर)
२ खेल, २ इनिङ्स, ६४ रन – औषतः ३२.००

४) २०१८ अगष्टः एसिया कप क्वालिफायर(५० ओभर)
५ खेल, ५ इनिङ्स, १०१ रन – औषतः २४.२५

५) २०१८ अक्टोबरः आइसीसी विश्व टि–२० छनौट, एसिया क्षेत्र बी (२० ओभर)
५ खेल, २ इनिङ्स, ३४ रन – औषतः ३४.००

६) २०१९ जनवरीः नेपाल भर्सेस यूएई शृंखला (५० ओभर)
३ खेल, ३ इनिङ्स, ७५ रन – औषतः २५

७) २०१९ जनवरीः नेपाल भर्सेस यूएई शृंखला (२० ओभर)
३ खेल, ३ इनिङ्स, २५ रन – औषतः ८.३३

८) २०१९ जुलाईः नेपालको मलेसिया भ्रमण (२० ओभर)
२ खेल, २ इनिङ्स, १४ रन – औषतः ७

९) २०१९ जुलाईः आइसीसी विश्व टि–२० एसिया छनोट (२० ओभर)
४ खेल, ४ इनिङ्स, १३२ रन – औषतः ३३

खराब लयका बाबजुद असोजमा पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छाड्ने घोषणा गरेसँगै भर्खरै निलम्बन फुकुवा भएको नेपाल क्रिकेट संघले ज्ञानेन्द्रलाई अर्को निर्णय नभएसम्मका लागि कप्तान घोषणा गर्यो।

भर्खरै छोरीका पिता बनेका ज्ञानेन्द्रले एकदशक पछि उपकप्तानीबाट भएको बढुवालाई सहजै स्वीकारे। लगत्तै बेलायतको प्रशिद्ध मेरिलोबन क्रिकेट क्लब(एमसीसी)को पूर्व निर्धारित कार्यक्रम अनुसार त्रिवि मैदानमा नेपाल र एमसीसीबीच एकदिवसीय र प्रथम श्रेणीको क्रिकेट हुने तय थियो।

नयाँ कप्तान ज्ञानेन्द्रको कप्तानीमा एमसीसीविरुद्ध नेपाली टोली मैदानमा उत्रियो। तर, नयाँ जिम्मेवारीको उत्साहले पनि ज्ञानेन्द्रको लय फर्काउन सकेँन। एमसीसीविरुद्धको एकदिवसीयमा १० रनमात्रै जोड्न सकेका ज्ञानेन्द्रले दुई दिवसीयको दुवै इनिङ्समा जम्मा ६ रनमात्रै जोड्न सकेँ। यसले उनका आलोचकको स्वर अझै चर्को बनायो।

कप्तान नै परिवर्तन गर्नुपर्ने आवाज मैदान बाहिरबाट उठेपनि सोही महिना बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा ज्ञानेन्द्रकै कप्तानीमा नेपाली युवा टोलीको घोषणा भयो। कप्तान बनेपछि ज्ञानेन्द्रले हाकेँको यो पहिलो औपचारिक प्रतियोगिता समेत थियो।

तर पुनः ज्ञानेन्द्रले आफ्नो लयबाट सबैलाई निराश पारे। ३ खेलमा जम्मा २२ रन जोडेका ज्ञानेन्द्रको औषत ७.३३ मात्रै थियो। भारत र बंगलादेशको यू–२३ सँग पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि त्रिभुवन विमानस्थलमा फर्कदा उनले आफूले राम्रो गर्न नसकेको स्वीकारे।

‘हाम्रो ब्याटिङ पक्ष कमजोर रह्यो। व्यक्तिगत रुपमा पनि मैले प्रदर्शन राम्रो गर्न सकिनँ। दुर्भाग्यवश सुरुमै आउट हुन पुगेँ,’ उनले भनेका थिए। भारतविरुद्ध खाता नै खाल्न नसकेका ज्ञानेन्द्रले बंगलादेशविरुद्ध २२ रन जोडेका थिए।

लय समात्ने प्रयास

पछिल्लो समय भने ज्ञानेन्द्र क्रिजमा जम्न थालेका छन्। अघिल्लो महिना काठमाडौंमा भएको १३औं सागमा भुटानविरुद्ध करिअरको पहिलो अन्तर्राष्ट्रय शतक प्रहार गरेपछि ज्ञानेन्द्र लयमा फर्कने प्रयासमा देखिएका हुन्।

सागमा भुटानविरुद्धको शतकीय पारीले ज्ञानेन्द्रलाई आलोचकहरुबाट राहातमात्रै दिएन् लयमा समेत फर्किने समेत संकेत गरेको थियो। सागका ३ खेलमा उनले ४९.३३ को औषतमा १४८ रन जोडे। जुन पछिल्लो दुई वर्षमा खेलेको एउटै प्रतियोगितामा उनको सर्वाधिक औषत समेत हो।

सागमा ज्ञानेन्द्रले श्रीलंका यू–२३ विरुद्ध २१, भुटानविरुद्ध १०७, माल्दिभ्सविरुद्ध १९ र बंगलादेश यू–२३ विरुद्ध ४३ रन जोडेका थिए।

सागपछि ज्ञानेन्द्र अहिले पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) खेलिरहेका छन्। जसमा उनले सागकै लयलाई कायम राखेका छन्। पीपीएलका सुरुवाति दुई खेलमा उनको नवप्रवेशी टोली काठमाडौं गोल्डेन्स वारियर्श लगातार पराजित भएको थियो। प्लेअफको सम्भावना कायमै राख्न बुधबार धनगढी ब्लुजविरुद्धको तेस्रो खेलमा काठमाडौंलाई गर या मरको स्थिति थियो।

त्यही खेलमा ज्ञानेन्द्रले कप्तानी पारी खेले। २४ बलमै अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले त्यसपछिको १३ बलमा थप ५० रन जोड्दै शतक पूरा गरे। समग्रमा ३९ बलमा ९ छक्का र ८ चौकासहित उनले सय रन पूरा गर्दै पीपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने।

उक्त खेलमा पाएको लयलाई ज्ञानेन्द्रले चौथो खेलमा पनि कायम राखेका छन। शनिबार काठमाडौंले विराटनगर टाइटन्सविरुद्ध ३६ रनको जित हात पारेको थियो। जसमा ज्ञानेन्द्रले ४५ रन जोडे। ३३ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

एउटा टिममा तीनवटा विदेशी खेलाडीहरु खेलिरहेका पीपीएलमा चार खेल खेल्दा ज्ञानेन्द्र सर्वाधिक स्कोरर हुन। उनले ४ इनिङमा ४०.२५ को औषतमा १६१ रन बनाएका छन्। फ्रेन्चाइजी क्रिकेटमा तीव्र प्रतिस्पर्धा हुने भएकाले यस्तै प्रतियोगिताको प्रदर्शनले राष्ट्रिय टोलीमा लय समात्न पनि सहयोग पुग्ने ज्ञानेन्द्रको विश्वास छ।

उनी भन्छन्, ‘मैले म्याचको अवस्था अनुसार ब्याटिङ गर्न सकिँरहेको छु। लय पनि देखिएको छ। फ्रेन्चाइजी लिगमा कडा प्रतिस्पर्धा भइरहेको हुन्छ। प्रतिस्पर्धी खेलहरुमा हुने प्रदर्शनले राष्ट्रिय टिममा पर्नमात्रै हैन् प्रदर्शन गर्न सहयोग पुग्छ। अझै विदेशी खेलाडीहरुको सहभागिताले व्यवसायिक सेटअपमा आफूलाई ढाल्न, म्याच एक्सोजर र म्याच सेन्स विकास गर्न यस्ता प्रतियोगिताले व्यक्तिगत रुपमा सहयोग पुग्छ।’

कप्तान भएपछि ज्ञानेन्द्रको प्रदर्शन
१) २०१९ नोभेम्बरः एमसीसीको नेपाल भ्रमण (पारस खड्काले छाडेपछि पहिलो पटक कप्तान)
एक दिवसीयः १ खेल, १ इनिङ्स, १० रन
प्रथम श्रेणीः १ खेल, २ इनिङ्स, ६ रन

२) २०१९ नोभेम्बरः एसीसी इमर्जिङ कप (५० ओभर) (कप्तान भएपछि पहिलो विदेश टूर)
३ खेल, ३ इनिङ्स, २२ रन – औषतः ७.३३

३) २०१९ डिसेम्बरः १३औं साग (२० ओभर)
३ खेल, ३ इनिङ्स, १४८ रन – औषतः ४९.३३

४) २०१९ डिसेम्बरः पीपीएल (२० ओभर)
४ खेल, ४ इनिङ्स, १६१ रन – औषतः ४०.२५ (जारी)

यो पनि: ‘क्रियटिभ’ क्रिकेटर ज्ञानेन्द्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .