ad ad

खेल


सागमा इतिहासकै सर्वाधिक स्वर्ण जित्ने नेपालको लक्ष्य

सागमा इतिहासकै सर्वाधिक स्वर्ण जित्ने नेपालको लक्ष्य

यज्ञराज जोशी
कात्तिक ३०, २०७६ शनिबार १५:४५,

मंसिर १५ बाट काठमाडौं, पोखरा र जनकपुरमा शुरु हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले इतिहासकै सबैभन्दा बढि पदक जित्ने महत्वाकांक्षी लक्ष्य राखेको छ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले कम्तिमा ५० स्वर्ण हात पार्ने लक्ष्य राखेको बताए। जुन यसअघि नेपालले जितेको सर्वाधिक पदक संख्याभन्दा १९ बढी हो। यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो।

त्यसपछि भने नेपालको प्रदर्शन निकै खस्किएको छ। पछिल्लो १२औं सागमा ३ स्वर्णमात्रै जितेको नेपालले आउँदो प्रतिस्पर्धामा त्यसको ४७ बढी स्वर्ण जित्ने लक्ष्य राखेको हो।

‘आठौं सागमा खेलहरु पनि १२ मात्रै थिए र हामीले ३१ स्वर्ण जित्यौं,’ सदस्यसचिव सिलवालले भने, ‘यसपटक २७ खेल समावेश छन्। तालिम तथा प्रशिक्षणपनि राम्रो भएको छ। यसपटक न्यूनतम ५० स्वर्णको लक्ष्य राखेका छौं।’

१३औं सागमा कुल ३ सय २४ स्वर्ण, २ सय २४ रजत र ४ सय ८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। २७ खेलमध्ये २१ काठमाडौंमा, ९ पोखरामा र जनकपुरमा १(कुस्ती) खेल हुनेछन्। यसपटक सबै देशका सागमा ३ हजार २ सय ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन। त्यसमा सर्वाधिक खेलाडी र सबै खेलमा भाग लिने नेपालमात्रै छ।

नेपालले २७ वटै खेलमा भाग लिदै ६४८ खेलाडी मैदान उतार्दैछ। यस्तै बंगलादेशले २५ खेलमा भाग लिदै ५९१ खेलाडी, त्यति नै खेल खेल्ने श्रीलंकाले ६१२ खेलाडी, १८ खेल खेल्ने पाकिस्तानले ४१३ खेलाडी, २० खेल खेल्ने भारतले ५२१ खेलाडी, १४ खेल खेल्ने भुटानले १३५ खेलाडी तथा १० खेल खेल्ने माल्दिभ्सले ३३२ खेलाडी प्रतिस्पर्धामा उतार्दैछ। दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सबैभन्दा नयाँ सदस्य राष्ट्र अफगानिस्तान भने क्षेत्रीय खेलमा सार्क समूहबाट छुट्टिएर अर्को समूहमा जोडिएको छ।

साउन अन्तिमदेखि तयारी थालेको नेपालले २१ खेलहरुका लागि वैदेशिक प्रशिक्षण समेत गरेको थियो। त्यसबाहेकका खेलमा वैदेशिक प्रशिक्षकहरु नेपालमैं ल्याएर यहिँ तयारी गरेको हो।

‘तयारीका हिसावले अहिलेसम्मकै राम्रो नतिजा ल्याउने लक्ष्य राखेकाछौं। तयारीले परिणाम पनि दिएको छ। भर्खरै महिला भलिबल टोलीले बंगलादेशमा उपाधि(सेन्ट्रल जोन महिला भलिबलको) नै जितेर आयो,’ सिलवालले थपे, ‘विगतको तुलनामा पनि सागमा सहभागी खेलाडीको भत्तापनि दोब्बर पारिएको छ। त्यसले खेलाडीहरुको मनोबल बढाउने विश्वास छ।’

आठौं सागका ३१ स्वर्णमध्ये त्यसबेला नेपाललाई कराँते र तेक्वान्दोले सर्वाधिक १४–१४ वटा स्वर्ण दिलाएका थिए। यसपटक कराँते र तेक्वान्दोको इभेन्ट पनि थपिएकाले नेपाल ५० नभए पनि त्यसको आसपासमा पुग्न सक्ने सागका दोहोरो स्वर्णधारी तथा कराँते प्रशिक्षक दीपक श्रेष्ठ बताउँछन।

‘ठ्याक्कै सदस्यसचिवले भन्नुभएको जसरी ५० स्वर्ण त नपुग्ला,’ आठौंमा समेत स्वर्ण जितेका उनले भने, ‘यसपटक कराते र तेक्वान्दो इभेन्टहरु थपिएकाले सदस्यसचिवले त्यो आँकलन गर्नुभएको होला।’

आठौं सागमा तेक्वान्दो र करातेको १६–१६ वटामात्रै इभेन्ट भएकोमा नेपालले १४–१४ स्वर्ण जितेको थियो। अहिले तेक्वान्दोमा २९ वटा र कराँते १९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ। कराँते र तेक्वान्दोलाई जोड्ने हो भने नेपालले ल्याउने ७५ प्रतिशत पदकहरु यसैबाट हुने श्रेष्ठ बताउँछन।

त्यसबाहेक बक्सिङ, महिला भलिबल, पाराग्लाइडिङ, फुटबल, एथ्लेटिक्स, जुडो, टेबुलटेनिस, बीच भलिबल, उसुमा समेत नेपालले स्वर्णको आशा गरेको छ।

अघिल्लो हप्ता बंगलादेशमा भएको पाँचौ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा साग खेल्ने नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। जसमा नेपाली खेलाडीहरुले ८ स्वर्ण जितेका थिए। साग अघि पाएको अन्तर्राष्ट्रिय एक्सोजरले खुशी देखिएपनि नेपाली खेलाडीहरुले भने अझै वैदेशिक प्रशिक्षण कम र अपूरो भएको महशुस गरेका छन्।

‘सागको मुखैमा अन्तर्राष्ट्रिय एक्सोजरका रुपमा दक्षिण एसियाली कराँते च्याम्पियनसिप खेल्दा मनोबल त बढेको छ,’ ११औं सागकी रजत पदकधारी तथा यस सागमा स्वर्णको लक्ष्य राखेकी अनु अधिकारीले भनिन्, ‘तर, छोटो समय भएकाले लामो योजना बनाएर तयारी गर्न नपाउँदा अन्तर्राष्ट्रिय प्रशिक्षणको अझै कमी महशुस गरेका छौं।’

कराँतेको टोलीलाई राखेपले मलेसियामा १० दिने विदेशी प्रशिक्षणमा पठाएको थियो। तर, ४ दिन आउन जानै विताएको टोलीले ६ दिनमात्रै मलेसियामा प्रशिक्षण गर्न पायो। त्यो अपर्याप्त रहेको महशुस खेलाडीले गरेका छन। तर मलेसियन प्रशिक्षकबाट भने खेलाडीहरु प्रभावित भएका छन। तिनै प्रशिक्षकलाई बाँकी रहेको समयमा नेपालमै झिकाई प्रशिक्षण लिन पाए अझै पदकको सम्भावना बढ्ने उनीहरुको विश्वास छ।

‘मलेसियामा थोरै समय प्रशिक्षण लिन पाएपनि त्यहाँको प्रशिक्षकबाट भने सबै खेलाडीहरु प्रभावित भएका थिए,’ अधिकारीले भनिन्, ‘उहाँले प्रशिक्षणसँगै खेलाडीलाई हौसला दिनुहुन्थ्यो। अब बाँकी रहेको समयमा पनि खेलाडीहरुले उनै प्रशिक्षकलाई नेपाल झिकाउन अनुरोध गरेका छौं। हेरौं के हुन्छ?’

शनिबारबाट सागको १५ दिने दिन गन्ती शुरु भएको छ। प्रतिस्पर्धा गर्ने नेपालका सबै खेलका खेलाडीहरु अन्तिम चरणमा छन। यसबेला खेलाडीहरुलाई प्रोत्साहन दिन सके उनीहरुको मनोबल बढ्नुका साथै त्यसले पदक संख्या थप्नमा पनि मद्दत पुग्ने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठले बताए।

‘अहिले सरकारले खेलाडीलाई तिमीहरुले गोल्ड मेडल जित्यौं भने तिमीहरुको भविष्य नेपालमा छ है भन्ने प्रत्याभुति दिलाउन सक्नुपर्छ,’ उनले भने, ‘आठौं सागमा स्वर्ण जित्दा हामीले पाएको ३ लाख रुपैयाँबाट घडेरी जोडेको थियौँ। त्यो अहिले करोड बराबरको भएको छ र त्यसले अहिले हाम्रो जीवनयापन सहज भयो। त्यस्तो खालको प्याकेज घोषणा गरि सरकारले खेलाडीलाई प्रोत्साहित गर्नुपर्छ। त्यसो गर्दा खेलाडीलाई कुनै पनि हालतमा जित्नुपर्छ है भन्ने भावना अझै जाग्छ।’

३ घण्टा १४ मिनेटको उद्घाटन समारोह
राखेपले ३ घण्टा १४ मिनेट लामो उद्घाटन कार्यक्रम तयार पारेको छ। उक्त उद्घाटन कार्यक्रममा सातै प्रदेशका झाँकीहरु, कला संस्कृति, पहिचानहरु झल्काउने तयारी गरेको सदस्यसचिव सिलवालले बताए।

उद्घाटन समारोहको रिहर्सल समेत सुरु भइसकेको उनले बताए। ‘मंसिर ७ गतेसम्म रंगशालाबाहिर नै रिहर्सल हुन्छ। ८ गतेबाट रंगशालाभित्रै रिहर्सल हुन्छ,’ उनले भने, ‘१३ गते अन्तिम भव्य रिहर्सलको तयारी गरेका छौं।’

प्रचारप्रसारका लागि शनिबार देखि नै सरकारले टिभि, रेडियो, पत्रपत्रिकामा दिनगन्ती सुरु गरेको छ। त्यसबाहेक विभिन्न २५ ठाँउमा एलइडी स्क्रिन राख्ने तयारी गरिरहेको उनले बताए। ५० वटा मस्कट लगाएका मान्छेहरुलाई बजारमा घुमाउने तयारी समेत गरेको छ। उनीहरु यसैहप्ताबाट बजार निस्केर सागको माहौल बनाउने छन्।

उद्घाटन र समापनमा १५ हजार मानिसहरुको सहभागिता रहने उनले बताए। ठाँउठाउमा स्वागत गेटहरु लगाउने जिम्मा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लिएका छन। उनले काठमाडौंका विभिन्न नगरहरुसँगको सहकार्यमा उक्त कार्य गर्नेछन।

उद्घाटन काठमाडौं रंगशालामा हुने भएपनि समापन महिला फुटबलसँगै पोखरा रंगशालामा गरिने सदस्यसचिव सिलवालले बताए।

पूर्वाधार कहिले सम्पन्नहुने?
सागको उद्घाटन मिति १५ दिनबाँकी रहेपनि मुख्य आयोजनास्थल दशरथ रंगशालाको भीआइपी प्यारापिटको कामअझै जारी छ। भीआइपी प्यारापिटको छानो चीनबाट आइसके पनि ठडाउने काम शुरु भएको छैन।

सदस्यसचिव सिलवालले आइतबारसम्म छानो राख्ने सम्पूर्ण काम सकिने र लगत्तै चीनबाट आएका प्राविधिकहरुले छानो राख्ने उनले बताए। एकहप्ताभित्र रंगशालाको सम्पूर्ण काम सक्ने उनको दाबी छ।

यस्तै पोखरा रंगशालामा प्यारापिट मुख्य चुनौती रहेको उनले स्वीकारे। ‘प्यारापिट आइतबारबाट लगाउने तयारी छ,’उनले भने, ‘त्यसका लागि फ्रान्सबाट प्राविधिकहरु आइसकेकाछन। अबको ५ दिनभित्र ५ हजार क्षमता र मंसिर १० गतेभित्र १० हजार क्षमताको प्यारापिट बनिसक्छ।’

पोखरा रंगशालामा दुबो सुकेको र त्यसलाई हटाउने र लगाउने काम पनि मंसिर १० गतेसम्म सम्पूर्ण रुपमा सम्पन्नहुने उनले बताए।

यस्तै सातदोबाटो स्थित हिटिङ स्वीमिङ पुल अबको एकहप्तामै तयार हुने उनले दाबी गरे। त्यसकालागि १० हजार लिटर पानी तताउने काम थालिसकेको र स्वीमिङ पुलको काम सकिएसँगै नजिकै रहेको पूरानो स्वीमिङ पुलबाट पानीहाल्ने तयारी भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .