संघीय सांसदसमेत रहेकी तुलसा थापा जुडो व्यवस्थापक बनेर टोकियो ओलम्पिक पुगेकी छिन। तर उनी नेपाल कबड्डी संघकी अध्यक्ष हुन्। जुडोसँग टाढाको साइनो पनि नभएकी उनले यसपल्ट टोकियो भ्रमण गर्ने उद्देश्यले त्यसको व्यवस्थापक बनेको स्पष्ट छ।
थापासँगै जुडोकै व्यवस्थापकका रूपमा तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा पनि जापान उडेका छन्। उनको पनि जुडोसँग नजिकको साइनो छैन। तर जुडोमा योगदान पु¥याएका व्यक्तिका कोटामा बलमिच्चाइँ गर्दै थापा र राणा जापान पुगेका छन्।
यसरी मनपरी पदाधिकारीहरू जापान भ्रमणमा जानुलाई राष्ट्रिय खेलकुद परिषदकै पदाधिकार सरकारी भत्ता पचाउन मात्रै गएको टिप्पणी गर्छन्।
‘नचाहिने मान्छे जान आवश्यक छैन। पाँच खेलाडीलाई बढीमा १५ जना भए पुग्छ,’ राखेप उपाध्यक्ष शिव कोइरालाले प्रश्न उठाउँदै भने, ‘बाँकी पर्यटकजस्तै भए। राज्यलाई गरिब बनाउन अनावश्यक मान्छे किन जानुप¥यो?’
कोइरालाको नाम पनि जापान जाने सूचीमा थियो। तर राखेपको बोर्ड बैठकसमेत नराखी अनावश्यक व्यक्तिलाई जापान पठाएकामा असन्तुष्टि जनाउँदै उनले अन्त्यमा जापान नजाने घोषणा गरे।
कोइरालाका अनुसार जापान जानेहरूहरूको सबै खर्च राष्ट्रिय खेलकदु परिषद् र ओलम्पिकले बेहोर्छ। उनीहरूको जाने–आउने, बस्नेसहित दैनिक भत्ताको व्यवस्था हुन्छ। दिनको झण्डै ३ हजार रुपैयाँ (२५ डलर) भत्ता दिइन्छ।
टोकियो ओपलम्किमा नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षक सहभागी हुँदै छन्। यसबाहेक १६ पदाधिकारीका लागि टिकट लिइएको छ। जसमध्ये एक जना चिकित्सक छन्। कोइराला र ह्यान्ड बलका अध्यक्ष तेज गुरुङले अन्त्यमा नजाने घोषणा गरेका छन्। बाँकी भने व्यवस्थापनका नाममा कोरोनाकालमा भीड जम्मा गर्न सरकारी भत्तामा जापान पुग्दै छन्।
नेपालमा रहेका पदाधिकारी मात्रै होइन, हाल अमेरिकामा रहेका नेपाल ओलम्पिक कमिटि (एनओसी) का उपमहासचिव पिताम्बर तिम्सिना समेत एथलेटिक्सको व्यवस्थापकको भूमिकामा टोकियो पुग्दै छन्।
ओलम्पिकमा प्रशासन सदस्यका रूपमा राखेपका सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ सुटिङ टोलीको व्यवस्थापक, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने एनओसी अट्याची, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल सेफ द मिसनका रूपमा टोकियो उडेका छन्।
अन्तिममा नाम फिर्ता लिएका गुरुङ पर्यटक भएर पदाधिकारीहरू जाने कुरामा सुधार आउनुपर्ने बताउँछन्। आफ्नो भूमिका खासै नहुने देखेपछि नाम फिर्ता लिएको उनले बताए।
‘साच्चिकै भन्दा आफ्नो भूमिका खासै त्यहाँ प्रत्यक्ष नहुने पनि हो,’ गुरुङले नेपालखबरसँग भने, ‘अनावश्यक मान्छेहरू पर्यटक बनेर खेलको मौका पारी विदेश जाने कुरामा सुधार आउनुपर्छ। त्यस कुरामा मेरो समर्थन छ।’
एक हप्ताअघि नै आफूले जापान नजानेबारे जानकारी गराए पनि प्राविधिक कारण आफ्नो नाम बाहिर आएको गुरुङको भनाइ छ।
‘सुरुमा जाने कुरामा आन्तरिक समझदारी भएको हो। सबै कुरा कम्फर्टेबल हुन्छ भने जानलाई अनिच्छुक होइन। तर परिस्थिति नमिलेपछि मैले नजाने कुराको जानकारी पहिले नै गराइसकेको थिएँ,’ उनले भने।
राखेप उपाध्यक्ष कोइराला अनावश्यक भ्रमणमा लैजाने पैसाले बरु खेलाडीलाई थप सुविधा दिनु उचित हुने बताउँछन्।
‘बोर्ड बैठक नै नबसी मनोगत रूपमा मान्छेहरू लग्ने काम भए,’ कोइरालाले भने, ‘जुत्ता नपाएर खाली खुट्टा दौडिएका इतिहास छन्। आफूहरू सरकारी बजेटको दुरुपयोग गर्नुभन्दा पनि तुना नफुस्किने जुत्ता खेलाडीलाई लगाई दिन पाए उनीहरूले राम्रो प्रदर्शन देखाउन सक्थे।’
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ ओलम्पिक कमिटिका पदाधिकारीहरूले स्वयमसेवी रूपमा योगदान दिने गरेको र उनीहरूको सम्मानका लागि विदेश भ्रमणमा लाने गरेको बताए। यसरी जानेहरूको खर्च ओलम्पिक कमिटी तथा राखेपले बेहोर्ने उनले स्वीकारे।
‘खेलाडीको संख्याअनुसार कोटा हुन्छ। त्यसबाहेक एक जना पनि बढी लगेका छैनौं,’ श्रेष्ठले भने, ‘ओलम्पिक कमिटिको मान्छेहरू स्वयमसेवी हुन्। उहाँहरूको योगदान सम्मानका लागि लाने हो। खर्च केही आयोजक र केही आईओसी–परिषद्ले बेहोर्ने हो।’
आउँदा–जादा कति एक पदाधिकारीको कति खर्च हुन्छ, ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ। ओलम्पिक पदाधिकारीहरू पनि खेलकुदमा अनुभवी भएकाले अन्य खेलसँग आबद्ध भए पनि व्यवस्थापनको भूमिका निर्वाह गर्नसक्ने उनले विश्वास व्यक्त गरे।
ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक र पदाधिकारी
खेलाडी
१. कल्पना परियार – सुटिङ
२. सोनिया भट्ट – जुडो
३. सरस्वती चौधरी – एथ्लेटिक्स
४. गौरिका सिंह – पौडी
५. एलेक्जान्डर ग्याडिगाड शाह – पौडी
प्रशिक्षक
१. असिम यादव – सुटिङ
२. सूर्यनारायण श्रेष्ठ – जुडो
३. सन्तोष श्रेष्ठ – एथ्लेटिक्स
४. शंकर कार्की – पौडी
पदाधिकारी
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट
१. जीवनराम श्रेष्ठ – अध्यक्ष
२ निलेन्द्रराज श्रेष्ठ – महासचिव
३. चतुरानन्द राजवैद्य – उपाध्यक्ष तथा कार्यकारी निर्देशक
४. तेजबहादुर गुरुङ – उपाध्यक्ष (नाम फिर्ता)
५. सुनीलकुमार श्रेष्ठ – उपाध्यक्ष
६. पिताम्बर तिम्सिना – सहमहासचिव
७. तुलसी थापा – सचिव
८. प्रकाशमशेर राणा – सदस्य
९. राम अवाले – सदस्य
युवा तथा खेलकुद मन्त्रालयबाट
१. केदार न्यौपाने – सचिव
राष्ट्रिय खेलकुद परिषदबाट
१. शिव कोइराला – उपाध्यक्ष (नाम फिर्ता)
२. रमेशकुमार सिलवाल – सदस्य–सचिव
३. सुभाष श्रेष्ठ – सदस्य
४. सम्पन्न श्रेष्ठ – सदस्य
मेडिकल टिम
१. डा. नबिशमान सिंह प्रधान – मेडिकल
टोकियो नेपाली दुतावास
१. प्रेम बराल – कर्मचारी
टोकियोस्थित नेपाली स्वयंसेवक
१. रुपेश डंगोल – स्वयंसेवक
Shares
प्रतिक्रिया