इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परि कम्तीमा २५ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका बिबिसीले जनाएको छ।
इद पर्वको लागि किनमेल भइरहेको बेला इराकको उत्तरी साड सहरको एउटा व्यस्त बजारमा बिस्फोट भएको हो।
मंगलबार भएको यो विस्फोटलाई पछिल्लो ६ महिनामा भएका विस्फोटमध्ये सबैभन्दा घातक मानिएको छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।
इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो।
पछिल्लो केही समययता यो समूहले बगदादमा सानातिना घटनाहरू गराउँदै आएका थिए। गत एप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो।
उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको छ। त्यो राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमण थियो।
Shares
प्रतिक्रिया