सर्लाहीमा वन्य जन्तुबाट कृषि बाली जोगाउन थालेको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ।
मंगलबार राति बरहथवा नगरपालिका– १४ स्थित बिनवा टोलामा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर स्थानीय ४५ वर्षीय शिवजी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्थानीय नरेश साहले थापेको विद्युतीय धरापमा परेर सोही ठाउँका शिवजी साहको मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। साहद्वय छिमेकी हुन्।
‘घटनापछि विद्युतीय धराप थाप्ने साह फरार छन्,’ डीएसपी पञ्जियारले भने, ‘घटना गएराति साढे १० बजेको हो। त्यतिबेला शिवजी साह पनि किन खेतमा गएका हुन् खुलेको छैन।’
अँध्यारोमा बिजुलीको हाइटेन्सन लाइनबाट लगिएको नांगो तारमा छुँदा साहको मृत्यु भएको हो।
घटनापछि चिन्ताजनक अवस्थामा पुगेका साहलाई आफन्तले उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
आरोपी नरेश साहका परिवारका सदस्यले भने जंगली जनावर (विशेषगरी बँदेल, निलगाई लगायत)बाट बालीनाली जोगाउने उद्देश्यले विद्युतीय धराप थापिएको बताएका छन्।
शिवजी साह राति पिसाव फेर्न गएको बेला धरापमा परेको पीडित परिवारको भनाई छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
Shares
प्रतिक्रिया