ad ad

समाज


नर्भिक अस्पतालमा पहिलोपटक अस्वाभाविक मोटोपन कम गर्ने शल्यक्रिया

नर्भिक अस्पतालमा पहिलोपटक अस्वाभाविक मोटोपन कम गर्ने शल्यक्रिया

नेपालखबर
असोज १, २०७६ बुधबार ११:३८,

नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कमगर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।

जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ वर्षीय महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ।

इमाडोल निवासी ६५ वर्षीय श्रीमती अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन्। हिँड्डुल गर्न गाह्रो, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने समस्या, अलिकति हिँड्दा पनि स्वाँ–स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निद्रा नपर्ने समस्याले बढी नै सताएको थियो। साथै राति तारन्तार पिसाब फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो।

norvic moto 1

अस्पतालले विज्ञप्तिमा भनेको छ, ‘केही समयपूर्व उहाँ नर्भिकको जनरल, जी.आई. एण्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आउनुभयो। अब्स्ट्रक्टिभ स्लिप अप्निया (राति घुर्ने र निद्रा नपर्ने) समस्याका लागि नर्भिकका वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँगको परामर्शपश्चात् जी.आई.एण्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकरुको टोलीसँगको परामर्शमा रहनुभएको थियो। सुरुमा निर्णय लिन निकै गाह्रो परेपछि शल्यचिकित्सकहरुको टिमको लगातार परामर्श र सहयोगका कारण यो शल्यक्रिया गर्ने निर्णयमा पुग्नुभएको उहाँले बताउनुभयो।’

यसलाई बेरियाट्रिक शल्यक्रिया भनिन्छ। तौल कम गर्न यस्तो शल्यक्रिया आवश्यक पर्ने अस्पतालले जनाएको छ। विशेषतः ज्यादा मोटोपन भएका (जसको बि.एम.आई. ४०÷के.जी. वा ३५ के.जी.भन्दा बढी भई मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्नियालगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपन जस्ता समस्याको उपचार गर्ने गरिन्छ। अस्पतालका अनुसार यसखाले शल्यक्रियाका फाइदाहरुमा केवल शारीरिक तौल कम गर्ने मात्र नभएर माथि उल्लेख गरिएका चिकित्सकीय समस्याहरुको न्यूनीकरण वा निराकरण गर्नु समेत हुन्छ।

नर्भिकको जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागले ल्यापारोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्यापारेस्कोपिक हर्निया शल्यक्रिया, ल्यापारोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेण्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रियाहरु), पेट÷आमाशय, प्याङ्क्रियाजका शल्यक्रियाहरु, तथा ल्यापारोस्कोपिक लिभर (कलेजो) शल्यक्रियाहरु सफलताका साथ नियमित रुपमा गर्दै आएको छ।

यसखाले तमाम शल्यक्रियात्मक उपचार विश्वसनीयरुपमा स्वदेशमै र सर्वसुभल रुपमा उपलब्ध हुनथाले पश्चात् स्तरीय शल्यक्रियाकालागि अथाह धनराशी खर्चेर विदेश धाउनुपर्ने वाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले बताए।

मोटोपनका समस्या
हिड्डुल गर्न नसक्नु, श्वास–प्रश्वासमा समस्या हुनु, निन्द्रा नपर्नु, रक्तचाप बढ्नु र राति तारन्तार पिसाव फेर्न गइरहनु आदि सबै समस्याहरु उनको अस्वाभाविक मोटोपनबाटै सिर्जित भएका थिए ।  त्यसर्थ, उक्त मोटोपन कम नगरिएसम्म उहाँमा प्रभावकारी उपचार गर्ने÷गराउने सम्भावना थिएन नै। डाक्टरहरुका अनुसार पारिवारिक सर–सल्लाहपश्चात् उपर्युक्त शल्यक्रिया गराउन अञ्जु तयार भएकी थिइन्। साथै उनको पित्तथैलीमा स–साना धेरै पत्थरीहरु (मल्टिपल कोलिलिथियासिस) पनि थिए।

उक्त समस्याको समेत उपचार गराउनुपर्ने आवश्यकता उनमा रहेको थियो। सोही अनुरुप गत भदौ २५ गते बुधबार अञ्जु नर्भिकमा भर्ना भएकी थिइन्। भदौ २६ गते बिहीबार उनको दुवैखाले सफलतम शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापूर्व हस्पिटलमा भर्ना हुँदा उनको तौल ९० के.जी. थियो हाल उनको तौल ८५ के.जी.मा झरिसकेको र वि.एम. आई. पनि केवल ४१ मात्रै रहेको अस्पतालले जनाएको छ।

के हो त ल्यापारोस्कोपिक स्लिभ ग्याष्ट्रेक्टोमी शल्यक्रिया ?
स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्दछ । यस प्रक्रियामा आमाशयको करिव ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ता कि त्यहाँ कम मात्रै खाना अट्न सकोस् ।

उहाँको सफलतम् शल्यक्रियात्मक उपचार नर्भिकका बरिष्ठ जनरल, जी.आई.एण्ड ल्यापारोस्कोपिक सर्जन प्रा.डा. मुकुन्दराज जोशीको टोलीले गरेको थियो । उक्त टोलीमा प्रा.डा. जोशीका अलावा डा. सञ्जय पौड्याल, डा. टंक प्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिष्ट डा. सुरेश लामिछाने संलग्न थिए।

शल्यक्रियापश्चात् उनलाई एक दिन आई.सी.यु.मा राखी तत्पश्चात् वार्डमा सारिएको थियो । यसपूर्व नर्भिकमा त्यसखाले शल्यक्रिया नभएका भने होइनन् तर विदेशी विशेषज्ञहरुको प्रत्यक्ष संलग्नतामा मात्रै ।

नर्भिकमा नेपाली चिकित्सकहरुको टोलीद्वारा मात्रै गरिएको यस खाले सफलतम शल्यक्रिया भने यो पहिलो थियो । श्रीमती बुढाथोकी हिजो साँझ डिस्चार्ज भइसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .