सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा सवार गाडीको ठक्करबाट जंगली मयुरको मृत्यु भएको भनी केही सञ्चार माध्यममा आज प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय कपिलवस्तुले ध्यानकर्षण भएको जनाएको छ।
मन्त्री बास्कोटा शनिबार बुटवलबाट अर्घाखाँची जाने क्रममा गोरुसिंङ्गे–सन्धीखर्क सडकखण्डमा पर्ने कपिलवस्तुको वसन्तपुर सामुदायिक वन क्षेत्र जंगलमा बिहान करिब ९ः३० बजेको समयमा गाडीको ठक्करबाट मयुरको मृत्यु भएको भनि प्रकाशित समाचारमा डिभिजन वन कार्यालयले ध्यानाकर्षण भएको स्पष्ट पार्दै उक्त समयमा अन्य केही सवारीसाधन समेत उक्त सडकमा गुडेकाले कुन गाडीले ठक्कर दिएको भन्ने विषयमा अनुसन्धान भइरहेको विज्ञप्ति जारी गरेर जनाएको छ।
विज्ञप्तिमा अनुसन्धान कार्य सम्पन्न भएपछि प्रचलित ऐन कानून बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने र उक्त मृत मयुर वन समितिका पदाधिकारीको रोहबरमा मुचुल्का खडा गरी वन क्षेत्रमै गाडिएको समेत उल्लेख गरिएको छ। रासस
Shares
प्रतिक्रिया