ad ad

समाज


रवि लामिछाने रिहाइको माग गर्दै भएका प्रदर्शनमा २३ पक्राउ

रवि लामिछाने रिहाइको माग गर्दै भएका प्रदर्शनमा २३ पक्राउ

नेपालखबर
भदौ ४, २०७६ बुधबार ११:३९,

रवि लामिछानेलाई पक्राउ गरी चितवन लगेदेखि नै प्रदर्शन हुँदै आएको छ। यसरी भएका प्रदर्शनमा अहिलेसम्म २३ पक्राउ परेका छन्। त्यसमा महिलाको संख्या बढी छ।

चितवन प्रहरीकाअनुसार बितेका ६ दिनमा उच्छृंखल गतिविधि तथा हुलहुज्जत गर्न खोज्ने १२ महिला र ११ पुरुष गरी २३ पक्राउ परेका हुन्।

‘प्रदर्शनका क्रममा २३ जना पक्राउ परेका छन्। उच्छृंखल गतिविधि गर्ने एवं भिडलाई उत्तेजित पार्ने कार्यमा संलग्न १४ जनाविरुद्ध कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ’, चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी एक नारायण कोइरालाले भने, ‘उनीहरुविरुद्ध म्याद लिएर अनुसन्धान भइरहेको छ।’

प्रहरीले सबैभन्दा धेरै भदौ २ गते १० जनालाई नियन्त्रणमा लिएको थियो। हिजो ३ गते ९ जना र साउन ३२ गते ४ जना पक्राउ परेका थिए।

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरिँदै आइएको छ। ती मध्ये ४ जनालाई प्रमुख जिल्ला अधिकारीको आदेशमा ५–५ सय रुपैयाँ धरौटीमा रिहा गरिएको डिएसपी कोइरालाले जनाए। उनका अनुसार बाँकी मुद्दा पनि छिटै बुझाइँनेछ।

‘शान्ति सुरक्षामा खलल पुग्ने गरी उच्छृंखल गतिविधिमा संलग्न हुनेहरुलाई कानुन बमोजिम कारवाही हुन्छ। त्यस्ता गतिविधिमा संलग्न नहुन हामीले आग्रह गरेका छौं’, उनले भने।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल तथा रुकु भनिने अस्मिता कार्कीलाई पक्राउ गरी चितवन पुर्‍याएदेखि चितवनमा हरेक दिन प्रदर्शन भइरहेका छन्।

बुधबार समेत भरतपुरको चौबीस कोठी भन्ने स्थानमा प्रदर्शन भएको छ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत चितवनले पटक–पटक आदेश गर्दै उनीहरुलाई कूल १० दिन थुनामा राख्न अनुमति दिएको छ।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्याका लागि बाध्य परेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .