अमेरिकाको सेन्ट लुइसस्थित वासिङटन युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमणपछि शरीरमा बनेका एन्टिबडीबारे अध्ययन गरेका छन्। जसबाट हल्का लक्षणवाला कोरोना संक्रमित निको भएपछि उनीहरूको शरीरमा एन्टिबडी उत्पादन गर्ने प्रतिरक्षा कोशिका विकास हुने पाइएको अनुसन्धानकर्ताले बताएका छन्। जसले मानिसलाई जीवनभर भाइरसबाट सुरक्षित राख्न सहयोग गर्न सक्ने सम्भावना देखिएको छ।
अध्ययनमा संलग्न प्राध्यापक अली एलेबेडी भन्छन् : हामीले पहिलोपटक कोरोना संक्रमणको लक्षण देखिएको ११ महिना पछिसम्म व्यक्तिमा एन्टिबडी उत्पादक प्रतिरक्षा कोशिका देख्यौं। यस्ता कोशिका सक्रिय रहे भने जीवनभर एन्टिबडी उत्पादन गर्न सक्छन्। यसलाई स्थायी इम्युनिटीको उदाहरणका रूपमा हेरिएको छ। ७७ मानिसमा गरिएको अध्ययनका आधारमा वैज्ञानिकले यो कुरा पत्ता लगाएका हुन्।
वैज्ञानिकका अनुसार कुनै भाइरल संक्रमणका क्रममा एन्टिबडी उत्पादक प्रतिरक्षा कोशिका तीव्र गतिमा रगतमा फैलिन्छन्, जतिबेला एन्टिबडीको मात्रा उच्च दरमा वृद्धि हुन्छ। तर जब संक्रमण ठीक हुन्छ, तब अधिकांश कोशिका मर्छन्, जसले गर्दा रगतमा एन्टिबडीको मात्रा खस्किँदै जान्छ।
अध्ययनमा संलग्न अनुसन्धानकर्ताका अनुसार यस क्रममा थोरै मात्रामा एन्टिबडी उत्पादक कोशिका हड्डीको मज्जाभित्र प्रवेश गरेर बस्छन्। यहींबाट यी कोशिकाले रगतमा एन्टिबडी प्रवाह गरिरहन्छन्। यो प्रक्रिया चलिरहन्छ।
अनुसन्धानकर्ताले अध्ययनका लागि ७७ व्यक्तिलाई सहभागी गराएका थिए। जसमा अधिकतर कोरोना संक्रमणका हल्का लक्षणवाला थिए। यीमध्ये जम्मा ६ जना मात्र अस्पतालमा भर्ना हुनुपरेको थियो। एलेबेडी र उनका सहयोगीले कोरोना निको भएका व्यक्तिको रगतमा एन्टिबडीको विभिन्न स्तरमा अनुसन्धान जारी राखेका छन्। स्रोत : नेचर
प्रतिक्रिया