ad ad

समाज


भारतमा बज्रियो अति शक्तिशाली चक्रवात यास, नेपालमा धेरै ठूलो वर्षा र हावाहुरीको सम्भावना

भारतमा बज्रियो अति शक्तिशाली चक्रवात यास, नेपालमा धेरै ठूलो वर्षा र हावाहुरीको सम्भावना

नेपालखबर
जेठ १२, २०७८ बुधबार १०:५०,

धेरै शक्तिशाली यास नामको चक्रवात भारतमा जमिनमा प्रवेश गरिसकेको छ। त्यसको असरले अहिले देशका विभिन्न स्थानमा सामान्यदेखि मध्यमसम्म वर्षा भइरहेको काठमाडौंस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् मञ्जु बासीका अनुसार यसले कम्तीमा आगामी शनिबारसम्म वर्षा तथा तराई क्षेत्रमा तीव्र वेगको हावाहुरीसेमत आउने सम्भावना छ (शनिबारसम्मको मौसमअनुमान तल विस्तृतमा दिइएको छ)। 

‘कतिपय स्थानमा अति भारी वर्षाको समेत सम्भावना देखिएको छ,’ मौसमविद् बासीले बुधबार अपराह्न नेपालखबरसँग भनिन्,’ त्यसैले सजगता अपनाउन आवश्यक छ।’

उनका अनुसार अहिले बागमती, लुम्बिनी, गण्डकी र प्रदेश २ मा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ। रातिबाट अझ बढ्दै जाने सम्भावना छ।

उनका अनुसार यसअघिको ताउते चक्रवातभन्दा तुलनात्मक रूपमा नेपालको नजिकै भारतीय जमिनमा प्रवेश गरेकाले यसको असर अलि बढी पर्ने देखिएको हो।

ताउते चक्रवातको प्रभावले पनि नेपालमा केही दिन वर्षा भएको थियो।

‘अरब सागरमा बनेको ताउतेले नेपालको पश्चिमी क्षेत्रमा प्रभाव पारेको थियो भने अहिलेको यास चक्रवात बंगालको खाडीमा बनेको हो, जसले देशको पूर्वी भागमा बढी प्रभाव पारिरहेको छ,’ मौसमविद् बासीले भनिन्, ‘साथै ताउतेको तुलनामा अहिले चक्रवात नेपाल नजिक परेको छ।’

उनका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जान्छ। तर त्यसबाट विकास हुने मौसमी प्रणालीले नेपालमा प्रभाव पारिरहेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार यास चक्रवात आज बिहान ओडिसा र पश्चिम बंगाल क्षेत्रमा बज्रिएको हो। जसले त्यहाँ अहिले भीषण वर्षा भइरहेको छ, तीव्र वेगको आँधी चलिरहेको छ। अलर्ट जारी गरिएको छ, लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपालमा यासको प्रभावले गराउने वर्षा, हिमपात र हावाहुरीबारे मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो जारी गरेको विशेष बुलेटिन यस्तो छ :

जेठ १२ गते बुधबार (आज)
राति : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

जेठ १३ गते बिहीबार
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ तथा उक्त प्रदेशका तराईका भूभागमा उच्च वेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली, पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

जेठ १४ गते शुक्रबार
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ तथा उक्त प्रदेशका तराईका भूभागमा उच्च वेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली, पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

जेठ १५ गते शनिबार
‌देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

काठमाडौंमा रातभर वर्षा हुने
मौसमविद् मञ्जु बासीका अनुसार यासको प्रभावले मंगलबार रातभर वर्षा भएको काठमाडौं उपत्यकामा आज पनि रातभर वर्षा हुने सम्भावना छ। ‘त्यस्तो ठूलो वर्षा हुने त देखिएको छैन,’ बुधबार अपराह्न नेपालखबरसँग उनले भनिन्, ‘सामान्यदेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

शनिबारसम्म लगातार वर्षा हुन्छ कि?
मौसमविद् बासीका अनुसार एकछिन पनि नरोकिईकन लगातार वर्षा हुँदैन। बीचबीचमा एक/दुई घण्टा, एक/दुई घण्टा रोकिन्छ। आज दिउँसो पनि यस्तै भएको थियो। ‘तर लगातार वर्षाको अवधि अलि लामो (केही घण्टासम्म) हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।

यो पनि : पश्चिम बंगालमा यास चक्रवात पुग्नासाथ पानीमा डुबे सयौं गाउँ, १५ लाखलाई स्थान्तरण गरियो 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .