ad ad

समाज


छोराहरु छाडेर आमा भारत भाग्न नमानेपछि दुई बालकको हत्या भएकाे खुलासा, अभियुक्त पक्राउ

छोराहरु छाडेर आमा भारत भाग्न नमानेपछि दुई बालकको हत्या भएकाे खुलासा, अभियुक्त पक्राउ

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:६,

बाराका दुई बालकको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारी रहेका छन्।

जेठ ३ गते साँझदेखि बेपत्ता भएका रंगपुरकै अब्दुल गफार अन्सारीका छोराहरु जेठो ९ वर्षीय अमान अन्सरी र कान्छो ७ वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या भएको थियो।

हराएको भोलिपल्ट कलैया उपमहानरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो।

बालकहरूको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको पाइएपछि तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोलीले घटनास्थलको सूक्ष्म अवलोकन गरी अनुसन्धान सुरु गरेको थियो।

डीएसपी गौतम मिश्रको कमाण्डमा खटिएको टोलीले ५० जना व्यक्तिसँग सोधपुछ गरेको थियो। अनुसन्धानको क्रममा पोलीग्राफ समेतको प्रयोग गरिएको डीएसपी मिश्रले जानकारी दिए।

घटना अनुसन्धानको लागि प्रदेश नं २ प्रहरी कार्यालयबाट समेत प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा टोली खटिएको थियो।

मृतकका बाबु अब्दुल गफार अन्सारी विगत ३ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। मृतकहरूकी आमा, एक दिदी र एक बहिनी गरी परिवारमा ५ जना थिए।

सहयोग आदानप्रदानका क्रममा अभियुक्त र मृतकहरूको आमाबीच घनिष्टता र हिमचिम बढेको पाइएको मिश्रले बताए।

श्रीमान घरमा नभएको अवस्थामा अभियुक्तले भाउजू नातामा पर्ने मृतकहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भागी भारततिर गई बसौँ भनी बारम्बार दबाब दिने गरेको पाइएको अनुसन्धान अधिकृतले बताएका छन्।

मृतकहरूको आमाले छोराहरूलाई छाड्न नमानेपछि छोराहरू नै सिध्याइदिने निर्णयमा अन्सारी पुगेको पाइएको प्रहरीको दाबी छ।

मृतककी आमा पछिल्लो समय अन्सारीबाट टाढिएपछि उनले ‘पख तँलाई छोराहरूको घमण्ड छ, हैन? देखाइदिन्छु भन्दै धम्की दिएको’ पाइएको छ।

घटनाको केही दिन पहिलेदेखि अन्सारीले बालकहरुलाई मिठाइ किनिदिने, घुमाउन लैजाने गरेका थिए।

आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा मृतक बच्चाहरूलाई थाहा भएको र यो सालको इदमा आफ्नो बुवा आउँदा सबै कुरा भनिदिन्छु भनेको अन्सारीले प्रहरीलाई बताएका छन्।

आफ्नो र मृतकहरूको आमाबीचको सम्बन्धको विषयमा भेद खुल्ने डरले उनले हत्या गरेको प्रहरीलाई बताएका छन्।

मृतकका आमासँग अन्सारीले ऋण लिएको र अझैसम्म नतिरेको समेत पाइएको छ।

घटना भएको दिन मृतकहरूकी आमा भाइ नाता पर्ने व्यक्तिको मृत्यु भएका कारण माइती गएकी थिइन्।

घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझपख बच्चाहरूलाई लोभलालचमा पारी एकान्त स्थलमा बोलाई हत्या गरी छाडेका थिए।

भोलिपल्ट बिहान पौने ५ बजेतिरै कलैया बजार चोकमा हिँड्डुल गरेको सीसी क्यामेराबाट प्रहरीले पत्ता लगाएको छ।

तर बिहान बच्चाहरूको शव फेला परेपछि उनी समेत घटनास्थलमा पुगेका थिए।

तालिमप्राप्त कुकुर आउँदै छ भन्ने थाहा पाएपछि उनी घटनास्थलबाट फरार भएको पाइएको छ।

उनको घरबाट प्रहरीले चक्कु र रगत लागेको पेटी बरामद गरेको छ। उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको डीएसपी मिश्रले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .