वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि ढुंगा प्रहार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र साह, ३५ वर्षीय राजेन्द्र यादव र ३५ वर्षीय राजन यादव रहेका छन्।
उक्त चोकमा सोही ठाउँ बस्ने ४० वर्षीय मोहम्मद अकवर र मोहम्मद उसमानलाई मोटरसाइकलले ठक्कर दिएको बिषयलाई लिएर सोही ठाउँ बस्ने पर्मा यादव र उमर यादवले कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पर्मा र उमरलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएका दुवै जनालाई स्थानीयले प्रहरीबाट खोसी भगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी परवानीपुर र प्रहरी चौकी गण्डक समेतबाट खटिएको प्रहरीले घटनाबारे जानकारी लिने क्रममा स्थानीयले प्रहरीमाथि नै ढुंगा प्रहार गर्दा १ जना प्रहरी जवान सामान्य घाइते भएका छन्।
उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको छ। ढुंगा प्रहारबाट प्रहरी चौकी परवानीपुरको ना.१ झ ५६९ नम्बरको गाडीको पछाडीको शिसा फुटेर क्षति भएको छ।
कुटपिटबाट घाइते भएका मोहम्मद उसमानको सोही अस्पतालमा उपचार भइरहेको छ। स्थितिलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया