मोरङको रतुवामाईमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको परिचय पत्ता लागेको छ।
रतुवामाई नगरपालिका वडा नम्बर ६ मा मकैबारीभित्र आइतबार मृत अवस्थामा फेला परेकी महिला मोरङकै कानेपोखरी–१, होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको खुलेको हो।
पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ। उनका श्रीमानको २ वर्षअघि मृत्यु भएको थियो। उनका एक छोरा छन्।
कानेपोखरी गाउँपालिका–२ स्थित कृषि फर्ममा काम गर्ने ती महिलाले शुक्रबार बिहेमा जाने भनेर बिदा लिएकी थिइन्। तर आइतबार मकैबारीभित्र उनको शव भेटिएको हो। घाँस काट्न गएका एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
महिलाको घाँटी र अनुहारमा नीलडाम छन् भने उनले लगाएका लुगा च्यातिएको तथा सुरुवाल सुर्किएको अवस्थामा छ। बलात्कार भएको आशंका छ तर पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानबाट मात्र वास्तविक तथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया