काठमाडौंको ठमेलस्थित चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ र २८ वर्षीय रोशन लामा रहेका छन्।
ठमेलमा बस्ने चिनियाँ नागरिक युन टियोमिनको डेरामा चैत १६ गते राति सवा ९ बजे चार जना व्यक्तिले नकाब लगाएर हतियार समेत देखाएर लुटपाट गरेका थिए।
पीडितले प्रहरीलाई दिएको जानकारीअनुसार नेपाली नगद २० लाख रुपैयाँ, चिनिया युआन ६ हजार १ सय ८०, सुनको तिलहरी एक थान, सुनको औँठी दुई थान, सुनको बाला सानो/ठूलो तीन थान र कानमा लगाउने मुन्द्रा दुई थान लुटपाट भएको छ।
कोठाभित्र प्रवेश गरी चिनियाँ नागरिक युनका श्रीमती अञ्जली तामाङ, सालाहरु प्रबेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाएर नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेका परिसरका प्रवक्ता रमेश कुमार बस्नेतले बताए।
उनीहरुले कोठाभित्र रहेको बेडको घर्राभित्र राखेको धनमाल लुटी फरार भएका उनीहरुलाई शनिबार र आइतबार विभिन्न स्थानबाट काठमाडौं प्रहरी परिसर र लैनचौर बृत्तबाट खटिएको टोलिले पक्राउ गरेको छ।
प्रतिक्रिया