तपाईंलाई कुनै ग्रह अनि ताराको नाम राख्ने अवसर पाउनु भयो भने के राख्नुहुन्छ? मिथिला, बुद्ध वा शेर्पा। सांस्कृतिक विविधताले भरिपूर्ण नेपालीसँग यस्ता अनगिन्ती नामहरु छन्।
आकाशंगंगामा रहेको एउटा तारा र एउटा ग्रहको नाम अब यस्तै नेपाली हुनेछ।
संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले नेपाललाई त्यो अवसर प्रदान गरेको हो। पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको त्यो ग्रह र त्यसले परिक्रमा गर्ने ताराको नाम राख्ने अवसर नेपालले पाएको हो।
खगोल विज्ञानमा प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो। प्रकाशले एक सेकेण्डमा तीन लाख किलोमिटरको यात्रा तय गर्छ।
सन् १९१९ मा स्थापना भएको आइएयुले यो वर्ष शतवार्षिकी मनाउँदैछ। सो अवसरमा नेपालसहित सदस्य राष्ट्रहरुलाई नाम राख्ने अवसर दिएको हो। अहिलेसम्म सौर्यमण्डल बाहिर ४ हजारभन्दा बढी ग्रह पत्ता लागेका छन्। अहिलेसम्म वैज्ञानिक नाम मात्र भएका ती सबैको न्वारान हुन बाँकी छ।
नेपालले नाम राख्ने तारा र ग्रहको पनि न्वारान भएको छैन। वैज्ञानिक नाम मात्रै छ। वैज्ञानिकहरूबीच तिनीहरु तारा एचडी १००७७७ र ग्रह एचडी १००७७७ बीको नामले चनिन्छन्।
आइएयुको नेपाल च्याप्टरले नाम छान्न समिति गठन गरी १४ भदौभित्र नाम पठाउन सर्वसाधारणलाई आह्वान गरेको छ। सर्वसाधारणले वेबसाइटमार्फत नाम पठाउन सक्नेछन्।
‘यो ग्रह बृहस्पतिभन्दा केही ठूलो छ’, नाम छनोट समितिका सदस्य सुमन सत्यालले नेपालखबरसँग भने, ‘यसमा जीवन भेटिने सम्भावना छैन। ग्यासको डल्लो मात्र छ। तारा भने सूर्य जत्रो छ तर यो हाम्रो सूर्यभन्दा कान्छो हो।’
सूर्य ४ अर्ब ५० करोड वर्ष पहिले बनेको मानिन्छ। नेपालले नाम राख्नुपर्ने तारा एचडी १००७७७ करिब दुई अर्ब वर्ष पहिले बनेको हो।
नेपालले नाम राख्ने ग्रह र ताराबीचको दुरी पृथ्वी र सूर्य जतिकै छ। सूर्यले पृथ्वीलाई परिक्रम गर्न ३६५ दिन लगाएजस्तै यसले ३ सय ८३ दिन लगाउँछ। सिंह राशी÷तारामण्डलमा अवस्थित ताराको अहिलेसम्म एउटा मात्रै ग्रह भेटिएको छ।
आइएयुले पृथ्वीबाट हेर्दा देखिने आकाशलाई ८८ भागमा विभाजन गरेको छ। यी विभाजित भागहरु नै तारामण्डल हुन्। त्यसलाई सहज रुपमा सबैलाई बुझाउन फरक–फरक नाम दिइएको छ।
साैर्यमण्डलको सूर्य, ग्रह तथा उपग्रहहरु वर्षभित्र हिँड्ने मार्गलाई राशी भनिन्छ। आधुनिक खगोल विज्ञानमा यस्ता राशी १३ वटा छन्। प्राचीन खगोल विज्ञानमा १२ वटा मात्रै मानिँदै आएको थियो।
आइएयुको नेपाल च्यापटरले नोभेम्बर १५ मा ग्रह र ताराको नाम सिफारिस गरेर पठाउनेछ।
‘आकाशसँग जोडिएको धर्म, संस्कृति, ऐतिहासिक तथा भौगोलिक महत्वको नाम दिँदा राम्रो तर यस्तै हुनुपर्छ भन्ने अनिवार्य सर्त केही छैन’ एस्टोनोमिकल सोसाइटी(नासो) का अध्यक्ष तथा आइएयुका नेपाल प्रतिनिधि सुरेश भट्टराई भन्छन्, ‘हाम्रो देश बहुभाषिक वा संस्कृतिका देश भएकाले सबै क्षेत्रका मानिसले यसमा नाम सिफारिस गर्न सक्नुहुन्छ।’
तारा र ग्रहको नामाकरणमा अक्षरको मापदण्ड भने तोकिएको छ। रोमनमा लेख्दा स्पेश र विराम चिन्हसहित ४ देखि १६ ‘क्यारेक्टर’सम्मको हुनुपर्नेछ। त्योभन्दा ठूलो मान्य हुने छैन।
‘एक शब्दको नामलाई प्राथमिकता दिइनेछ,’ भट्टराई भन्छन्, ‘नाम उच्चारण गर्न सहज र कुनै नराम्रो अर्थ दिनु हुँदैन।’ व्यापारिक, सैनिक, राजनीतिक वा राजनीतिक गतिविधि बुझाउने व्यक्ति, स्थान वा घटना, यही शताब्दीभित्र मृत्यु व्यक्तिको नाम, जीवित व्यक्ति, पाल्तु जनावर अथवा संक्षिप्त नाम भने मान्य हुने छैन।
आइएयु नेपाल च्याप्टरले आएका नाममध्ये उत्कृष्ट १० देखि २० वटालाई सार्वजनिक गर्दै त्यसमा फेरि सर्वसाधारणको मत लिनेछ। ‘अन्तिम नाम छनौट गर्दा फेरि सर्वसाधारणमा जान्छौं। उहाँहरुको मत ५० प्रतिशत र जुरीको मत ५० प्रतिशत गरी उत्कृष्ट ३ नाम पठाउछौं’, उनी भन्छन्।
प्रतिक्रिया