ad ad

समाज


धनुषामा २४ घण्टाभित्र भेटिए दुइटा शव, हत्या आशंकामा अनुसन्धान जारी

धनुषामा २४ घण्टाभित्र भेटिए दुइटा शव, हत्या आशंकामा अनुसन्धान जारी

शैलेन्द्र महतो
चैत २०, २०७७ शुक्रबार ४:४३,

धनुषामा २४ घण्टाभित्र दुई पुरुषका शव फेला परेका छन्। दुवैको मृत्युको कारण खुलिसकेको छैन भने दुवैको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको औरही गाउँपालिका–३, कपटौलका ४० वर्षीय विजय मण्डलको शव शुक्रबार बिहान झाडीमा फेला परेको हो।

घरभन्दा एक किलोमिटर पर औरही गाउँपालिका वडा नम्बर २ भराकटोल नजिक जमिनमुनि कुलोको किनारमा शव भेटिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।

परिवारजनका अनुसार उनी बिहीबार बिहान छिमेकी रामबली मण्डलको खेतमा चैते धान रोप्न गएका थिए। काम सकेर खेतबाट हिँडे पनि अबेर साँझसम्म घर नफर्किएपछि खोजी गरिएको थियो। त्यस क्रममा आज बिहान उनको शव फेला परेको हो।

कसैले घाँटी थिचेर उनको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ। प्रहरी निरीक्षक यादवले भने शव पोस्टमार्टमपश्चात् मात्र केही भन्न सकिने बताए।

पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पाल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

यसअघि हिजो बिहीबार बिहान धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँपको बगैंचामा परिचय खुल्न नसकेका एक पुरुषको शव फेला परेको थियो। ती पुरुषको कसैले हत्या गरेर फालेको हुन सक्ने स्थानयको आशंका छ।

पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .