ad ad

समाज


आजदेखि बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी

आजदेखि बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १:५५,

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न सुरु गरेको छ। बालाजुको पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरिएको हो।

बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएको थियो। शुक्रबार बिहान बिहान ५ बजेदेखि बालाजु क्षेत्रका घरघरमा पानी वितरण थालिएको लिमिटेडले जनाएको छ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए। अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ।

लिमिटेडले पानी वितरण गर्ने क्षेत्र क्रमशः बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरेको लिमिटेडले अहिले दैनिक साढे आठ करोड लिटर पानी वितरण गरिरहेको छ। महाराजगञ्ज पोखरीमा पनि बिहीबारदेखि नै पानी पठाउन थालिएको छ।

चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो। पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण गरिएको थियो।

मेलम्चीको एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएको छ। त्यसको क्षमता साढे आठ करोड लिटर छ। अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने मेलमची खानेपानी आयोजनाले जनाएको छ।

पहिलो चरणमा मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना छ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो।

राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीको पानीको समस्या केही मात्रामा भए पनि कम हुन थालेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .