काठमाडौं महानगरपालिकाले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ।
बुधबार महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयसहित जनप्रतिनिधिबीच भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो प्रतिवद्धता जनाएका हुन्।
फोहोर मैला प्रभावित क्षेत्र व्यवस्थापन शिक्षक संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए।
फोहोर विसर्जनमा अवरोध भएपछि आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले उनीहरुसँग करीब पाँच घण्टा छलफल गरेपछि पुनः भोलि एक बजे बस्ने र निर्णयमा पुग्ने गरी छलफल स्थगन भएको महानगरपालिकाले जानकारी दिएको छ।
छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखे।
त्यसैगरी प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे। यसअघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।
‘उहाँहरुले प्रभावित क्षेत्रका विद्यालयहरुमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको लागि दरबन्दी माग गर्नुभएको छ,’ शाक्यले भने, ‘उहाँहरुको त्यो मागप्रति सकारात्मक बन्दै नेपाल सरकारबाट स्थायी दरवन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उहाँहरुले नै व्यवस्था गर्ने गरी अस्थायी दरवन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छौँ।’
छलफलमा सहभागी नुवाकोट जिल्लाका प्रदेश सांसद बद्री मैनाली, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा, प्रभावित क्षेत्रका वडाका वडाध्यक्ष, धुनिवेँसी नगरपालिकाका प्रभावित क्षेत्रका वडाध्यक्ष, विभिन्न सरकोकार समितिका प्रतिनिधिले छलफलका क्रममा विभिन्न माग राखेको थिए। उनीहरुले आफूहरु फोहोर विसर्जनका लागि अवरोध गर्ने पक्षमा नभएको भन्दै माग सम्बोधनमा सकारात्मक बन्न दबाब दिएका थिए।
उनीहरुले विगतमा पनि पटक–पटक सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको भन्दै नुवाकोटका सबै दलका शिर्ष नेतासहितको उपस्थितिमा भोलि १ बजे छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन्।
भोलिको बैठकमा पूर्वमन्त्रीहरु डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनीलगायतका नेतालाई पनि सहभागी गराउने र अन्तिम निष्कर्षमा पुग्ने सहमति भएको काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिए।
Shares
प्रतिक्रिया