ad ad

समाज


‘पर्यटकीय क्षेत्र र पुरातात्विक सम्पदाको संरक्षण गर्न सरकार गम्भीर भएन’

‘पर्यटकीय क्षेत्र र पुरातात्विक सम्पदाको संरक्षण गर्न सरकार गम्भीर भएन’

नेपालखबर
चैत १२, २०७७ बिहिबार १२:१२,

पर्यटकीय तथा पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षण र सम्बर्द्धनमा सरकार गम्भीर नभएको सांसदहरुले बताएका छन्।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सरकार गम्भीर नभएको बताएका हुन्।

समितिकी सभापति पवित्रा निरौला खरेलले पर्यटकीय क्षेत्रको विकासको सम्बन्धमा सरकारलाई निर्देशन नै दिनुपर्ने आवश्यकता रहेको बताइन्। पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि धेरै काम गर्नुपर्ने भन्दै उनले सरकारले ठोस नीति र योजना बनाउन सक्नुपर्ने बताइन्।

ठोस नीति र योजना नहुँदा पर्यटकीय क्षेत्रको सम्र्वद्धनमा बजेट नियमित हुन नसकेको उनको भनाई थियो।

सांसद मोहन बानियाले पर्यटकीय क्षेत्रलाई सूचिकृत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। कतिपय क्षेत्रलाई सरकारले पर्यटकीय गन्तव्यमा सूचिकरण नगरेको भन्दै छुटेका सम्पदाहरुलाई सूचिकरण गर्नुपर्ने र सूचीकृत भएकालाई प्रचार प्रसार गर्नुपर्ने बताए।

सांसद रेनुका गुरुङले आन्तरिक पर्यटनलाई महत्व दिएर सातै प्रदेशमा आ–आफ्नो संस्कृति, परम्परा र संस्कार झल्कने गरी भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने बताइन्। सबै प्रदेशमा पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजीका लागि स्थलगत भ्रमण गर्नुपर्ने पनि बताइन्।

सांसद उमा रेग्मीले पर्यटन उद्योगलाई परिचालन र परिमार्जन गर्न सरकारको ध्यान नजानुले देशले घाटा बेहोर्नुपरेको बताइन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण सम्र्वद्धनमा अध्ययन/अवलोकन भ्रमण गरेर सरकारलाई प्रतिवेदन दिने गरेको भएपनि सरकारले हालसम्म कार्यान्वयन नगरेको बताइन्।

सांसद सुजिता शाक्यले पशुपतिनाथ मन्दिर, स्वयम्भु र चागुनारायण मन्दिर परिसरमा भूक्षय तथा चोरी हुने गरेको भन्दै भूक्षय रोक्न तथा चोरी सिकारी रोक्न प्राथमिकता दिनुपर्ने बताइन्।

सांसद दीपक प्रकाश भट्टले पर्यटकीय क्षेत्रको संरक्षणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेको बताए। पर्यटनको क्षेत्रमा केन्द्रीय नीति नै नरहेको पनि बताए।

सांसद पुष्पा भुसालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने ट्याक्सी चालकहरुको बेथिति रहेको भन्दै सरकारले नियमन गर्नुपर्ने बताइन्। पर्यटकीय क्षेत्रमा सरकारले गरेको लगानीले मुलुकको अर्थतन्त्रमा कत्तिको टेवा पु¥याएको छ भन्नेमा ध्यान दिनुपर्ने बताइन्।

पर्यटन क्षेत्रमा गरिएको लगानीले रोजगारी कति बढाएको छ र पूँजिको परिचालन कति भएको छ भन्ने बारे खोज्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .