माघ ३ गते शनिबार अपरान्ह निकै डरलाग्दो मानिने र केटूको बोटलनेक भनेर चिनिने घाँटीमा नेपाली टोली पुग्यो।
विश्वको दोस्रो सबैभन्दा अग्लो चुचुरो केटूको त्यो त्यहि अप्ठेरो मोड हो जुन अहिलेसम्म संसारका कसैले पनि हिउँदको समयमा पार गर्न सकेका थिएनन्।
आकाश खुलेको थियो। हावा पनि ठिकै थियो। र, यो अन्तिम तथा सबैभन्दा जोखिमपूर्ण ठाउँ पार गरेर मात्र पुगिन्थ्यो केटूको शिखरमा।
यो घाँटी पार गर्नसक्दा ३७–वर्षे निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० जना नेपालीको टोलीले हिउँदमा केटूको सफल आरोहण गर्ने पहिलो किर्तिमान कायम गर्छ। तर निर्मललाई थाहा थियो, हिउँले औँलाका टुप्पा खाइसकेको यो अवस्थामा अहिले इतिहासबारे धेरै वास्ता गर्ने बेला होइन।
उनीहरुले त्यहाँ एकपटकमा एक पाइला चालिरहेका थिए र आफ्नो पुरै ध्यान त्यहिँ केन्द्रित गरिरहेका थिए।
ठिंग उभिएको सिंगो चट्टानबाट निर्मित २८,२८१ फिट अग्लो यो शिखर पाकिस्तान र चीनको सीमा हो। ब्रिटिश सर्भेयरले १९औं शताब्दीमा यसको नाम काराकोरम राखे र त्यसपछि नै केटू भनिँदै आएको हो।
सन् १९५० को दशकदेखि नै यसलाई सेभेज माउन्टेन (डरलाग्दो हिमाल) को नामले पनि चिनिँदै आएको छ।
हिउँदमा अहिलेसम्म यो हिमाल कसैले चढ्न सकेको छैन भने अन्य मौसममा यसको शिखरमा पुग्ने ४ जनामध्ये १ जनाले ज्यान गुमाएका छन्। सगरमाथामा भने सन् १९९० यताको मृत्युदर १ प्रतिशत रहेको छ।
एउटा सानो गल्ति हुँदा कस्तोसम्म परिणाम आउनसक्छ भन्ने शनिबारकै एउटा दूर्घटनाले देखायो। सप्लिमेन्टल अक्सिजनविना विश्वका १० वटा सबैभन्दा अग्ला हिमाल चढिसकेका स्पेनिस आरोही सर्जी मिंगोटेले त्यही हिमालको निकै तल नै दूर्घटनामा परेर ज्यान गुमाए।
नेपाली आरोहीहरुको टोलीले डरलाग्दो घाँटी पार गरी शिखरमा पुगेको केही घण्टापछि नै त्यो दुखद घट्ना भएको थियो। त्यो गल्छी पार गर्दैगर्दा टाउकोमाथि हिउँका ढिक्काहरु झुण्डिएका हुन्छन्। निर्मल सहितको नेपाली टोली जाँदै गर्दा पनि त्यहाँ निकै डरलाग्दो स्थिति देखिएको थियो।
‘कुनै कुनै ठाउँमा त एउटा घरजत्रै आकार झुण्डिरहेको देखिन्थ्यो,’ सोमबार बेसक्याम्प आइपुगेका पुर्जाले भने, ‘त्यो देख्दै डरलाग्छ। मैले हिमालसँग प्रार्थना गरिरहेको थिएँ। यसपटक हामीले पार गर्नुथियो र त्यसका लागि हिमालले हामीलाई अनुमति दियो।’
हिमालमा छिटो गर्न खोज्नु पनि उचित तरिका हुँदैन। २६ हजार फिटभन्दा माथिको ठाउँलाई त डेथजोन नै भनिन्छ। कुनै आरोही बोटलनेक भनिने त्यो घाँटीमा गलत समयमा पर्यो भने घाइते हुने वा ज्यान गुमाउने खतरा हुन्छ। डरायो वा त्यो उचाइमा धेरै छिटो हिँड्न खोज्यो भने पनि विस्तारै ज्यान जाने (स्लो डेथ) को शिकार भइन्छ।
धेरै उचाइमा रहेका बेला फोक्सोमा अधिक पानी जम्नसक्छ। यो सबैभन्दा ठूलो जोखिम हो। फोक्सोमा अधिक दबाब पर्ने, तरल पदार्थ जम्ने आदि समस्या देखिन्छ। हिमालको तल झर्नु र बढी अक्सिजन प्राप्त गर्नु नै सही उपाय हो। फोक्सोमा पानी जमेको स्थितिलाई वेवास्ता गरेमा सास फेर्न कठिन हुन्छ र दिमाखमा रगत र पानी छिर्ने संभावना हुन्छ जुन निकै घातक हुन्छ।
आइसमा फिट गरिएका डोरीमा जोडिएका उनीहरु छियाछिया भएको हिउँका सतहमा एक एक गरी पाइला सार्दै अघि बढेका थिए। उनीहरु सप्लिमेन्टल अक्सिजन त लिइरहेका थिए तर त्यसले पनि आरोहीलाई निकै सुस्त बनाउने गर्छ।
‘अक्सिजनको क्यानिस्टर रित्तियो भने त केही सेकेण्डका लागि आँखा बन्द गर्न सकिन्छ तर फेरि कहिल्यै ब्युँतन सकिन्न,’ हिमाल आरोही तथा सिनेमेटोग्राफर रेनन ओजटर्क भन्छन्।
८ हजार मिटर (२६ हजार २४६ फिट) भन्दा अग्ला विश्वका १४ हिमालमध्ये अरु सबै हिमाल हिउँद र अन्य मौसममा चढिसक्दा पनि केटूमा भने हिउँदको समयमा अहिलेसम्म कोही पनि चढ्न सकेको थिएन।
यसको अप्ठेरो अवस्थिति, हिउँपहिरो गइरहने अवस्था, लगभग माइनस ६० डिग्री फरेनहाइटको हाराहारीमा हुने चिसो, तुफानजस्तो हावा आदिका कारण हिउँदमा यो हिमाल चढ्नु प्रख्यात आरोहीहरुलाई पनि निकै चुनौतिपूर्ण भएको हो। धेरैले यसलाई असंभव नै भन्दै आएका थिए।
त्यसो त, अन्य मौसममा पनि केटूको शिखर आरोहण गर्नु निकै कठिन हुन्छ। अहिलेसम्म ४०० भन्दा कम आरोहीले मात्र यसको शिखर चुम्न सकेका छन्। धेरै मानिसहरुले यसको शिखर चढ्ने जोखिम उठाउनुभन्दा बाहिरी फेरोको आरोहण गर्ने गरेका छन्।
(न्यूयोर्क टाइम्सबाट)
Shares
प्रतिक्रिया