पर्यावरण संरक्षण अभियन्ता धनुषाका ओमप्रकाश भनेर चिनिने दिलीप महतोको हत्या भएको आज एक वर्ष पूरा भएको छ। २०७६ साल आजकै दिन अर्थात् पुस २५ गते बिहान घरनजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर २४ वर्षीय उनकाे हत्या गरिएकाे थियाे।
दिलीपको पहिलो स्मृति दिवसका रुपमा दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानले आज मिथिला नगरपालिकाको ढल्केवरमा र्याली तथा कोणसभा गर्दै छ। उनको सम्झना तथा न्यायका लागि अहिले बिहान ९ बजे कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका सदस्य फुलगेन महतोले नेपालखबरलाई जानकारी दिए।
दिलीप हत्यामा संलग्न आरोपमा धनुषा जिल्ला अदालतको आदेशमा क्रसर सञ्चालक विपीन महतोसहित ३ जना पुर्पक्षका लागि अहिले जेलमा छन् भने चार जना धरौटी बुझाएर साधारण तारेखमा रिहा भएका छन्।
न्याय नपाएको गुनासो
हत्या भएको एक वर्ष बितिसक्दा पनि अझै न्याय पाउन नसकिएकाे दिलीपकाे परिवारले गुनासो गरेकाे छ। निष्पक्ष छानबिन नभएकाले हत्यमा संलग्न अन्य अपराधी कारबाहीको दायरामा नआएको दिलीपकी बहिनी संगमकुमारी महतोले नेपालखबरसँग गुनासाे गरिन्।
‘दाइको हत्यामा सात जनाको मात्रै संलग्नता छैन। अन्य अपराधी उम्केका छन्। हामीले निष्पक्ष छानबिन, दाइको मोबाइलको कल डिटेल चेक गर्न पटकपटक प्रहरीलाई आग्रह गर्याैँ। तर गरेन,’ उनले भनिन्, ‘हामीले रोक्दारोक्दै प्रहरीले बिनामुचुल्का लास उठाएको थियो। प्रहरीलगायत केही जनप्रतिनिधि पनि शंकाको घेरामा छन्। तर निष्पक्ष अनुसन्धान नहुँदा उनीहरु उम्केका छन्।’
बिनामुचुल्का लास उठाउने इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक रामकुमार यादव, मिथिला नगरपालिका-५ का वडाध्यक्ष श्याम यादव पनि शंकाको घेरामा रहेको स्थानीयको भनाइ छ।
खोलाको अवैध दोहनविरुद्ध लागेका दिलीप प्रहरी र जनप्रतिनिधिको कमिसनमा तगारो बनेकाले क्रसर सञ्चालकसँग मिलेर योजनाबद्ध तरिकाले दिलीपको हत्या गरेको पीडित परिवारसहित स्थानीयकाे आराेप छ।
दिलीपको कल डिटेल चेक हुँदा हत्यामा संलग्न प्रहरीसहितका अपराधी फस्ने हुनाले नै त्यसाे नगरेकाे पीडित परिवारको दाबी छ।
पुर्पक्षका लागि जेलमा रहेका तथा पक्राउ परेर पनि साधारण तारेखमा छुटेका अभियुक्तहरुलाई पनि छुट्कारा दिन रकमको चलखेल भइरहेकाे सुन्दा न्याय नपाउने हो कि भन्ने डर लागिरहेकाे बुबा रामजीवनले बताए।
याे पनि :
खोला अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर हत्या
दिलीप हत्या प्रकरण : क्रसर सञ्चालकसहित ३ जना जेल चलान
दिलीप हत्या प्रकरणः मुचुल्काविनै शव उठाउने ढल्केबरका इन्स्पेक्टर जिल्ला तानिए
प्रशासनकै आडमा क्रसर डनको दादागिरीः ज्यान मार्ने र घरमा आगो लगाइदिने धम्की
प्रतिक्रिया