बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्।
बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँबाट वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटनामा परेको हो। दुर्घटनामा २६ वर्षीय जीप चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।
दुर्घटनामा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार घाइते भएका छन्।
कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। रासस
प्रतिक्रिया